राजेन्द्र कार्की । जाजरकोट
आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदमा ६ ओटा पार्टीको उम्मेदवारी दर्ता भएको छ । बाजागाजा र दलबल सहित उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ सालको स्थानीय तह चुनावबाट उपप्रमुुखमा नेपाली काँग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन । गत बर्ष भुकम्पमा परि निधन भएपछि रिक्त रहेको नगरउपप्रमुख पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
त्यस्तै कुशे गाँउपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।माओवादी केन्द्रका मुनबहादुर घर्तीको निधन भएपछि रिक्त भएको वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट खम्ब बहादुर सिंह, नेकपा एमालेबाट डम्बर बहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्रीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । उत्साह पुर्ण तरीकाले शान्ति पुर्वक उम्मेदवारी दर्ता भएको उनले बताए ।
नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कात्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा सिंह ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३ सय ९३ मत पाएकी थिइन् । त्यतिबेला पराजित उपप्रमुख सुनीता बोहरालाई नेकपा एमालेले पुनः उपप्रमुखमै उम्मेदवार बनाएको छ । अघिल्लो पटक काँग्रेसलाई सहयोग गरेको माओवादी केन्द्रले देवका लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी शसस्त्र द्धन्दकी छापामार तथा संचारकर्मी हुन् ।
यस अघिको चुनाबमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । मेयरमा माओवादी केन्द्र र उपमेयर काँगे्रसका भागमा परेको थियो । मेयरमा माओवादी केन्द्र र उपमेयरमा काँग्रेसका उम्मेदवारले चुनाव जितेका थिए तर यस पटक प्रमुख तिन ओटै दलले छुटाछुट्टै उम्मेदवार अघि सारेका छन् । यस पटक तीन ठुला पार्टीकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो पटक २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको थियो । २०७९ सालमा भएको निर्वाचनमा पनि नगरप्रमुख जितेका कारण माओवादी केन्द्रले आफ्नो गढ मान्ने गरेको छ र जसरी पनि शाख जोगाउने गरि चुनावी प्रतिस्पर्धामा होमिएको छ । त्यस्तै काँग्रेसले पनि गत बर्ष नगरउपप्रमुख पद जितेको र २०६४ सालमा झिनो मतले पराजित भएका कारण पनि काँग्रेस चुनाव जित्ने गरि मैदानमा होमिएको छ । अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्रा स्वर्गीय सरिताकै भाइबुहारी हुन् । पारिवारिक सहानुभुतिको मत बटुल्न पनि काँग्रेसले उनलाई अघि सारेको हो । त्यस्तै एमालेबाट उम्मेदवार भएकी बोहरा यो सहित तेस्रो पटक मैदानमा आएकी छन् । गत चुनावमा दुई पार्टीले गठबन्धन गरेर जिते पनि एक्लाएक्लै लड्दा आफु अगाडी आउने उनको दावी छ ।
मनोनयन दर्तामा नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकासशरण महतका साथै प्रदेश र जिल्ला स्तरका नेताको सहभागिता रहेको थियो । त्यस्तै एमालेका केन्द्रिय सदस्यहरु भैरबसुन्दर श्रेष्ठ, चन्द्रप्रकाश घर्ती, डम्बर सिंह र माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल लगायतका प्रदेश तथा जिल्ला स्तरका नेताको उपस्थिति रहेको थियो । यो चुनावलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।




