April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

भुकम्प पिडितको घाउमा मलहम लगाउँदै दलहरु

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर १७ कार्तिकको मध्यरातमा गएको भुकम्पले ठुलो जनधनको क्षति गर्यो । एक सय ५४ जनाको ज्यान जाने गरी गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुमका करीब ६० हजार परिवार त्रिपालमुनी बस्न बाध्य छन् । भुकम्प गएको भोली पल्ट विहानै केही मन्त्री सहित प्रधानमन्त्री पुगे । तीन दिन पछि राष्ट्रपति पुगे । विभिन्न सेलिव्रेटी देखी कलाकार, नेताहरु धेरै जाजरकोट पुगे । तर अहिले पनि पिडितको अवस्था वेहाल छ । कतिपयले राहत पाउन सकेका छैनन् भने कतिपयलाई चिसोले सताउन थालेको छ । भत्किएका भौतिक संरचना उत्खनन् नहुँदा पुरिएको मालसमान निकाल्न सकिएको छैन ।

जनताका सुख दुखका सारथी भनिने राजनैतिक दलहरुको यस विपत्तीमा भुमिका के रह्यो । कुन दलले के सहयोग पुरयाए भुकम्प पिडितका लागि कुन दलले के सहयोग गरे ? । केही दलले नगद सहयोग सहित खोज, उद्धार, राहत र पुर्ननिर्माणमा सहयोग पुरयाईरहेका छन् भने केही दल गुमनाम छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले जाजरकोट भुकम्प पिडितका लागि भनेर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक करोड रुपैया सहयोग गर्यो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ५०÷५० लाख रुपैया सहयोग गरे । नेकपा समाजवादीले २५ लाख सहयोग गरयो । विप्लब नेतृत्वको नेकपाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई एक ट्रक राहत सामग्री हस्तान्तरण गर्यो । प्रमुख पार्टीहरुले राहत, उद्धार र पुर्ननिर्माणमा स्वयमंसेवक परिचालन गरेका छन् ।

नेकपा एमाले निकट नेपाल टेड्र युनियन महासंघले भुकम्प प्रभावित जाजरकोटमा भत्किएका संरचनाबाट मालसमान निकाल्न र भग्नाबशेष सरसफाईका लागि स्वयमसेवक परिचालन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य एवं जिफन्टका केन्द्रिय अध्यक्ष विनोद कुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले शुक्रवार देखि काम थालेको छ ।
शुक्रवार विहानै देखि कोही काम गरिरहेका छन् । कोही थाकेर विश्राम गरिरहेका छन् । कोही मेसमा खाना पकाउँदै छन् । एमालेका स्थानिय कार्यकर्ता र पिडितले उनीहरुलाई सघाईरहेका छन् । ‘अहिले ७५ जना स्वमसेवकले काम गरिरहेका छन् । अरु साथीहरु आउँदै हुनुहुन्छ । कम्तिमा एक सय जनाले १५ दिन काम गर्ने गरि भुकम्प प्रभावित क्षेत्रमा आएका छौ’ अध्यक्ष श्रेष्ठले भने ‘भत्किएका घरहरुको भग्नाबशेष एकदमै डेन्जर रुपमा लडिरहेका छन् । यी भग्नाबशेष सफा गरेर डेन्जर जोन बाट मुक्त गरिदिन्छौ । भग्नावशेष ब्यवस्थापन गरिदिन्छौ । भग्नावशेषले बाटोघाटो बन्द छ । बाटोघाटो सफा गरेर खुलाउँछौ । पुरिएका मालसमान निकालिदिन्छौ ।’


त्यति मात्र होइन भग्नावशेष सफा गरेर अस्थायी टहरा बनाउने लायक ठाँउ बनाउँछौ र आवश्यक परे भत्किएका घरका समान प्रयोग गरेर अस्थायी टहरा पनि बनाउँछौ । ‘स्थायी पुर्नसंरचना निर्माणका लागि ठाँउ बनाउने काम गरिदिन्छौ यही लक्ष्यका साथ दुःखमा परेको जाजरकोटमा मलहम लगाउन आएका हौ । हाम्रो सानो सहयोगले राज्यलाई थप मद्दत गर्ने हाम्रो विश्वास छ’ उनले भने ‘पार्टीको निर्देशन अनुसार नै हामी आएका हौ ।’ एमालेले भुकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने जनाएको छ ।
जाजरकोट भुकम्पले ध्वस्त भएका संरचना पन्छाउन सुरक्षाकर्मी र स्थानियलाई निकै सकस परिरहेको बेला जिफन्टले स्वयमसेवक परिचालन गरेको हो । जिफन्टका स्वयमसेवकले भुकम्पले भत्किएका घरबाट उत्खनन् गरेर मालसमान, छानाका ढुङ्गा, काठ लगायतका सरसमान निकाल्ने काम गरिरहेको छ । खोज तथा उद्धार पछि राहत वितरणमा लागेको स्थानिय प्रशासनले भुकम्पले भत्किएका घरमा पुरिएका समान निकाल्न सकेको छैन । केही सुरक्षाकर्मीले केही घरको पुरिएको समान निकाले पनि धेरैका भत्किएका घरका समान निकाल्न सकेको छैन । जनशक्ति नहुँदा भत्किएका घरका मालसमान र काठ÷ढुङ्गा निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

भुकम्प गएको दुई साता सम्म पनि भत्किएका संरचनाबाट माल समान निकाल्न नसक्दा खाद्यान्न, लत्ताकपडा, नगद रुपैया, सुन चाँदी लगायतका धनसम्पति भग्नावशेषमा पुरिएका छन् । राहत सामग्री मात्र होइन जिफन्टले जस्तै पुरिएका संरचना सरसफाईमा सहयोगी हातहरुको जाजरकोटमा जरुरी रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । हामी विपत्तिमा छौ । खोज तथा उद्धारको काम सकिएपनि भत्किएका भौतिक संरचना ब्यवस्थापनमा सहयोगको खाँचो छ । हामीहरु यतिवेला सहयोगी हातको पर्खाईमा छौ उनले भने ।
तत्काल जाजरकोट भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि कांग्रेसले दुई महामन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेपछि गगन थापा र विश्वप्रकाश शर्मा कार्तिक २३ गते भूकम्प प्रभावित क्षेत्रमा पुगे । एकद्वार प्रणालीअनुसार काम गराउन उनीहरू जुटे । उनीहरूले स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी आवास निर्माणको नमुना बनाए । दुई ओटा सदरमुकाम खलंगा र एउटा चिउरीमा नमुना घर बनाए । भेरी नगरपालिका ३ का प्रकाश जंग शाहको भत्किएको घर नजिक अस्थायी आवास बनाए । जहाँ नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपमेयर सरीता सिंहको निधन भएको थियो । अर्को सोही वडाको पिपलडाँडामा भुकम्पले घर भत्किएर ज्यान गुमाएकी जया शाहका छोराहरु पवन शाह र सञ्जीव शाहका लागि अस्थायी आवास बनाईदिए । त्यस्तै नलगाड नगरपालिका १ चिउरीका तप्तबहादुर कुमाईको अस्थायी आवास बनाए । घर भत्किएपछि घरमुली कुमाईको निधन भएपछि उनका श्रीमति र चार छोराछोरीको विचल्ली भएको छ । अहिले गगन विश्वले बनाईदिएको अस्थायी घरमा उनीहरु बस्न थालेका छन् ।


अस्थायी आवास निर्माणका ३० देखि ५० हजार सम्म लाग्ने र तत्काल अस्थायी आवासका लागि सरकारले आवश्यक अनुदान दिनु पर्ने लगायतका सुझाव प्रधानमन्त्रीलाई दिए । सरकारले प्रभावित सवै परिवारलाई अस्थायी आवास बनाउन ५० हजारका दरले दिने निर्णय गरयो । केही दिनमै एक हजार स्वयमसेवक परिचालन गर्ने र कम्तिमा ५ सय अस्थायी घर बनाउने पार्टीको योजना रहेको नेपाली काँग्रेस जाजरकोटका पार्टी सभापति वेदराज सिंहले बताए ।

माओवादी केन्द्रले केही दिनमै पुर्ननिर्माणमा स्वयमसेवक परिचालन गर्ने जनाएको छ । माओवादी केन्द्रले राहत वितरण, खोज तथा उद्धारमा आफ्ना कार्यकर्ता परिचालन गरेको जनाएको छ । अस्थायी संरचना निर्माण र भत्किएका संरचनाका भग्नावशेष हटाउन केही दिनमै कर्णालीका १० ओटै जिल्लाबाट आवश्यक स्वयमसेवक परिचालन गर्ने तयारी रहेको कर्णाली प्रदेश कमिटी सदस्य अमरसिंह राठौरले बताए । त्यस्तै नेकपा समाजवादीका कमानबहादुर खड्का आफै फिल्डमा खटिए । कार्यकर्ता खटाए ।
जाजरकोटमा गएको भुकम्पले जाजरकोट नलगाड नगरपालिका १ चिउरीका कले कामीको घर भत्कियो । घरले आधा शरीर च्यापे पनि गाँउलेको सहयोगमा उनलाई उद्धार गरियो र उनी बाँच्न सफल भए । तर उनको एक मात्र साहारा ओत लाग्ने घर नै भत्किएपछि उनी निकै तनावमा थिए । श्रीमतिको यस अघि नै मृत्यु भैसकेको र दुई जना छोरीहरु पनि विहे गरेर गैसकेपछि ५६ बर्षिय कले एक्लै जीन्दगी कटाईरहेका छन् । उनी बोल्न सक्दैनन् । साहारा विहिन उनकोस्वयमसेवी कार्यकर्ता लिएर बिप्लबले घर बनाई दिए ।
काठको अस्थायी टहरा बनाउन महासचिव विप्लव र पार्टीका प्रवक्ता प्रकाण्ड स्वयम् आफै जुटे एक दिनमै घर तयार भयो । नेपाल कम्युनिस्ट पार्टीले केही त्यहाँ भएको काठ प्रयोग गरे र बाँकी छानोको टिन, बास लगायतका सामाग्री आफनै लगानीमा लगाएको थियो । नेकपा नेताहरु विप्लव – प्रकाण्ड लगायत सबैले दिनभरि श्रम गरी साँझ तिर बल्ल घरको संरचना तयार भयो ।
जहाँ नेकपाको दक्षिण कर्णाली ब्युरो समिति केही दिन अगाडि देखि नै शिविर राखेर पीडितको उद्दारमा खटिएको थियो । दुई दर्जन स्वयमसेवक अहिले पनि भत्किएका संरचनाबाट समान निकाल्न खटिरहेको जिल्ला इन्चार्ज विराजन शाहीले बताए । नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको डा. प्रकाश सी नेतृत्वको टोली पनि सोही चिउरी गाउँमा घाइते तथा बिरामीको उपचारमा लागेको थियो ।
नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पुर्णबहादुर खड्काले भुकम्पको एक साता सम्म सुर्खेतमा रहेर राहत तथा उद्धारमा प्रत्यक्ष निर्देशन दिए । माओवादी केन्द्रका उपमहासचिव तथा सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत पनि पिडितको घरदैलोमै रहेर खोज उद्धार र राहत वितरणको कार्यमा प्रत्यक्ष सरिक भए । पुर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि प्रभावित क्षेत्रमै बसेर खटिए । नेकपा एमालेका पोलिटब्युरो सदस्य द्धय निरज आचार्य र भैरबसुन्दर श्रेष्ठ प्रभावित क्षेत्रमा राहत र उद्धारमै खटिए । भौतिक पुर्वाधार मन्त्री तथा नेकपा समाजवादीका नेता प्रकाश ज्वाला पनि प्रभावित क्षेत्रमा पुगेर आवश्यक निर्देशन दिए । राप्रपाका साँसद तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रभावित क्षेत्रमा पुग्न भ्याए ।


काँग्रेसका केन्द्रिय सदस्य राजिब विक्रम शाह र नेपाली काँग्रेसका पार्टी सभापति एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह तत्काल खोज, उद्धार र ब्यवस्थापनमा खटिए । राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछाने घटना भएको पर्सी पल्ट पुगेर अवस्था अवलोकन गरि फर्किए । तर उनको पार्टीकी साँसद डा.तोशिमा कार्की भने निरन्तर विरामीको सेवामै छिन् । उनले तिहार समेत नमानेर जाजरकोटमै विरामीको सेवा गरिरहेकी छन् ।


भुकम्प पिडिकको सहयोगका लागि दलहरुको भुमिका सकारात्मक भएपनि प्रयाप्त नभएको स्थानियको गुनासो छ । पिडितहरुले चिसो त्रिपालबाट अस्थायी आवास हुँदै स्थायी वासको ब्यवस्था गरि भोग र चिसोले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न दलहरु सारथी हुनुपर्ने बताएका छन् । तत्काल भत्किएका संरचना र भग्नावशेष हटाई अस्थायी र स्थायी आवासको ब्यवस्था गर्ने स्थान बनाउने, स्थायी संरचनाका लागि आवश्यक अनुदानको ब्यवस्था गर्नु पर्ने, चिसो, भोक र रोगबाट बचाउन पहल गर्नुपर्ने भेरी नगरपालिका ३ जाजरकोटका एक भुकम्प पिडित कृष्ण जंग शाहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad