राजेन्द्र कार्की । जाजरकोट
नलगाड नगरपालिका जाजरकोटमा विद्यालय तहमा विद्यार्थीबाट शुल्क लिएको पाइए कारवाही हुने भएको छ । १२ कक्षा सम्मको शिक्षा निशुल्क हुने नेपालको संविधानमै उल्लेख गरिएको छ तर विद्यालयहरुले अहिले पनि विभिन्न बहानामा विद्यार्थीबाट शुल्क लिइरहेको जनगुनासो बढ्दै गएपछि नलगाड नगरपालिकाले शुल्क लिएको पाईए कारवाही गर्ने जनाएको छ ।
गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद कार्यक्रममा नगरप्रमुख डम्बर बहादुर रावतले १२ कक्षा सम्म शुल्क लिन नपाईने कानुनी प्रावधान कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् । १० कक्षा सम्म निशुल्क भएपनि ११ र १२ कक्षामा अहिले पनि विद्यार्थीबाट भर्ना र मासिक शुल्क लिईरहेको गुनासो गरिएपछि चालु शैक्षिक सत्रमै १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने कुरा कार्यान्वयन गर्ने बताए । कुनै पनि बहानामा कुनै पनि शुल्क नलिन विद्यालयलाई परिपत्र गरेका छौ । लिएको पाइए कारवाही हुन्छ नगरप्रमुख रावतले भने ‘शिक्षकको ब्यवस्थापन लगायतका कार्य नगरपालिकाले गर्छ तर कुनै पनि बहानामा शुल्क लिन दिदैनौ ।’ नगरपालिकाको आयोजनामा संचालित शैक्षिक सम्वाद छहारी कार्यक्रमको सहजीकरण केयर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले संचालन गरेको ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको थियो ।
खुल्ला शैक्षिक सम्वाद कार्यक्रममा निशुल्क भनिएपनि विद्यालय तहमा शुल्क लिने गरिएको, परीक्षा प्रणाली ब्यवस्थित हुन नसकेको, केही विद्यालयमा अनियमितता भएको, विकास साँझेदारबाट पुर्ननिर्माण गरिने भुकम्पले क्षतिग्रस्त विद्यालय भवन छनौटमा पक्षपात गरेको लगायतका सवाल सरोकारवालाले उठाएका थिए ।
माध्यमिक तहसम्मको निशुल्क शिक्षाको प्रावधान विपरित धेरै विद्यालयहरुमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो प्राप्त भएकाले आगामी दिनमा शुल्क नलिन सम्बन्धित विद्यालयलाइ निर्देशन गर्ने, निर्देशन कार्यान्वयन नभएमा कानुनी कार्वाही गर्ने, विद्यालयमा हुने परिक्षालाइ थप व्यवस्थित गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ र शिक्षकहरुको क्षमता अविबृद्धिका लागि आवश्यक पहल गर्ने, पालिकाबाट शैक्षिक प्रोफाइल तथा शैक्षिक योजना तर्जुमा गर्ने, विद्यालय पहुँच बाहिर रहेका विद्यार्थीहरुलाइ विद्यालयको सिमाभित्र ल्याउन तत्काल कार्ययोजना निर्माण गरि लागु गर्ने, समतामुलक र गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि सबै सरोकारवालाहरुले सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । नगरप्रमुख डम्बर बहादुर रावत, नगरशिक्षा शाखा प्रमुख बलवीर विक, प्रमुख प्रशासकिय अधिकृत गोपाल शाही लगायतले उक्त सार्वजनिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको ‘बालिका सशक्तिकरण’ परियोजनाको कार्यक्रम संयोजक निर्मला थापाले जानकारी दिएकी छन् । अधिकारवाला र सर्वसाधारण बीचमा रहेको आपसी अविस्वास, असन्तुष्टि र बेमेलका कुराहरुका बारेमा छलफल गरी अविश्वासको दुरी घटाउने उदेश्यले सार्वजनिक सुनुवाइ तथा खुल्ला शैक्षिक सम्वादको आयोजना गरिएका उनले बताइन ।


