April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

भुकम्पले परिवारै गुमाएका उदय भन्छन् –‘हे भगवान मुटुका टुक्रा चुडेर मलाई किन एक्लै बनायौ ?’

यतिवेला भेरी नगरपालिका १ कोलचौर जाजरकोटका ४० बर्षिय उदय कामी जीन्दगी देखि नै निराश छन् । थकित छन् । न भोक छ न निन्द्रा नै । गत असोज १७ गते मध्यरातमा आएको भुकम्पले उनको परिवार तहसनहस बनाईदियो । उनले तीन छोराछोरी र श्रीमति गुमाउन पुगे । आफु बैदेशिक रोजगारीमा मलेशिला रहेकाले बाँचे तर भुकम्पमा परि मृत्यु भएकी आफ्नी प्राण भन्दा प्यारी श्रीमति र छोराछारीको मुख हेर्न पनि तीन दिन पछि मात्र पाए । उनकै आग्रह अनुसार उनलाई लासले कुरेर बसे । उनी आएपछि लास बुझेर सामाजिक संस्कार अनुसार सोमवार मृतकको अन्त्यष्टी गरियो । उनी सँग यसै विषयमा सम्पादक राजेन्द्र कार्कीले गरेको कुराकानीको सार संक्षेप ः

१) घटना बारे कसरी र कतिवेला थाह पाउनु भयो ?

विहानको पौने ३ बजेको थियो । हामी गाँउका ७ जना एउटै कम्पनीमा काम गछौ । सवै एउटै कोठामा सुतेका थियौ । विहान पौने ३ बजे एक्कासी छिमेकी भाई वीरबहादुरको फोन घण्टी बज्यो । उसको श्रीमतिले गरेको रहेछ । म उको नजिकै सुतेकाले पनि आवाज बाटै चिनिहाले । पुरै आत्तिएको स्वरमा उनले एकोहोरो भनिरहेकी थिईन । ‘ठुलो भुकम्प गयो । हाम्रो घर केही भएको छैन । हामी सवै परिवार सकुशल छौ । अहिले बाहिर खुला ठाँउमा बसेका छौ तर माथिल्लो घरका उदय दाईको घर भत्कियो । के के भयो केही थाह हुन सकेको छैन । कराईरहेको आवाज सुनेकी छु । के हुन्छ पछि खवर गरौला भनिन् । भाई विरबहादुरले सुरक्षित भएर बस्नु । दाईको घरमा के भएको रहेछ खवर गर्नु भनेर फोन राखिदिए ।
उनीहरुको फोन सम्बाद पछि मेरो मन चिसो भयो । केही सोच्नै सकिन निकै आत्तिए । श्रीमतिको मोवाईलमा फोन गरे फोन लागेन । झन मन आत्तियो । एकछिन पछि फेरी विरबहादुरले श्रीमतिलाई फोन गरे । हल्लाखल्ला फोनमै सुन्निएको थियो । ति बहिनीले उदय दाईको घरमा सुतेका ९ जना मध्य आमा, बहिनीको छोरा र भाईको छोरीलाई जीवितै उद्धार गरेको सुनाईन् । झन मन आत्तियो । त्यतिवेलै मेरी आमाले नानी उदयवावुलाई अहिले केही नभन, उता केही नसुनाउ, आत्तिएला भन्नुभएको कुरा मेरो कानमा परि हाल्यो त्यसपछि त म छाँगाबाट खसे झै भए । पक्का मेरो सवै परिवार पुरियो भन्ने लाग्यो । ति बहिनीले उद्धार हुँदैछ भनेपछि घर भत्किएपनि कहिले काठको मुनी परे जीवितै पो छन् कि भनेर अलिअलि आशा पनि पलायो ।
केही समय पछि मानिसहरु मृत्यु भएका र घरहरु भत्किएका क्षतविक्षत भएका भिडियो, फोटाहरु सामाजिक सञ्जालमा आउन थाल्यो । समय उज्यालो हुनै थालेको थियो तर मन भने अध्याँरिदै गएको थियो । मलेशियाको विहान करीव ७ बजे नेपालको राती ३ बजेतिर ति बहिनीले उदय दाईको सवै परिवार सहित ६ जनाकै ज्यान गयो । आर्मीले सवै लास भर्खर निकाल्यो यहाँ त विजोग छ भनेर भनेको याद छ त्यसपछि म बेहोस भएछु । होस खुल्लेपछि अस्पतालको वेडमा पाए । निकै पिडावोध भयो । तत्काल घर जान पाए हुन्थ्यो भन्ने लाग्यो । तत्काल म कामगर्ने कम्पनीमा घटनाबारे जानकारी गराउँदै नेपाल फर्किन चाहेको अवगत गराए । घरमा पनि म नआउँदा सम्म लासको अन्तेष्टि नगर्नु र नबुझ्नु भने ।

२) त्यसपछि नेपाल आउने प्रक्रिया कसरी थाल्नु भयो ?

कम्पनीको सुपरभाइजरलाई घटनामा आफ्नो परिवारमा भएको क्षति, फोटा र नेपाल फर्किने ब्यवस्था मिलाई दिन भनेर ह्वाटसप गरिदिए । तर शनिवार र आईतवार कम्पनीको कार्यालय बन्द हुने भएकोले खासै वास्ता गरेन् । मलाई भने छट्पटि भैरह्यो । मरेकै भएपनि मेरो परिवारको मुख कतिवेला हेरौ भन्ने भैरहयो । मेरो भोक र निन्द्रा सवै हरायो । भौतिक शरीर मलेशिया भएपछि मनमष्तिस्क सवै घरतिरै थियो । एकै चिहान भएका ति मेरा कलिला मुना सामाजिक सञ्जालमा छरप्रष्ट भएका थिए । म पहिलो पटक यति धेरै रोए । मेरो मनका बह केही हद सम्म ति आसु भएर बगिरहे । दुई दिन सम्म केही नखाएर नसुतेरै विते । धेरै अनुनय विनय गरेपछि आइतवार बेलुकाको टिकटको ब्यवस्था कम्पनीले मिलाई दियो । काठमान्डौ आए । काठमान्डौबाट नेपालगञ्जको टिकट एक जना धादिङवेसी निवासी लेक बहादुर श्रेष्ठले टिकट काटिदिनु भयो । मलेशियामा रहेका केही साथीभाईले थोरै रकम संकलन गरेर घर पुग्ने ब्यवस्था मिलाई दिए । सोमवार विहान नेपालगञ्ज आएर त्यही दिन घर पुगे । त्यही दिन म घर पुग्नु भन्दा अलि अगाडी नै माईलो भाईले अस्पतालबाट ५ वटा लास बुझेर ल्याएछन् ।
३) तपाई घरमा पुग्दा कस्तो वातावरण थियो ?

अरु वेला घर फर्कदा ब्यग्लै खुसी हुन्थ्यो मेरो मन । तर यस पटक त घर पुग्नु मेरो बाध्यता थियो । रुँदारुदा थकित थिए मेरा आँखाहरु । मेरो उर्जा विहिन शरीर थियो । म भत्किएको घरमा पुग्दा आँगनमा सवै गाँउलेहरु जम्मा भएका थिए । आँगनमा ५ ओटा लास लाईन लगाएर राखिएको थियो । सेतो कपडाले वेरेर राखेको श्रीमतिको अनुहार हेरे टाउकोमा गहिरो चोट लागेको रहेछ । जानुका मलाई एक्लै छोडेर किन गयौ भने त्यही लासमा घोप्टो परेर रोएँ । भर्खर लाउँलाउँ खाउँ खाउँ भन्ने उमेरका कलिला मेरा मुनाको विभत्स लास देखे । मन निकै दुखित भयो । भविश्य शुन्य छ । मेलै केही सोच्नै सकिरहेको छैन । गाउँलेले सम्झाए । त्यसै दिन दाह संस्कार गरयौ । श्रीमति र जेठी छोरीलाई अलग अलग दागवत्ति दिएर अन्तिम संस्कार गर्यौ । अरु साना तिन जना बच्चालाई माटोमा गाडेर आयौ । के गर्ने दैवको लिला यस्तै रहेछ । जस्तो सुकै पिडा भए पनि सहनुको विकल्प हुदो रहेनछ । मलाई कति पिडा छ म शब्दमा कसरी भनुँ…. (उनको गलाअवरुद्ध भयो । आँखाबाट आँसु झर्न थाले ।)

४) तपाईको परिवार (श्रीमति) सँगको अन्तिम कुराकानी कहिले भएको थियो ?

मेरो जहान (परिवार) सँग शुक्रवार घटना घटेकै दिन दिउसो कुरा भएको थियो । घरमा डाटाले काम नगरेर नेट नचलेपछि छिमेकी बहिनीको मोवाईलमा सिम हालेर तल्लो घरमा गएर भिडियो कल गरेकी थिईन दिउसो १२ बजेतिर । सुखदुखका कुरा सञ्चोविसन्चोका कुरा भए । नजिकै आउँदै गरेको तिहारका कुरा भए । यसपाली दशैमा पनि आउन नपाएको र मन हुँदा हुदै पनि तिहारमा पनि आउन नपाईने बताए । श्रीमतिले भनिन जाँदाखेरी लिएको साहुको ऋण तिर्न सकेका छैनौ । ठिकै छ म केटाकेटी सम्हालि हाल्छु केही चिन्ता नमान्नु बरु तिहार खर्च पठाईदिनु भनेकी थिईन । मैले अर्कोदिन पठाइदिउला भनेर आवश्वस्त पारे । विचको कोठा कच्चि छ त्यहाँ नसुत्नु बरु छेउकै कोठा सुत्नु भने । त्यो कोठामा धान छन् चोरी हुन सक्छ त्यही सुत्छु केही हुँदैन उनले भनिन् । मैले कसरी त्यो कुरा भने मलाई नै थाह छैन । त्यही रात त त्यो घटना भैहाल्यो ।

५) विदेश जान कहिले देखि थाल्नु भएको हो ?

पढ्न सकिन । पढाईलेखाई नभएपछि १२ बर्षकै उमेर देखी म कालापार (भारत) जान थालेका हुँ । बुवा जानुहुन्थ्यो । उहाँ सँगै गए । जम्मु कस्मिर, कारगिल क्षेत्रमा ४ बर्ष जति बसे । तीन बर्ष काम गरेर ठेकेदारले पैसा नदिएर ठगिदियो । एक बर्ष जति युद्ध क्षेत्रमा सेनाको रासन र गोलावारुद बोक्ने काम गरयौ राम्रो कमाई भयो । घर फर्केर विवाह गरे २०६५ सालमा । केही बर्ष घरमै बसे २०६७ सालमा जेठी छोरीको जन्म भयो । एक बर्षपछि मलेसिया गए । ३ बर्ष जति बसे । केमिकल मेडिकल स्टोरमा काम गर्नु पथ्र्यो । ८ लाख जति कमाएर ल्याए । घर थिएन । त्यही ८ लाखले घर बनाए । तर अहिले त्यही घर काल बन्यो मेरो परिवारको । परिवारै उजाडियो । एक बर्ष जति घरमा बसेर फेरी साउदी अरब गए । भने अनुसार तलब नदिदा कमाउन सकिन । कम्पनीले ठग्यो । २७ महिनामै नेपाल फर्किए । आउने जाने खर्च तिर्न ठिक्क भो । अव गाँउमै बस्छु । विदेश जान्न भनेर ५ बर्ष जति बसे तर आयस्रोत केही भएन । तीन छोराछोरी भए । पढ्न थाले । खाने पेट बढे । मन नहुँदा नहुँदै पनि बाध्यताले फेरी गत बर्ष तिहार मानेर मलेशिया गए ।

६) यस पटक मलेशियाको बसाई र कमाई कस्तो थियो ?

यस पटक पनि त्यति राम्रो थिएन । तर पनि साहु ऋण काढेर गएकोले छिटै फर्कन सकिन बाध्यताले बसिरहेको थिए । फ्रि भिसा फ्रि टिकट भनेपनि जाँदा नै चार लाख जति खर्च भयो । फेमस मेनपावरका लक्ष्मण पोखरेल मार्फत गएको हुँ । २२ सय रिङ्गेट दिने भनेर लिएको कम्पनीले १२९५ रिङ्गेट मात्र दियो डिफेन्स इन्टरप्राईजेज विएचडी नामक कम्पनीमा काम गथ्यौ । यो कम्पनीमा कार्वोमा समान लोड अनलोडको काम गर्नु पथ्र्यो । खर्च कटाएर ८ सय रिङ्गेट मात्र बचत हुन्थ्यो । बढी तलब भनेर कम तलब दिएको भन्दै हामी नेपालीले चार दिन सम्म आन्दोलन पनि गर्यौ । तर पुराना नेपालीले सहयोग गरेनन् । त्यही भएको जागिरबाट पनि निकालिदेला भन्ने डरले सवैले उनीहरुले दिएकै तलब स्वीकार्न बाध्य भयौ । हामी मजदुरका कुरा दुतावासले पनि सुन्दैन । उनीहरुकै राज चल्ने गर्छ ।

७) नेपाली कामदारलाई कस्तो ब्यवहार गर्छन कम्पनीहरुले ?

हामीलाई मान्छे नै लगाउँदैनन् । कुल्लीको रुपमा मात्र हेर्ने गर्छ । बहुत हेला र अपमान जनक ब्यवहार गर्छन तर पनि सहेर बस्नु पर्छ । १५÷२० हजारको जागिर नेपालमै पाईने भए म विदेश जाँदैन्थे होला । म घरमै भएको भए जहान केटाकेटी जोगाउन पनि सक्थे कि भन्ने पनि लाग्छ । यदि मरेकै भएपनि सवै परिवार सँगै मथ्यौ । अहिले म एक्लै बाँचेर पनि मरेतुल्य नै भएको छु … (फेरी उनी भक्कानिए)

८) तपाई जस्तै भुकम्प पिडित परिवारलाई कस्तो किसिमको सहयोग आवश्यक गर्नु पर्छ जस्तो लाग्छ ?
भुकम्पले म जस्तै धेरै परिवारलाई घरवार विहिन बनाई दिएको छ । धेरैले आफन्त गुमाएका छन् । मानिसहरु घरमा बस्न सकिरहेका छैनन् । चिसो मौसम छ । धेरै परिवार त्रिपालमुनी बस्न बाध्य छन् । भत्किएका र चर्किएका घर फेरी बनाउनु बनाउनु पर्छ । कतिदिन पाल मुनि नै बस्ने ? पैसा हुनेले त घर बनाउलान । म जस्ता गरीब विदेश जाँदाकै चार लाख रुपैया ऋण तिर्न छ । त्यो कसरी तिरुँ ? कसरी घर बनाउँ ? मर्न सकिदैन । बाँच्नलाई पनि गास वास र कपासकै अभाव छ । सरकारले भुकम्प प्रतिरोधी घर बनाएर पुर्नस्थापित गरे हामी जस्ता परिवार जो आफन्त गुमाएको वियोगमा छट्पटाईरहेकाहरुको घाउमा मलहम पट्टी हुन्थ्यो कि भन्ने लाग्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad