June 10 - 2023, Saturday२७ जेष्ठ २०८०, शनिबार

सोती घटनाको तीन बर्ष पुरा, अझै भएन फैसला

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित ६ जनाको सामुहिक हत्या गरेको जेठ १० गते तीन बर्ष पुग्यो तर नवराजकी आमा उर्मिला विकको आँखा अहिले पनि रसाइरहन्छन् । छोराको सम्झनामा उनी टोलाईरहन्छिन् ।
हत्याकाण्डको ‘मुख्य दोषी’ छुट्दा न्यायको आशा मर्दै गएको उनले बताइन्। “उनीहरूलाई जन्मकैद भए छोराको आत्मले शान्ति पाउने थियो । हामीले न्याय पाउने थियौँ,” उनले भनिन्, “न्यायकै लागि तीन÷चारपटक काठमाडौँ पुगिसक्यौँ । रुकुम त जाने–आउने भइरहेको छ।”
पटक पटक फैसलाको पेशी सरिरहेको छ । गत बैशाख २४ मा पेसी तोकिएकोमा जिल्ला न्यायधिस विदेश भ्रमणमा रहेकाले जेठ ३० मा पेसी सारिएको छ । उर्मिला व्यग्रतापूर्वक जेठ ३० गतेलाई पर्खिरहेकी छन् । रुकुम जिल्ला अदालतले उक्त दिन अन्तिम फैसलाको पेसी तोकेको छ । तर, न्यायका लागि पर्खिनुपरेको तीन वर्ष धेरै लामो भएको उनी बताउँछिन् ।
आफ्ना छोराको हत्या गर्नेलाई कारबाहीका लागि आमाहरूले आवाज उठाउन भने छाडेका छैनन् । कहिले रुकुम अदालत पुग्छन् त कहिले धर्ना बस्न काठमाडौँको माइतीघर ।
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराज सहित ६ जनाको ज्यान गयो । नवराजको मल्ल थरकी एक किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार विच सम्बन्ध राम्रो थिएन । तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो तर प्रेमीप्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाई छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर भएको र ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २३ जना पुर्पक्षका लागि जेलमा रहेको जिल्ला अदालत, रुकुम पश्चिमका तहसिलदार विष्णु प्रसाद पौडेलले बताए । मुद्धाको फैसला अहिले सम्म भएको छैन । आगामी जेठ ३० गते पेशी तोकिएकोे तहसिलदार पौडेलले बताए ।
जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक त्यो दिन बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली सोती पुग्यो । केटीको घरमा नपुग्दै दलितको छोरो ठकुरीकी छोरी लिन आउने आँट गर्ने भन्दै सोतीका स्थायियले केटाहरुलाई लखेट्दै भेरी किनारमा कुटिकुटी मारेर ६ जनालाई फालिदिए । बाँकी अरु भागेर ज्यान जोगाए ।
नवराज सहित भेरी नगरपालिका ४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र चौरजहारीका टीकाराम सुनार घटनामा परि ज्यान गुमाएका थिए ।
नबराजकी आमा उर्मिला भन्छिन् ‘अहिले सम्म न्याय पाएका छैनौ । कति छुटिसके रे अहिले सम्म फैसला भएको छैन । दोषीलाई जन्मकैद होस, मेरो छोरो मरे पनि न्याय नमरोस ।’

Swasthya sewa karyalaya, jajarkot

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad