राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको सात महिना पुग्न लाग्दा पनि भुकम्प पिडितले अस्थायी आवासको दोस्रो किस्ताको अनुदान पाउन सकेका छैनन् । भुकम्पले घरवार विहिन भएका जाजरकोट र रुकुम पश्चिमका बासिन्दाले यतिवेला सम्म पुर्ननिर्माण भएर स्थायी घरमा सरि सक्ने योजना बनाएका थिए । तर सरकारले उपलब्ध गराउने घोषणा गरेको अस्थायी आवासकै दोस्रो किस्ता पाउन सकेका छैनन् । साहुऋण गरेर अस्थायी टहरा बनाएका पिडितहरु सरकारले दिने भनेको रकम नदिँदा समस्या परेका छन् । एकातिर दोस्रो किस्ता पाउन सकेका छैनन् भने अर्कोतिर टिनले बनाएको अस्थायी घरमा बस्ने निकै समस्या परिरहेको पिडितको गुनासो छ । गर्मी बढ्दै गईरहेको छ । टिन तात्तिएर घर भित्र बस्नै सकिदैन भेरी नगरपालिका २ का गणेश कामी भन्छन्–‘दिनभर टिनले पोल्छ । रात परेपछि मात्र टिन चिसिन्छ । दिन काट्न निकै मुस्किल छ । अहिले सम्म दोस्रो किस्ता पनि पाउन सकेका छैनौ । सरकारले केही मद्दत गरे यतिवेला सम्म पक्की घर बनाइ सकौला भन्ने सोचेका थियौ तर अस्थायी आवासकै २५ हजार अझै पाएका छैनौ । कहिले सम्म यस्तो कष्ट सहुन पर्ने हो टुंगो छैन ।’ उनी जस्तै हजारौ पिडितको अवस्था यही हो । गर्मी बढे सँगै टिनको घरमा बस्न निकै कठिन भएको छ ।
जाजरकोटमा कुल ४२ हजार ५ सय २४ लाभग्राही रहेकोमा अहिलेसम्म ३४ हजार ७ सय अस्थायी आवास निर्माण गरिएको छ । संघसंस्थाहरुले एक हजार ९५४ अस्थायी आवास निर्माण गरेका छन् भने पालिका वा सरकारी पक्षले ३२ हजार ५ सय २६ अस्थायी आवास निर्माण गरेका छन् । स्थानिय प्रशासनको तथ्यांक अनुसार पहिलो किस्ताका लागि ४० हजार ३८४ भूकम्प पीडितले पालिका सँग सम्झौता गरेर २५ हजार अनुदान लिएका छन् । तर अहिले सम्म सरकारी निकायबाट दोस्रो किस्ताको रकम एक जनाले पनि पाउन सकेका छैनन् । सरकारले दोस्रो किस्ताका लागि पठाएको रकम जिल्ला विपद न्युनिकरण तथा ब्यवस्थापन समितिको खातामा थन्किएको छ । झंन्झटिलो कार्यविधिका कारण पालिकाहरुले अहिले सम्म दोस्रो किस्ताको रकम माग नै गर्न सकेका छैनन् । विपद पार्टलमा अस्थायी आवास निर्माण गरेको देखि भत्काएको घरको फोटो, वडाध्यक्षको सिफारिस, लगायतका कागजात इन्ट्री गर्नु पर्ने प्रावधान राखिएको छ । जसले गर्दा कतिपयले विपद पोर्टलमा इन्ट्री गर्ने काम नै सकेका छैनन् । शिवालय गाँउपालिकाले दोस्रो किस्ता माग गरेको छ तर पोर्टलमा इन्ट्री भए नभएको एकिन गर्ने प्राविधिक ज्ञान नभएका कारण राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा दोस्रो किस्ता निकासाका लागि एकिन गर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सुचना अधिकारी प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए । उनले कतिपय पालिकामा इन्टरनेटको समस्या भएका कारण पनि विपद पोर्टलमा इन्ट्री गर्न ढिलाई भएको बताए । जुनीचाँदे गाँउपालिकाले इन्टरनेट समस्याका कारण कतिपय फारम सुर्खेत लिएर इन्ट्री गर्न बाध्य भएको प्रशासकिय अधिकृत शर्माले बताए ।
सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले सात महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ । कात्तिक १७ गतेको भूकम्पले घरबारविहीन भएका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो किस्ता बापत सरकारले २५ हजार प्रदान गरेको थियो । भेरी नगरपालिका–१, रिम्नाकी गौमती रानाले दोस्रो किस्ता रकम पाएपछि ऋण तिरौँला भनेर आवास निर्माण गरिए पनि दोस्रो किस्ता नपाएपछि समस्या भएको बताईन् । टिनले पोलेर हैरान पारेको उनको गुनासो छ । यहाँ नबसौ कहाँ जाने । विकल्प केही छैन । भएको घर भुकम्पले भत्कियो । नयाँ बनाउने पैसा छैन । अस्थायी आवास भनेर बनाएको टिनको घर निल्नु न ओकल्नु भएको छ उनले पिडा पोखिन । आर्थिक अवस्था कमजोर भएका गरिब, दलित, विपन्न वर्गका मानिसहरु बढी समस्यामा परेका छन् ।
भेरी नगरपालिका २ कि पद्मी नेपालीले दोस्रो किस्ताबापतको २५ हजार पाएपछि साहु तिरौँला भनेर बसेको महिनौँ बिते पनि स्थानीय सरकारले चासो नदिएको गुनासो गरिन । अस्थायी आवासकै अनुदान पाउन ढिलाइ भएपछि स्थायी आवास सहजै बन्नेमा भूकम्प प्रभावित विश्वस्त छैनन् । अहिले टिनले पोल्छ बस्नै गाह्रो भैरहेको छ । अव बर्खा आउन लागेको छ, अस्थायी आवासमा बर्खा काट्न मुस्किल हुने उनको भनाई छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले दोस्रो किस्ता रकम वितरणका लागि पालिकाहरुलाई ताकेता गरिएको बताए । रकम विपद ब्यवस्थापन समितिको खातामा थन्किएको छ । अहिले सम्म माग नै गर्न आउनु भएको छैन । माग गरि आएको शिवालयको रकम निकासा लागि प्राधिकरणमा सोधी पठाएका छौ । छिटै दोस्रो किस्ता रकम वितरण गर्ने तयारीमा छौ उनले भने ।