April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

भेरी नगरपालिकाले भुकम्प प्रतिकार्यमा सहयोग गर्ने निकायलाई गर्यो सम्मान

प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिकाले भुुकम्प प्रतिकार्यमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि उद्धार, राहत, पुर्ननिर्माण र पुनर्निर्माणमा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । नेपाल रेडक्रस सोसाईटी, पहाडी क्षेत्र विकास अभियान, पाँचतारा युवा संरक्षक मन्च, यार्सन, युएनडिपी, युनिसेफ, सेभ द चिल्ड्रेन, सोसेक नेपाल, वल्र्डभिजन लगायतका संघसंस्थालाई सम्मान गरिएको हो ।
भूकम्पपछि सुचना सम्प्रेषण गरेर सहयोग जुटाउन महत्वपुर्ण योगदान गरेको भन्दै जिल्लाका एक दर्जन बढी संचारगृहलाई सम्मान गरिएको छ । जिल्ला स्थित रेडियो, पत्रिका र अनलाइन मिडियालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । अप्ठ्यारो परिस्थितिमा सहयोग गरेर अतुलनीय योगदान पुर्याउनु भएको छ, सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सिपी घर्तीले भने ‘उहाँहरुको सहयोगको उच्च मुल्यांकन गर्दै यो सम्मान गरेका छौं । सहयोगी हातहरु सँग सधै हातेमालो गर्न हामी तयार छौ ।’ खोज, उद्धार र राहत वितरण एकदमै तिव्र गतिमा गर्न सफल भयौ । घटना लगत्तै हामी जनप्रतिनिधी र कर्मचारी साथीहरु फिल्डमा खटियौ । सवैको साथ र सहयोग पायौ उनले भने ‘नागरिकलाई अफ्ठयारो परेको बेला जोगाउनु र सहयोग गर्नु हाम्रो धर्म र कर्तब्य हो ।’
भूकम्प पछिको बाकी काम संगै विभिन्न समयमा आइपर्ने अन्य संकटहरुमा पनि आफुहरुले सहयोगी निकायबाट सोही किसिमको सहयोगको अपेक्षा गरेको नगरप्रमुख घर्तीको भनाई छ । सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले सवैको सहयोगले नै हामी पहिलो चरणको खोज, उद्धार र राहत वितरण सहज रुपमा गर्न सफल भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा र विपद् ब्यवस्थापन शाखाका प्रमुख यज्ञ गौतमले आफ्नो धारणा राखेका थिए । सम्मानित संघ संस्थालाई नगरप्रमुख घर्ती र उपप्रमुख सिता जैसीले खादा र सम्मान पत्रले सम्मान गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad