जनक के.सी.
यस वर्ष रमाइलो मेला लाग्छ कि लाग्दैन ? मेला लागे कहाँ लाग्छ ? त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा कि वाहिर ? मंसिर महिनाको मध्यतिरवाट खलंगावासी मात्र नभएर वर्र्षाैं देखि रमाइलो मेला अवलोकन गरिरहेकाहरुका मनमा यी प्रश्नहरु उठिरहेका थिए । यसै क्रममा मंसिर १९ र २१ गते खलंगाको ठाँटीवजार स्थित वृद्धाश्रमको हलमा वसेको सर्वपक्षीय वैठकले यस पटकको मेला जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा सन्चालन गर्ने सर्वसम्मत निर्णय गर्यो ।
जिल्ला स्थित सवै क्षेत्रका व्यक्तिहरुको सहभागितामा भएको सो वैठकको निर्णय अनुसार पुस १२ देखि १६ गते सम्म थाप्लेचौरमा जाजरकोटी जनताको उत्साहपुर्ण एवम भव्य सहभागितामा रमाइलो मेलाको सन्चालन शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ । यसका लागि सम्वद्ध सवैलाइ हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्दछु । सुरक्षा निकाय, भेरी नगरपालिका, त्रिभुवन मावि, राजनैतिक दलहरु, स्थानीय युवाहरु, स्थानीय सर्वसाधारण जनता र व्यापारीहरुको महत्वपुर्ण साथ र सहयोगले मेला ऐतिहासिक रुपमा सफल र भव्य भएको छ । पुरानै शैलीमा मेलामा खेलकुद, स्थानीय कला सँस्कतिहरुको प्रदर्शनी, प्रतिभा पहिचान तथा रैथाने सीपहरुको समेत प्रवद्र्धन गराउने खालका गतिविधिहरु र ५ दिन सम्मको चलायमान व्यापारले धेरैलाइ असली रमाइलो मेलाको झल्को दिएको स्थानीय जनताको प्रतिक्रिया छ । धेरै कठिनाइका विचवाट मेला भव्यताका साथ सम्पन्न भयो यो हाम्रो लागि खुसी र सन्तुष्टिको कुरा पनि हो ।
मेला सुरु भए देखि अहिले सम्म पनि मेला प्रत्यक्ष रुपमा अवलोकन गर्न गएका जाजरकोटी तथा गैर जाजरकोटीहरु र सामाजिक सन्जालका प्रयोगकर्ताहरुले मेलाका वारे जनाएको प्रतिक्रिया र माया निकै भावनात्मक र प्रेरणादायी छ । यसले रमाइलो मेला कसैले रोकेर रोक्न सकिदैन र रमाइलो मेलालाइ समग्रमा जाजरकोटी मौलिकताहरुको प्रदर्शनी मार्फत जाजरकोट भ्रमणको सुन्दर अवसर वनाउनु पर्छ भन्ने जन चहाना रहेको स्पष्ट छ । हाम्रा पुर्खाहरुले सुरु गरेको यो मेला हाम्रै सहभागिता र अग्रसरतामा निरन्तर अनि जीवनत वनाउनुपर्छ भन्ने पनि सवैको सोच विचार र इच्छा पनि देखिन्छ ।
यो वर्षको मेला वारे सकरात्मक प्रतिक्रिया दिदादिदै पनि मेला हेरेका सवै जनताको एउटा छुटटै गुनासो या आलोचना छ जो सवैले सुन्नै पर्ने र वुझ्नै पर्ने खालको छ । रमाइलो मेला लाग्ने ठाउँ भएन । अर्काे पटक रमाइलो मेलाको लागि गतिलो ठाउँ हुन पर्यो । भेरी नगरपालिकाले अहिले सम्म यसको वारे किन सोचेन ? खलंगामा अहिले सम्म पनि गतिलो अनि फराकिलो सार्वजनिक मन्च नहुनु दुखको कुरा हो । यो गुनासो या सुझाव एक दुइ जनाले मात्र होइन मेला हेर्न आएका सवै जसोले पोखे । धेरै जसोले मेलाका आयोजक, त्रिभुवन मावि र भेरी नगरपालिका तथा अन्य जनप्रतिनिधिहरु प्रति निकै आक्रोस र पिडा पनि पोखे । वसपार्क क्षेत्रलाइ नै ठुलो सार्वजनिक मन्च वनाउन सकिने उपाया र अवसर पनि स्थानीयहरुले सुझाएका छन् । रमाइलो मेलालाइ थाप्लेचौरवाट अन्त सार्न हुदैन थाप्लेचौरकै चाप्लेपिपलको गैरोलाइ पुरा भरेर ठुलो चौर निर्माणको सम्भावना रहेको धेरैको प्रतिक्रिया पनि यो वर्षको मेलामा सवैतिरवाट आएको छ ।
जिल्ला सदरमुकाम खलंगामा लाग्ने यति ठुलो अनि भव्य मेला सन्चालनको लागि सरोकारवालाहरु, सरकार अनि जनप्रतिनिधिहरु र दलका नेताहरु सक्रिय नभएको उनीहरुको प्रतिक्रिया र गुनासो पनि सुनियो । खलंगाको थाप्लेचौरमा लाग्ने यो रमाइलो मेला भेरी नगरपालिकाको मुख्य स्थानीय पर्व हो । कुनै वेला जाजरकोट संगै अन्य जिल्लाका जनताका लागि समेत निकै ठुलो मेलाको रुपमा नाम कमाएको यो मेला आज ठाउँ अभावले संकटमा पर्दा पनि हामीले कुनै उपााया निकाल्न सकेका छ्रैनौं । जनताको यति ठुलो माया अस्था र सहभागिता छ तर पनि स्थानीय सरकार र जनप्रतिनिधिहरु यो मेलालाइ स्थानीय स्तरमा पर्यटन व्यापार र रोजगारीका साथै उत्पादित वस्तुहरुको वजारीकरणको माध्यम वनाउन सकिरहेका छन् । रमाइलो मेलाका वारेमा जनताको धेरै ठुलो चासो र चिन्तालाइ उचित रुपले सम्वोधन गर्न स्थानीय सरकार किन मौन छ ?
रमाइलो मेला भेरी नगरपालिकामा मात्रै सिमित नभएर पुरै जिल्ला र छिमेकी सल्यान, सुर्खेत र रुकुमका जनताको भावना र आस्थाको संगम हो । भेरी नगरपालिकाले आधारभुत तहका विद्यार्थीहरुका लाग तयार पारेको स्थानीय पाठ्यक्रममा पनि रमाइलो मेलालाइ स्थानीय पर्वको रुपमा उल्लेख गर्दै सो वारे विद्यार्थीहरुलाइ पढाउने गरिएको छ । जाजरकोट जिल्लाको समग्र पहिचान झल्काउने र वाहिरका मानिसहरुलाइ जाजरकोट भ्रमणको सुनौलो अवसर प्रदान गर्ने रमाइलो मेला एउटा शसक्त माध्यम हो । यति मात्र नभएर जाजरकोटीहरुलाइ भावनात्मक एकतामा जोड्ने, स्थानीयहरुलाइ रोजगारीका अवसर प्रदान गर्ने, स्थानीय व्यापार व्यवसायलाइ चलायमान वनाउने अनि जाजरकोटीहरुलाइ आफनो मौलिकता र कला सँँस्कृति प्रदर्शनको महत्वपुर्ण अवसर प्रदान गर्ने विशेष अवसर हो । त्यसैले यसलाइ स्थानीय सरकारले नै उचित व्यवस्थापनको दायित्व लिन पर्छ । आयोजक जो भएपनि यो रमाइलो मेला समग्र जाजरकोटीहरुको मन भावना र सहभागिताको उत्कृष्ट नमुना हो । तर मेला सन्चालन गर्ने ठाउँको विषयलाइ लिएर विगत केहि वर्ष देखि द्धन्द, विवाद र समस्या वढ्दै गइरहेको छ । हामी माझ प्रशस्तै उपायाहरु हुदा हुदै पनि विवादतिर अल्झिनु राम्रो भने होइन ।
रमाइलो मेला सन्चालन र सदरमुकाममा गतिलो सार्वजनिक खुला मन्च निर्माणको सवालमा भेरी नगरपालिकाले आवस्यक सहजीकरण र अग्रसरताको पहल गर्न जरुरी छ । मेला सन्चालन गर्ने ठाउँ मात्र नभएर विशेष योजना र निर्णयका साथ नगरपालिकाले मेलाको सन्चालक र स्वामित्वका वारेमा दिर्घकालीन निर्णय गर्न सके भोलिका दिनमा उजुरी, लफडा र विवाद अनि कसैको पनि टाउको दुखाइ हुने छैन जस्तो लाग्छ । स्थानीय सरकारले आफनो क्षेत्रभित्रको मेला पर्वलाइ छुटटै कार्यपात्रो वनाएर सन्चालन एवम सहजीकरणको पहल लिए आम जनताको भावनाको कदर हुने मात्र नभएर अनावस्यक रुपमा आउने सवै प्रकारका झन्झटहरुको समाधानमा सहयोग पुग्ने देखिन्छ । हामीले यो वर्ष रमाइलो मेला निकै साँधुरो ठाउँमा खुम्चिएर सन्चालन गर्दै गर्दा जिल्ला वासी र जिल्ला वाहिरवाट आएकाहरुले जुन प्रतिक्रिया दिए त्यो हाम्रा लागि सकरात्मक सुझाव वन्नु पर्छ ।
विगतमा निर्वाध रुपमा भित्रुवन माध्यमिक विद्यालयको प्रांगणमा लाग्ने मेला केहि वर्ष अघि विभिन्न निकायमा परेको उजुरी त्यस पछि सुरु भएको विवादका कारण अप्ठेरोमा परेको छ यसै विचमा यो वर्षको रमाइलो मेला विगतका मेलाहरुको तुलनामा निकै मौलिक, भव्य र ऐतिहासिक भएको सवैको प्रतिक्रिया छ । सर्वाधिक राशीको पुरस्कार भएको खुला भलिवल प्रतियोगिता, जिल्लाका सवै मौलिक कला सँस्कृति झल्काउने झाँकीहरुको प्रस्तुतीहरु र स्थानीय व्यापार व्यवसायमा देखिएको उत्साहपुर्ण अवस्थाले यो वर्षको मेला विशेष भएको देखिन्छ ।
विक्रम सम्वत २०२९ सालतिर जाजरकोटका अग्रज समाजसेवीहरुले जिल्ला सदरमुकाम खलंगामा स्थानीय व्यापार प्रवद्र्धन गर्न, साथीभाइ आफन्तहरुलाइ आपसमा भेटघाटको अवसर जुटाइदिन र खलंगामा स्थानीय कला सँस्कृतिको प्रदर्शन मार्फत रमाइलो गर्नका लागि गैरीखालीमा सुरु भएको मासिक हाट वजार नै अहिलेको रमाइलो मेलाको पहिलो रुप हो । गैरीखालीवाट सुरु भएको मासिक हाटवजारप्रति स्थानीय जनता र सरोकारवालाहरुको चासो चिन्ता र सक्रियता वढ्दै गएपछि २०३१ साल देखि उक्त हाटवजार हालको थाप्लेचौरु अर्थात त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा सर्यो । २०२८ सालमा मुलुकको शासन समाल्न पुगेका स्वर्गिय राजा विरेन्द्रको शुभ राज्याभिशेक २०३१ सालमै भएपछि गैरीखालीको हाटवजारलाइ सोहि अवसरमा थाप्लेचौरमा सारेर रमाइलो मेलाको नामवाट रुपान्तरण गरियो । मुलुकमा राजा हुने वेला सम्म सरकारी कार्यालय र उतिवेलाको जननिर्वाचित सँस्थाहरुले लगानी गरेर विशेष हर्षाेल्लास पुर्वक मनाउने गरेको रमाइलो मेला २०५८ जेठ १९ गतेको वीरेन्द्रको वंशविनास पछि अप्ठेरोमा परेको छ ।
पहिलो राजाको जन्मदिनलाइ विशेष मानेर लाग्ने गरेको यो रमाइलो मेला अहिले जाजरकोटी मौलिकता र कला, कृषि उत्पादन र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने र अन्य जिल्लाका मानिसहरुलाइ जाजरकोट भ्रमणको अवसर प्रदान गर्ने उद्देस्यले मनाउने गरिएको छ । तीन चार वर्ष यो मेलाको नामै फेरेर जाजरकोट महोत्सवको रुपमा पनि मनाउने काम गरियो । महोत्सवको रुपमा मनाउदै गर्दा विद्यालयको पढाइ दुइ हप्ता भन्दा वढी अवरुद्ध भएपछि स्थानीय जनता र सरोकारवालाहरुले आलोचना र विरोध पनि सुरु गरे । सरासर लाग्दै आएको मेलालाइ अरु अरु नाम दिने तीन दिन लाग्ने मेलालाइ महोत्सवका कारण दुइ हप्ता वढी विद्यालयको पठनपाठन अवरुद्ध भएपछि सर्वसाधारण र सरोकारवालाहरुले विरोध गर्नु र आलोचना गर्नु पनि स्वभाविक नै मानिएको छ तर परम्परागत रुपमा आधार सताव्दी देखि तीन दिन लाग्दै आएको मेलालाइ रोक्न हुदैन भन्ने सवैको मत र विचार पनि रहेको पाइन्छ । यस तर्फ भेरी नगरपालिकाका सवै जनप्रतिनिहरुले एक मतका साथ केहि ठोस निर्णय गर्नै पर्ने देखिन्छ । यसका लागि हाम्रो छिमेकी जिल्ला रुकुमका राडीको मेला र डिग्रे मेलाको सन्चालन र स्वामित्व वारे त्यहाँका स्थानीय सरकारहरुले खेलेको भुमिकालाइ अनुसरण गरे झन राम्रो हुन्छ । हामीले ठुलो सोच र दिर्घकालीन योजनाका साथ रमाइलो मेलालाइ व्यवस्थित गर्दै सन्चालनको पहल र स्वामित्वका वारे निर्णय गर्ने हो भने यसले भेरी नगरपालिका र जाजरकोटको पर्यटन र व्यापारमा ठुलो सहयोग मिल्ने देखिन्छ । धन्यवाद ।
लेखक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।
रमाइलो मेला, र स्वामित्वको सवाल

