राजेन्द्र कार्की । जाजरकोट
जनप्रतिनिधीहरुको पहिलो कार्यकाल सकिएपछि जिल्लाको जुनिचाँदे गाँउपालिकामा बैकको सेवा आरम्भ भएको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र परालेमा कृषि विकास बैंकको शाखा स्थापना भएको हो ।
सुरक्षा र प्रशासनिक केन्द्रको विवादको कारण देखाउँदै शाखा स्थापना गर्न नमानेको कृषि विकास बैकले अस्थायी प्रहरी पोष्ट स्थापना सँगै सेवा प्रारम्भ गरेको हो । एक महिना अघि मात्र परालेमा सुरक्षा पोष्ट स्थापना भएको थियो । तर गाँउपालिकाले आफ्नो स्थायी प्रशासनिक केन्द्र भने अझै तोक्न सकेको छैैन । सरकारले तोकिदिएको परालेबाट सेवा संचालन गरिरहेको छ । प्रशासनिक केन्द्र नतोकिदा भवन लगायतका भौतिक संरचना बन्न सकेका छैनन् । बैक स्थापना सँगै स्थानियलाई रकम भुक्तानी लिन र आर्थिक कारोबारमा निकै सहज भएको गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रकाश केसीले बताए । सानो बैकिङ्ग कामका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको उनको भनाई छ ।
उनका अनुसार बैक नहुँदा आयोजनाका भुक्तानी लिन, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन र सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । बैकको शाखा स्थापना सँगै बैकिङ्ग सेवा सुविधा सवै गाँउमै पाईनेछ । बैकको शाखा स्थापनाका लागि कृषि विकास बैक कर्णाली प्रदेश प्रमुख खुर्सेद अहमद जुनीचाँदेको पराले पुगेका थिए । गाँउपालिका अध्यक्ष बेदबहादुर शाही र बैकका प्रदेश प्रमुख अहमदले बुधवार संयुक्त रुपमा शाखाको उद्घाटन गरी सेवा आरम्भ गरेका थिए । बैकको शाखा स्थापना सँगै जुनीचाँदेमा आर्थिक कारोवारमा सहजता आउने बैंकको शाखा प्रमुख नरभुपाल थारुले बताए ।


