सय बर्षको उमेरमा फर्कियो रामकलीको आँखाको ज्योति

राजेन्द्र कार्की । जाजरकोट
सय बर्षको उमेरमा आँखाको मोतिविन्दुको शल्यक्रिया गरेर पुनः संसार देख्न सक्ने भएपछि बारेकोट गाँउपालिका ८ सेपुखोलाकी रामकली विक खुशीले गद्गद् भएकी छन् । कुनै पनि बस्तु देख्न नसक्ने भएको आँखा सय बर्षको उमेरमा फेरी देख्न सक्ने भएपछि रामकलीले आफ्नो पुनर्जन्म भएको बताएकी छन् । शल्यक्रिया पश्चात देख्न सक्ने भएपछि बाल्यकालदेखि जवानीसम्ममा घुमफिर गरेको भुगोल तथा गाउँबस्तीलाई पुनः देख्न थालेपछि खुसी भएकी हुन् । ३० बर्ष अघि गुमेको उनको आँखाको ज्योति फर्किएको हो ।

बारेकोट गाउँपालिका र नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालले प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट तथा सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटको आयोजनामा भएको दुई दिने शिविरमा ५३ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएका विरामीलाई निशुल्क चश्मा र औषधी निशुल्क वितरण गरिएको नेत्र चिकित्सक डा. मञ्जु पन्तले बताईन ।


डा. मन्जु पन्तको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले गरेको सफल सय बर्षको उमेरमा आफुलाई फेरी देख्न सक्नेगरी आँखा अप्रेशन तथा उपचार गरिदिने चिकित्सक र सबै स्वास्थ्यकर्मीहरुलाई रामकलीले धन्यवाद दिएकी छन् । ६ भाई छोराकी आमा रामकलीलाई आँखा अप्रेशन गर्न उनका छोराहरुले बोकेर लिम्सा पुर्याएका थिए ।

bhumi-sanrakshyan

शिविरबाट शल्यक्रिया गरिएका रामकली सहित ५३ जना मध्ये २० जना पुरुष, ३३ जना महिला रहेको सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटमा कार्यरत प्रदिप जंग शाहले जानकारी दिएका छन् । ५० बर्षभन्दा माथि सय बर्षसम्मका जेष्ठ नागरिकहरुको आँखा अप्रेशन गरी सेवा गर्ने मौका प्रदान गरेकोमा खुशी व्यक्त गर्दै नेपाल नेत्र ज्याति संघ, सुर्खेतद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका व्यवस्थापक मान बहादुर कुँवरले बारेकोट गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

शिविर समापन कार्यक्रममा बारेकोट गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई अन्धोपनबाट मुक्त गराउने उदेश्य राखेर संचालन गरिएको शिविरमा साँझेदार निकायका रुपमा सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल र सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटलाई उपाध्यक्ष नरबहादुर गिरीले हार्दिक धन्यवाद दिएका थिए । रामकली लाई फेरी आँखा देख्न सक्ने बनाएकोमा चिकित्सकप्रति खुशी व्यक्त गर्दै उपाध्यक्ष गिरीले उनलाई खादा ओढाएर सम्मान गरेका थिए ।

उक्त शिविरमा एक सय ९६ जना कानका बिरामीहरुको कान परीक्षण गर्नुको साथै सुन्य श्रवण क्षमता भएका २७ जनालाई हेरिङ्गबोर्ड तथा श्रवणयन्त्र वितरण गरिएको थियो । ब्रिटेन नेपाल सामुदायिक कान उपचार सेवा गणेशमान चोक सिद्र्धाथ अस्पताल नेपालगञ्जको आर्थिक तथा प्राविधिक सहयोगमा कान परीक्षण तथा हेरिङ्गबोर्ड वा श्रवणयन्त्र वितरण गरिएको थियो । कान परीक्षण गरिएका १९६ जना मध्ये ९८ महिला र ९८ जना पुरुष रहेको बरिष्ठ कान स्वास्थ्य अधिकृत राम बहादुर बोहोराले जानकारी दिएका छन् । अधिकृत बोहोराले दिएको जानकारी अनुसार परीक्षण गरिएका १९६ जनामध्ये ६४ जनामा कान पाक्ने, ६५ जनामा कान कम सुन्ने समस्या भेटिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya