राजेन्द्र कार्की । जाजरकोट
सरकारले एक महिना भित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको भएपनि दुई महिना वित्दा पनि ९ हजार परिवारले मात्र अस्थायी आवास बनाएका छन् । अस्थायी आवास बनिसकेका परिवार पनि उक्त टहरा भित्र सर्न सकेका छैनन् । सरकारले अस्थायी आवासका लागि भुकम्प पिडितलाई दिने ५० हजार अनुदान मध्य अहिले सम्म पहिलो किस्ता १६ हजार ६३ परिवारले मात्र पाएका छन् । करीब २० हजार परिवारले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।
जाजरकोटमा ३५ हजार १ सय ४० लाभग्राही कायम भएका छन् । त्यसमध्य अझै २६ हजार अस्थायी आवास बन्न बाँकी नै छन् । हिउँद जान लाग्दा पनि सरकारी ढिलासुस्तीले भुकम्प पिडितहरु त्रिपालको चिसोमै रात काट्न बाध्य छन् । भुकम्पले बाँचेपनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पिडितहरुलाई सताईरहेको छ । बैक खाता खोल्नु पर्ने, देशका अन्य ठाँउमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भुकम्प पिडितले अहिले सम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन् । अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको जुनीचाँदे ४ का हरि बहादुर खड्काले बताए ।
धेरै भुकम्प पिडितहरु अहिले पनि खाता खोल्नकै लागि बैकमा भिड लाग्नु पर्ने बाध्यतामा छन् । सामाजिक सुरक्षा खातामा रकम हाल्न बैकले नमानेपछि र नगदै रकम दिन सरकार तयार नभएपछि पिडितहरु घण्टौ पैदल हिडेर बैकमा गएर लाईन लाग्न बाध्य छन् । कतिपय पालिकामा कर्मचारी नहुँदा रकम निकासामा ढिलाई भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट पालिकाहरुको खातामा निकासा भएको ८४ करोड ९५ लाख ७५ हजारमध्ये २५ करोड २३ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिएको छ ।
चिसो बढिरहेको छ । अस्थायी आवासको काम भने कछुवा गतिमा भैरहेको छ । अहिले सम्म १९ हजार ७७ परिवारले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । ८४ करोड ९५ लाख ७५ हजार विभिन्न पालिकाको खातामा अस्थायी आवासका लागि रकम गएपनि हाल सम्म १६ हजार ६३ लाभग्राहीको खातामा ४० करोड १५ लाख ७५ हजार मात्र गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । हाल सम्म जिल्लाभर ९ हजार १ सय ६९ अस्थायी टहरा बनेका छन् । तर अधिकांश टहरामा अझै पिडित सर्न सकेका छैनन् । अस्थायी आवासका लागि आवश्यक मालसमान र मजदुरको समेत अभाव हुँदा निर्माण कार्यमा ढिलाई भएको भेरी नगरपालिका ४ का वडाध्यक्ष बसन्त प्रसाद शर्माले बताए ।


