April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

कुशेमा शारीरिक अशक्तलाई घरमै शिक्षा !

राजेन्द्र कार्की । जाजरकोट

एक जना शिक्षक, विद्यार्थी पनि एक जना मात्र । त्यो पनि विद्यार्थीकै घरमा शिक्षक पुगेर पढाउने ब्यवस्था । सुन्दा जो कोहीलाई पनि आश्चार्य लाग्न सक्छ तर जाजरकोटको कुशेमा विद्यालयको पहुँचमा पुग्न नसकेका शारीरिक अशक्तलाई घरमै पढाउने गरिएको छ । कुशे गाँउपालिका ८ मेलविसाउनका शिवराज गिरी जन्मजात शारीरिक अपाङ्ग बालक हुन् । उनका खुट्टा चल्दैनन् जसका कारण उभिन र हिडड्ल गर्न सक्दैनन् । पढ्ने चाहना हुँदा हुँदै हिड्न नसक्ने भएकै कारण उनी विद्यालय जान सक्दैन्थे ।

११ बर्षको उमेर सम्म पनि उनी पढ्ने र सिक्ने कुराबाट निकै टाढा थिए । तर गत तीन बर्ष देखि घरमै पढ्ने अवसर पाएका १३ बर्षिय शिवराजले धेरै कुरा सिकिसकेका छन् । अक्षर र अंक चिन्नुका साथै गणितका आधारभुत क्रियाहरु जोड, घटाउ, गुणान र भाग गर्न सिकिसकेका छन् । स्पष्ट रुपमा पढ्न र लेख्न समेत उनी सिपालु भैसकेका छन् । शिवराज पढाईमा निकै चाख राख्ने भएकोले पढाएको विषयवस्तु राम्रो सँग सिकिरहेको सहजकर्ता विना गिरीले बताईन ।

सेभ द चिल्डे«नको सहयोगमा पहाडी क्षेत्र विकास अधियान जाजरकोट द्धारा संचालित सहयात्रा परियोजनाले घरमै शिक्षकको ब्यवस्था गरि पठनपाठनको ब्यवस्था मिलाएपछि शिवराजको पढ्ने धोको पुरा हुन थालेको हो । पढेर संसार चिन्ने र देख्ने सपना बोकेका शिवराज पढ्न पाएपछि निकै खुसी भएका छन् । परियोजनाले ५ बर्ष सम्म घरमै पढाउने ब्यवस्था मिलाउने छ । शिवराज भन्छन्–‘घरमै पढ्न पाउँदा निकै खुसी लागेको छ । अवसर पाए उच्च शिक्षा सम्म अध्ययन गरेर जागिर खाने सपना छ ।’ भुपेन्द्रका बुवा बहादुर गिरीले आफ्नो छोरालाई घरमै पढाउने ब्यवस्था मिलाईदिएकोमा अवसर परियोजनालाई धन्यवाद दिएका छन् ।

 

उनी स्थानिय जनता प्राथमिक विद्यालयमा कक्षा ३ मा भर्ना समेत भएका छन् । उक्त सामुदायिक विद्यालयबाट अन्य विद्यार्थीले पाउने पाठ्यपुस्तक र छात्रबृत्ति समेत उनले पाइरहेका छन् । घरमा पढेको दिन विद्यालयमा समेत हाजिर जनाउने गरिएको छ । विद्यालयले संचालन गर्ने त्रैमासिक, अर्धवार्षिक र बार्षिक परिक्षामा समेत उनी सहभागी हुने गरेका छन् । विद्यालयले परीक्षा संचालन गर्दा एक प्रति प्रश्नपत्र ल्याएर शिवराजले घरमै परिक्षा दिने र परीक्षा गरेको कपी विद्यालयमा पठाउने गरिएको सहजकर्ता विनाले बताइन ।

कार्यक्रमबाट उनलाई ह्वील चेयर, बोर्ड, मादल, कार्पेट, डे«स, कपी कलम समेत सहयोग गरिएको छ । उनले ख वर्गको मासिक एक हजार ६ सय रुपैया अपाङ्ग भत्ता समेत पाउने गरेका छन् ।

 

गत तीन बर्ष देखि शुरु भएको परियोजनाले शारीरिक अशक्तताका कारण विद्यालय गएर पठनपाठन गर्न नसकेका कुशेका चार जना बालबालिकालाई घरमै शिक्षक पठाएर पढ्ने ब्यवस्था मिलाएको छ । शारीरिक अपाङ्गताका कारण विद्यालय जान नसकेका कुशे गाँउपालिका भित्रका बालबालिकालाई घरमै पढाउने ब्यवस्था मिलाइएको पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए । आर्थिक अवस्था कमजोर भएका सात जना विद्यार्थीका परिवारलाई आयआर्जनका लागि बाख्रापालन कार्यक्रम संचालनका लागि समेत सहयोग गरिएको कार्यकारी निर्देशक कार्कीले बताए । उनका अनुसार शिक्षण सिकाईमा सुधार ल्याउन कुशेमा गृह शिक्षक अवधारण समेत अघि सारिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad