राजेन्द्र कार्की । जाजरकोट
जिल्ला सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत छात्रा आकृति शाही एउटै बेच्चमा धेरै विद्यार्थी कोचिएर बस्नु पर्दा हैरान छन् । धेरै विद्यार्थी एउटै कोठामा राखेर पढाउँदा कोचिएर बस्नु परेको उनको भनाई छ । उनले भनिन ‘विद्यार्थी संख्या धेरै तर बेन्च संख्या थोरै र कक्षा कोठा साँघुरो हुँदा पठनपाठन समेत प्रभावित हुने गरेको छ ।’ धेरै विद्यार्थी भएकोले सेक्सनको ब्यवस्था गरिदिन आग्रह गर्दा पनि सरहरुले वास्तै नगरेको शाहीले गुनासो गरिन ।
७ कक्षामा ७५ जना विद्यार्थी सँगै बसेर पढ्छन् । सवै विद्यार्थी आएका दिन एउटै बेन्चमा ६÷ ७ जना सम्म बस्नु पर्छ अर्की छात्रा करुणा मल्लले भनिन ‘कोचाकोच हुँदा लेख्न, पढ्न समस्या एकातिर हुन्छ भने अर्को तिर हल्ला भएर पढाएको बुझ्न समेत गाह्रो हुन्छ ।’
शाही र मल्ल त प्रतिनिधी विद्यार्थी मात्र हुन् । कक्षाका सवै विद्यार्थीको साझा समस्या हुन् । धेरै विद्यार्थी एउटै कक्षामा राखेर पढाउँदा हल्ला हुने, विद्यार्थीलाई बस्न समस्या हुने र कक्षा कार्य गर्न गराउन समस्या हुने देखिएको छ । शिक्षक रेखा शाह पनि धेरै विद्यार्थी भएकोले पठनपाठनमा समस्या देखिएको बताउँछिन् । धेरै विद्यार्थी हुँदा कक्षा कार्य गर्न र गृहकार्य चेकजाँच गर्न समेत कठिनाई हुने शिक्षक शाहको भनाई छ । शिक्षा नियमावलीमा पहाडमा ४५ जना सम्म एउटा कक्षा वा सेक्सनमा राखेर पढाउनु पर्ने प्रावधान राखेको छ । नमुना विद्यालय संचालन निर्देशिकामा प्रतिकक्षा ४० जना सम्म राखेर पढाउनु पर्ने प्रावधान उल्लेख छ । तर यस नुमना विद्यालयमा एउटै कक्षामा ७५ जना विद्यार्थी राखेर पठनपाठन गर्ने गरिएको छ ।
भेरी नगरपालिका शिक्षा विकास तथा खेलकुद शाखा प्रमुख अमृत पुनले पठनपाठन ब्यवस्थापनका लागि हरेक बर्ष नमुना विद्यालयको कार्यक्रम अन्र्तगत ५० लाख बजेट विनियोजन गरिएको बताए । उनले आवश्यक शिक्षकको ब्यवस्था गरेर सेक्सन बाँडेर नमुना विद्यालय निर्देशिका अनुसार पठनपाठनको ब्यवस्था मिलाउने जिम्मा विद्यालयको नै भएको बताए ।
शैक्षिक सत्रको शुरुमा भर्ना गर्दा ६५ देखि ७० को विचमा विद्यार्थी थियो । सवै सरहरुलाई सोध्दा यति सम्म ठिकै छ चलाउन सकिन्छ भन्ने कुरा भयो पछि ट्रान्सफर गरेर अन्य विद्यालयबाट आउँदा ७५ पुगेको विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताए । उनले भने–‘गत बर्ष पनि यस्तै अवस्था थियो । त्यही भएर शैक्षिक सत्रको शुरुमै सिट निर्धारण गरेर क्षमता भन्दा बढी भर्ना नलिदाँ यस्तो अवस्था आउँदैन ।’


