राजेन्द्र कार्की । जाजरकोट
चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोटमा चितुवाको मृत्यु भएको छ । घाँटीमा लागेको पासो चुटालेर अन्तिम अबस्थामा पुगेको चितुवा भेरी नगरपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने झुप्राखोलामा मंगलवार फेला परेको हो ।
घाईते चितुवा फेला परेको स्थानीयबासीले खबर गरेपछि चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयका कर्मचारी, प्रहरी, पत्रकार र वन्यजन्तु अनुसन्धानकर्ता तथा खोजकर्ताहरुको टोली झुप्राखोला पुगेको थियो । उद्धारमा गएको टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिदालिदै मृत्यु भएको डिभिजन वन कार्यालय, जाजरकोटमा कार्यरत रेन्जर पूर्णबहादुर चन्दले बताए । कुन ठाउँमा थापेको पासोमा परेर उक्त पासो चुटालेर चितुवा त्यहाँ आईपुगेको हो ? भन्ने बिषयमा भने, केहि खुलेको छैन । चितुवालाई पासो थाप्ने चोरीसिकारीको अनुसन्धान भई रहेको रेञ्जर चन्दले बताए ।
मृत अबस्थामा फेला परेको चितुवालाई पोष्टमार्टम गर्नको लागि खलंगा पुर्याईएको थियो । भेरी नगरपालिकाको पशुपन्छी बिकास शाखाले पोष्टमार्टम गरेपछि उक्त चितुवालाई खाल्डो खनेर गाडेको छ ।
पशुपन्छी बिकास शाखामा कार्यरत पशु प्राविधिकहरुले गरेको पोष्टमार्टम रिर्पोटमा मोटरसाईकलको ब्रेक तारको पासो चितुवाको घाँटीमै रहेको, माउ जातीको चितुवाको लम्बाई ५ फिट ५ ईन्च, पुच्छरको लम्बाई २ फिट २ ईन्च, चारवटै खुट्टाको उचाई २ फिट २ ईन्च रहेको उल्लेख गरिएको छ । अन्दाजी ४०–५० किलो तौल रहेको चितुवाको उमेर ६ बर्ष रहेको अनुमान गरिएको छ ।
क्याप्सन ः पासोमा परि मृत्यु भएको चितुवा तस्वीर राजेन्द्र कार्की