राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट भेरी नगरपालिका २ तिमिलेका टीकाराम पुन २४ वर्ष पछि सम्पर्कमा आएका छन् । माओवादी शसस्त्र द्धन्दको क्रममा राज्य पक्षबाट चरम यातना पाइ २०५६ साल देखि घरपरिवारबाट सम्पर्क विहिन भएका पुन हालै सम्पर्कमा आएका हुन् । घरमा श्रीमती, दुई छोरा , दुई छोरी रहेका उनी हाल भारतको उत्तराखण्ड प्रदेश उत्तरकासी जिल्ला, नेटवार पोष्ट अफिस मोरी तहसिल, गौरादी गाँउमा ब्यवसाय गरेर बसेको खुलेको हो ।
गाँउकै एक जना शिक्षक रुद्र वहादुर वली सँगको भिडीयो कल मार्फत उनी सम्पर्कमा आएका हुन् । भारतको गौरादी गाँउमा घर वनाई स्याउको वगैंचा तयार गरि कृषी पेशामा जीवन विताइरहेको जानकारी दिएको शिक्षक वलीले बताए । तत्कालिन सुरक्षा फौजले माओवादी आरोपमा चरम यातना दिएपछि ज्यान जोगाउन भागेर भारत आएको र उतै कृषि ब्यवसाय गरेर बसेको टीकारामले बताए । पढाई लेखाई नभएका कारण पनि आफुले घरमा चिठी पठाउन नसकेको बताए । नेपालमा शान्ति स्थापना भएको थाह नै नपाएको बताए । अझै द्धन्दको उस्तै अवस्था होला भन्ने लागेको थियो उनले भने मलाई स्थानिय पाँचकाटिया प्रहरी चौकीमा लगेर २०५४ सालमा पुलिसले चरम याताना दियो । पटक पटक माओवादी आरोपमा यातना दिन थालेपछि आफु भागेर भारत आएको टेलिफोनमा बताए । उनलाई घरपरिवारले निकै खोजी गरेपनि कतै भेटाउन सकेनन् । कान्छो छोरा कर्णबहादुर उनी भाग्दा दुई बर्षका थिए । अहिले २६ बर्षका भैसकेका छन् । विवाह गरेर छोराछोरी समेत जन्माईसकेका छन् । छोरा र श्रीमतिलाई आफुलाई लिन आउनका लागि टीकारामले अनुरोध समेत गरेका छन् । टीकारामले भारतमा प्रेम राना नाम राखेका छन् । सोही नामबाट घरजग्गा खरीद गरेर स्याउ बगैचा स्थापना गरेका छन् । तत्कालिन द्धन्दकै कारण उनले घरपरिवाट विच्छेद हुनुपरेपनि राज्यबाट द्धन्दपिडित सम्बन्धि कुनै किसिमका राहत नलिएको परिवारले जनाएको छ ।
यसरी बेपत्ता व्यक्ति सम्पर्कमा आउँदा घर परिवार र गाउँमा एकदमै खुसी छाएको स्थानीय हरी वहादुर पुनले बताए । उनका कान्छा छोरा कर्ण वहादुर पुनले आफुहरुले एक्कासी वुवा जिवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए । बुवा जीवितै हुनुहोला भन्ने हामीले आशा नै गरेका थिएनौ । बुवा जीवितै हुनुहुदो रहेछ । हामी निकै खुसी छौ । अव छिट्टै वुवालाई भेटेर घर ल्याउन भारत जाने बताए ।
२४ बर्ष सम्म आफ्ना नागरिक बारे राज्य मौन बस्नु र खोजीतलासी नगर्नु दुखद पक्ष भएको अधिकारकर्मी सहदेव वस्नेतले बताए ।