April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

राहत नपाउँदा विपन्न परिवार भोकभोकै

राजेन्द्र कार्की । जाजरकोट
कोरोना त्रासका कारण लकडाउन गरिएको डेढ महिना वितिसक्दा पनि राहत वितरण हुन नसकेपछि जाजरकोटको भेरी नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार समस्यामा परेका छन् । खानेकुरा नहुँदा उनीहरुको चुल्हो बल्न छाडेको छ । धेरै परिवार भोकभोकै परेका छन् ।

नगरपालिकाले असंगठित श्रमिक तथा विपन्न परिवारको सुची तयार गर्न नसक्दा राहत वितरण हुन नसकेको हो । नगरपालिकाले समस्यामा परेका परिवारको लगत संकलन गरि नगरपालिकामा पेश गर्न वडा समितिलाई जिम्मा दिएको थियो । तर वडा समितिले राहत वितरण गर्ने सुचीमा वास्तविक पिडित छान्नुको साटो आफ्ना मतदातालाई छनौट गरेपछि राहत वितरण हुन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १३ वटा वडाबाट आठ हजार चार सय ९० परिवारको सिफारिस आएको थियो । वडाबाट सिफारिस आएका नाममा नगरकार्यपालिकाको बैठकमा छलफल हुँदा वास्तविक पिडित भन्दा अन्य ब्यक्तिहरुको धेरै सुची आएपछि नगरपालिका तत्काल राहत वितरण नगर्ने निर्णयमा पुगेको प्रमुख प्रशाकिय अधिकृत दलबहादुर घर्तीले बताए ।
उनका अनुसार वडा समितिलाई पुनः तीन दिन भित्र नेपाल सरकारले जारी गरेको राहत वितरण कार्यविधी २०७६ अनुसार वास्तविक समस्या परेका नागरिकको सुची तयार गरी पेश गर्ने कार्यपालिकाले गत १० बैशाखमा निर्देशन गरेको थियो । तर दुई साता विति सक्दा पनि हाल सम्म ११ वटा वडाले मात्र वितरण पठाएका छन् । अझै वडा नम्बर १ र ८ ले विपन्न परिवारको सुची नबुझाउँदा राहत वितरण हुन नसकेको घर्तीले बताए । पछिल्लो पटक ११ वटा वडाले करीव एक हजार तीन सय विपन्न तथा मजदुरकोे नाम सिफारिस गरेका छन् । बाँकी दुई वटा वडाको विवरण आउने वित्तिकै राहत वितरण गछौ उनले भने ताकेता गरिरहेका छौ उनले भने–‘वडाले समयमा नाम नपठाउँदा केही विपन्न परिवारको विचल्ली भएको हामीले पनि महसुस गरेका छौ । छिटै राहत वितरण गछौ ।’ राहत सामग्री ब्यवस्थापनका लागी प्रदेश सरकारले २० लाख रुपैया पठाएको छ । नगरपालिकाले छुट्याएको २७ लाख गरेर जम्मा ४७ लाख रुपैया भएपनि समयमा राहत वितरण हुन नसक्दा विपन्न परिवार समस्यामा परेका हुन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी भन्दै सरकारले लडकडाउन गरेको एक महिना विति सकेको छ । यस अवधीमा दैनिक ज्यालामजदुरी गरि गुजरा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन् । जसका कारण उनीहरुको चुल्हो समेत बल्न छोडेको छ तर खाद्यन्न ब्यवस्थापनको जिम्मेवारी पाएको स्थानिय सरकारले समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन् ।
लकडाउनका कारण आफु निकै समस्यामा परेको भेरी नगरपालिका ४ रत्नबहादुर खड्काले बताए । पाँच जनाको परिवारलाई छाक टार्न निकै समस्या परिरहेको उनको भनाई छ । ‘घरमा न खाने अन्न छ । न किनेर खानलाई पैसा छ । काम गर्न नपाएको डेढ महिना भयो । रोगले भन्दा भोकले मरियला जस्तो भो’ उनले भने ।
राहत नपाउँदा विपन्न र मजदुरलाई गुजरा चलाउन निकै समस्या परिरहेको छ । ‘नगर सरकारले राहत दिने भनेको सुनेका थियौ तर अहिले सम्म पाएका छैनौ के खाएर बाँच्ने हो हामी त साह्रै समस्यामा पर्यौ’ भेरी नगरपालिका ४ का सर्वजीत सार्कीले पिडा सुनाउँदै भने ‘आधा पेट खाएर जेनतेन गुजरा चलाईरहेका थियौ त्यही पनि सकियो अव के खाएर बाँच्ने हो । रोगको भन्दा भोगको चिन्ता छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad