राजेन्द्र कार्की । जाजरकोट
हालै विवाह बन्धनमा बाँधिएका कुशे गाँउपालिका १ का धनबहादुर कामी र झरना वि.क. विवाह दर्ता गर्न वडा कार्यालय गए । तर त्यहाँ उनीहरुले वडा सचिव भेटेनन् । गाँउमै रहेको वडा कार्यालयमा सचिव नभेटेपछि उनीहरु दुई दिन पैदल हिडेर सदरमुकाम खलंगा आए । सदरमुकाममा एक दिन वडा सचिव खोज्नै ठिक्क भो । बल्लतल्ल सचिव भेटे पनि त्यो दिन काम भएन । उनीहरु तेस्रो दिन विवाह दर्ता गरेर फर्किए । आउजाउ र खानबस्न गरी १० हजार खर्च भयो धनबहादुरले भने ‘गाँउमै सिंहदरबार आयो भन्थे तर खै ?,सामान्य कामको लागी पनि सदरमुकाम धाउन छुटेको छैन ।’
कुशे गाँउपालिका १ का मुने चलाउने पनि छोराको जन्मदर्ताका लागी वडा सचिव खोज्दै सदरमुकाम खलंगा आए । वडा सचिवलाई भेटेर जन्मदर्ता गराएर फर्किए । गाँउमा सचिब नबस्दा सदरमुकाम धाउनु परेकोमा मुनेले पनि गुनासो सुनाउँदै भने ‘गाँउमा वडा कार्यालय त स्थापना भएको छ । तर सामान्य सिफारि । चुनाव भएको दुई बर्ष विति सक्दा पनि सचिव गाँउ गएका छैनन् ।’
वडा सचिव गाँउ नजाँदा धनबहादुर र मुने जस्तै कुशे गाँउपालिकाका स्थाानिय सदरमुकाम धाउन बाध्य छन् । कतिपय काम वडामा रहेका प्रशासकिय सहायकले गरेपनि पञ्जिकाधिकारीको रुपपमा तोकिएका वडा सचिवले नै हस्ताक्षर गर्नु पर्ने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, नागरिकता सिफारिस लगायतका पञ्जिकरणका कामका लागी कुशे गाँउपालिकाका बासिन्दा सदरमुकाम धाउन बाध्य भएको सेवाग्राहीको गुनासो छ । वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता पञ्किरण कार्य प्रभावित भएको छ । जन्मदर्ताका लागी पनि सचिव खोज्दै सदरमुकाम सम्म पुग्नु पर्ने बाध्यता रहेको कुशे १ का मानबहादुर नेपालीले बताए ।
९ ओटा वडा भएको कुशे गाँउपालिका जिल्लाको दुर्गम स्थानमा रहेको गाँउपालिका हो । जहाँ दुई जना वडा सचिवले ९ ओटै वडाको काम गर्नु पर्छ । एक जना सचिवले ५ ओटा वडा सम्मको जिम्मेवारी सम्हालेका छन् । वडासविच सत्यदेव खनालले १ देखी ४ नम्बर वडा सम्म हेर्ने गरेका छन् भने अर्का वडासचिव बलबहादुर खड्काले ५ देखी ९ नम्बर वडा सम्म हेर्ने गरेका छन् । तर कर्मचारी समायोजनबाट वडा सचिव खड्काको जिल्ला कारागार जाजरकोटमा सरुवा भैसकेको छ । वडा सचिव सत्यदेवले गुनासो गदै भने ‘एउटै वडाबाट अर्को वडा जान एक दिन पैदल हिड्नु पर्छ कसरी ४÷५ ओटा वडामा गएर काम गर्न सकिन्छ । पञ्जिकरणका काम प्रशासन सहायकले गाँउबाट तयार बनाएर पठाईदिन्छन् हामीले हस्ताक्षर गछौ । यसरी नै २ बर्ष देखि चलिरहेको छ ।’
वडा सचिवको पदपुर्ती नहुँदा एउटै सचिवलाई धेरै वडाको जिम्मा दिनु परेको कुशे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले बताए । ५ ओटा वडा हेर्ने सचिवलाई काहाँ गएर काम गर भन्ने ? प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने गाँउपालिकाको सम्पर्क कार्यालय पनि सदरमुकाममै भएकोले सजिलोको लागी वडा सचिवहरु पनि सदरमुकाममै बस्ने गरेको बताए । कर्मचारी अभावले गर्दा वडा सचिवलाई गाँउ पठाउन समस्या भएको उनको भनाई छ । सरुवा भएका वडा सचिव खड्कालाई पनि असोज सम्म बसीदिन आग्रह गरेको छु । लोकसेवामा रिक्त पदको माग गरिएको छ । पदपुर्ती हुन अझै समय लाग्ने देखिन्छ उनले भने ‘वडा सचिव नहुँदा समस्या निकै परेको छ ।’
गाँउपालिको प्रशासनिक कामकाज पनि सदरमुकाम बाटै
कुशे गाँउपालिकाको प्रशासनिक कामकाज पनि सदरमुकाम खलंगाबाटै हुँदै आएको छ । स्थानिय तहको चुनाव भएको दुई बर्ष विति सक्दा पनि कुशे गाँउपालिकाको प्रशासनिक कामकाज गाँउपालिकाको प्रशासनिक केन्द्र थर्पु भार्माबाट हुन सकेको छैन । बैक र सुरक्षा नभएको भन्दै सदरमुकाम खलंगाबाट सेवा दिदै आएको गाँउपालिकामा गत असारमै बैक र अस्थायी प्रहरी पोष्ट स्थापना भैसकेको छ । तर गाँउपालिकाको प्रशासनिक सेवा गाँउबाट अझै आरम्भ हुन सकेको छैन । गाँउपालिकाको प्रशासनिक कामकाज सदरमुकामबाटै हुँदा सेवाग्राही सामान्य कामका लागी पनि सदरमुकाम धाउन बाध्य छन् । गाँउपालिकाका प्रमुख प्रशासकिय प्रमुख श्यामकृष्ण पौडेलले आगामी भदौ देखि गाँउपालिकाको केन्द्रबाटै सवै काम संचालन गर्ने दावी गरेका छन् ।
छुटेन वडा सचिव खोज्दै सदरमुकाम धाउन
