जाजरकोट भुकम्प र जन्म थलो प्रतिको मेरो माया

lagu ausadhi biruddha abhiyan jajarkot

निरज शाह । काठ्मान्डौ

गत कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जादा गएको ६ दशमलव ४ रेक्टर स्केलको पापी भूकम्पले मेरो जन्मथलो जाजरकोट र विशेष गरेर मेरो आफ्नै गाउँ डाडागाउँ र वरिपरिका बस्तीहरूलाई नराम्रो संग ध्वस्त पार्यो । मेरो आफ्नै नगरपालिका नलगाड नगरपालिकामा मात्रै ५० जना भन्दा बढी व्यक्तिहरुले तिहारको पूवसन्ध्यामा ज्यान गुमाए भने धेरै घाईते भए । हजारौं घरहरु काम नलाग्ने गरेर भत्किए ।

धेरै वर्षदेखि काठमाडौँमा नै स्थायी रुपमा वसोवास गरिरहेको र राजनीतिक रुपमा पनि सक्रिय नरहेको म जस्ताको लागि तिहार र दीपावली तथा लक्ष्मीपूजा समेत नमनाएरै भूकम्प प्रभावित मेरो गाउँमा नगएपनि खासै केही फरक पर्ने थिएन मलाई ब्यक्तिगत रुपमा तथापी, आफु जन्मेको माटोलाई दुख्दा आफ्नो मनमुटू नदुखी कहाँ रहन सक्दो रहेछ र ? त्यसैले म लगायत परिवारका ४ जना सदस्यहरु छोरी डा. अभिलाशा शाह, मेडिकल ब्यबसायी ज्वाई रुपाल जोशी, र छोरा निशान्त जंग शाह समेत आफ्नै गाडीमा आवश्यक औषधि, सहयोगका लागि केहि थान ब्लान्केट र केहि राहत रकम सहित कार्तिक २६ गते त्यसतर्फ प्रस्थान गरेका गर्यौ । जन्मथलोमा दुःख परेको बेला तिहार नमनाउने निर्णय सहित हामी जाजरकोट गयौ । सोहि अनुसार काठ्मान्डौबाट हामीले प्रस्थान गरेको दिन दिपावली थियो । हाम्रो मन जस्तै सडक सुनसान थियो तर बाटोमा पर्ने सहरहरु जस्तै नारायणघाट, बर्दघाट, परासी बजार, भैरहवा, तौलिहवा, गोरोसिंगे, भालुबाङ सबै दिपावलीको प्रकाशमा झलमल थिए । हाम्रो यात्रा अविरल सुनसान चली रह्यो । मनमा मृतक र घाईतेहरुको चित्कार प्रतिध्वनित भैरह्यो ।
दोश्रो दिन साँझ ५ बजे तीर हामी नलगाड नगरपालिकाको केन्द्र दल्ली पुगेर त्यहि बास बस्यौ ।

हामी नलगाड नगरपालिका वार्ड न. १ को चिउरी, कल्पत र पालि, वार्ड न. २ को डाडागाउँ, वार्ड न. ३ को कैना, कटके, वार्ड न. ५ को कालिमाटी र वार्ड न. ७ को दल्ली लगायतका गाँउ पुग्यौ । यी सवै वडाहरुमा एक दिने निशुल्क स्वास्थ्य सिविर संचालन गर्नुका साथै मृतक परिवारलाई ब्लान्केट तथा प्रति मृतक रु. १० हजार नगद राहत समेत वितरण गर्यौ । भुकम्प प्रभावित विभिन्न गाँउ संचालन गरिएका शिविरमा छोरी डा. अभिलाशाले उपचार गरिन । थोरै भएपनि मातृभुमिलाई दुखेको बेला, विपदमा परेको बेला सहयोग गर्न पाइयो । दुःखमा परेका आफ्नो जन्मथलोका बासिन्दालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि पनि मिल्दो रहेछ । यस कार्यमा मलाई सहयोग गर्ने अमृत साईन्स कलेजका मेरा पूर्व अस्कले साथीहरु, लोकप्रिय गायक शिव परियार, क्यानाडामा वसोवास गर्नुहुने समाजसेवी ज्वाई कर्ण बटाला र नातिनी ज्ञानु शाह तथा अमेरिकामा वसोवास गर्ने हाम्रो बुहारी श्रुति राणा शाह र पारिवारिक नातेदार दिक्पाल जोशी सबै धन्यवादका पात्र छन् ।

भूकम्प प्रताडित जाजरकोट चिउरीकी ८ वर्षिया दलित केटी प्रेमकली !

गत कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जादा जाजरकोटको बारेकोट, रामीडाडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भोलिपल्ट देखिनै जाजरकोट मेरो राडरमा थियो । विशेष गरेर जाजरकोटको कुनकुन ठाउँमा केकति मानवीय क्षति भयो त्यो जानकारी लिने कोशिसमा थिएँ म । १९ गते नलगाड नगरपालिकाले जारी गरेको आफ्नो १३ वटा वडामा मृत्यू भएका ५२ जना मृतकहरुको आधिकारिक सूची नेटबाट डाउनलोड गरिसकेको थिएँ । ती ५२ जना मृतकहरु मध्य सबभन्दा धेरै १३ जना वडा न. १ को दलित बस्ति चिउरीका थिएँ । ती १३ जना मध्य पनि ४ जना यौटै परिवारका थिए । ५५ वर्षीय हिरे कामी, निजकी श्रीमती ४५ वर्षीय चन्द्र कामी, छोराहरु १४ वर्षीय सुनिल बि.क. र १२ वर्षीय विमल बि.क.को मृत्यू भएको थियो । बाँच्नेहरु मध्य सबभन्दा कान्छी छोरी ८ वर्षिया प्रेमकली बि. क., प्रेमकलीकी १ जना बुढी बज्यै र भारतमा रोजगारी गरिरहेको प्रेमकलीको सबभन्दा जेठो दाई थियो जो भूकम्प जादा त्यहाँ नभएकोले बाँच्न सफल भएको थियो ।

कार्तिक ३० गते डा. अभिलाशाको मेडिकल टिम र केहि नगद राहत सहित दल्लीबाट चिउरी तर्फ प्रस्थान गर्दैगर्दा मेरो मनमस्तिष्कमा प्रेमकली थिई । लागिरहेको थियो, दैव पनि कति निष्ठुरी हुन सकेको होला । आफ्नी आमाको न्यानो अंगालोमा सुतेरहेकी यौटी अवोध बालिकाकी आमा अनि बाबा र दुई जना आफु सरहका दाईहरुलाई कसरि चुडेर लान सकेको होला ? यस्तै……..यस्तै सोचले बाटो कटेको थाहा नै भएन छ िभत्केका घरै घरहरुको बिचमा त्रिपालहरुको बस्तिबिच वडा अध्यक्ष धविंद्र महर र वहाको टोलीले स्वागत गर्दा झसंग भएको थिए म ।

औपचारिक परिचय र आफ्नो भ्रमणको छोटकरी उद्देश्य प्रष्ट पारिसकेपछी पहिले मृतक परिवारहरुलाई नगद राहात वितरण गर्ने र त्यसपछि डा. अभिलाशा र उनको टिमबाट नि;शुल्क स्वस्थ सिविर संचालन गर्ने कार्यक्रम अनुसार शुरुमै प्रेमकलीलाई बोलाउन मैले गरेको आग्रह अनुसार प्रेमकली नगद राहतको खाम मेरो हातबाट लिनको लागि मेरो सामु हात जोडेर उभीएकी थिई । त्यो क्षण मेरो लागि अत्यन्त पीडादायी थियो । मेरो गला अवरुद्ध थियो । म बोल्न सकिरहेको थिईन । आर्शिवाद स्वरूप मैले केवल उसको अवोध गालामा थपथपाउन मात्र सकेको थिएँ । राहत लिएर ऊ गैसकेपछि मात्र म सहज हुन सकेको थिएँ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad