July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

जाजरकोटमा चिसोले रुघाखोकी, पखाला, निमोनिया र दमका रोगी बढे

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

त्रिपालमा बस्दै आएकी जाजरकोट कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको उपचार अभावमा बुधबार मृत्यु भयो । विरामी परेपनि उपचारमा वेवास्ता हुँदा उनले अकालमा ज्यान गुमाउनु परेको हो ।

मंसिर १७ गते सुत्केरी भएकी विपन्नताका कारण उनले पेटभरी खाना पनि नपाउने अवस्था थियो । विहान बेलुकाको छाक टार्न समेत धौ धौ पथ्र्यो । भुकम्पले घरमा क्षति पुगेपछि गर्भवति श्रीमती सहित त्रिपालमा बस्दै आएका थियौ श्रीमान गोपे सुनारले भने ‘चिसोले मुख र जीउ सुन्निएको थियो । सुत्केरी भएदेखि नै विरामी थिईन । ठिक भैहाल्ला भनेर गाँउघरकै सामान्य ओख्तोमुलो गर्न तिर लाग्यौ । एक्कासी यसरी प्राण जाला भन्ने ठानेका थिएनौ । के गर्ने म अभागीको जीवन साहारा खोसियो । भुकम्पले बाँचे पनि चिसोले बचाउन सकिएन ।’
स्वास्थ्य संस्था नाम मात्रका छन् । त्यहाँ लिएपनि राम्रो सँग उपचार हुँदैन । अलि सुविधा सम्पन्न अस्पताल लिने पैसा थिएन । त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौ तर सन्चो नभएरै श्रीमतिको प्राण गयो श्रीमान गोपेले भने ‘म अभागीलाई दैव लागे । म अव कसरी दुई बर्षको छोरा र २५ दिनको छोरालाई स्याहारौ ।’ चिसो निकै छ । ज्याला मजदुरी गरी गुजरा चलाउँदै आएका उनले भने ‘घरमा खानेकुरा पनि केही छैन । भुकम्पका पछि काममा पनि जान पाएको छैन । मेरो त विजोग भयो, कसरी बाँचु ? ।’

कल्पना सहित चिसोकै कारण जाजरकोटमा तीन बालबालिका सहित ३० जना र रुकुम पश्चिममा ५ जना गरी ३५ जनाको ज्यान गैसकेको छ । मृत्यु हुनेहरु धेरैजसो निमोनिया र दमका रोगीहरु रहेका छन् । चिसोले गर्दा निमोनिया र दमका रोगीलाई निकै असर गर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।
चिसोका कारण जिल्लाभर स्वासप्रश्वास, निमोनिया, पखाला र दमका विरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाँउ पालिकामा चिसोका कारण हुने विरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । भुकम्प पछि त्रिपालको बसाईले चिसोका विरामी बढ्दै गएको नलगाड स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए । नलगाडमा एक सय भन्दा बढी चिसोका कारण हुने रोगका विरामी दिनहुँ उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताए ।
चिसो दिनप्रतिदिन बढिरहेको छ । चिसोले निकै सताएको नलगाड नगरपालिका ७ कि माया बादीले बताईन । उनले चिसोले गर्दा टाउको दुख्ने पखाला लाग्ने, रुघाखोकी लाग्ने लगायतका समस्या देखिएको बताईन । त्रिपालको सितले विहान अनुहार सुनिएको हुन्छ उनले भनिन भुकम्पले बाँचे पनि चिसोले निकै सताईरहेको छ । नलगाड खोला किनारमा ३५ घरधुरी बादी बस्ती छ । त्यहाँ घरै पिच्छे विरामी छन् । बच्चाबच्ची र बुढाबुढी सवै विरामी छन् । साता बच्चालाई निमोनिया र बृद्धलाई दमले सताएको छ स्थानिय रमेश बादीले भने ‘रोघाखोकी, पखाला, ज्वरो त सामान्य भैसक्यो । सवै विरामी छन् ।’

नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाँउ लगायतका गाँउमा चिसोका विरामी बढेको जनस्वास्थ्य निरीक्षक चदाराले बताए । नगर अस्पताल दल्लीमा कार्यरत डा. विशाल उप्रेती विदामा बसेको र विरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पताल जाजरकोटबाट डा.अविनव टिंकरीलाई पठाईएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले बताईन । जिल्लाभर चिसोका विरामी बढेका छन् । अरु ठाँउ भन्दा नलगाडमा विरामीको चाप निकै बढेको छ । स्वास्थ्य संस्थामा चिसोका विरामी बढेका छन् । जिल्लाका सवै स्वास्थ्य संस्थामा करीब चार सयको हाराहारीमा चिसोका विरामी उपचारका लागि आउने गरेका डा. भारतीको भनाई छ । प्रकोपकै रुपमा देखा नपरेपनि पखाला, निमोनिया, दम र रुघाखोकीले धेरै भुकम्प पिडितलाई थला पारेको छ । हामीले उपचारको ब्यवस्था मिलाईरहेका छौ उनले भनिन ‘कुनै पनि रोगको आउट ब्रेक हुन नदिन हामी सतर्क छौ ।’

जुनीचाँदेमा सिटामोल समेत छैन

जुनीचाँदे गाँउपालिका ५ कि कमला शाही ज्वरोले थलिएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट गईन । तर औषधी नहुँदा उनले सिटामोल समेत पाउन सकिनन् । रित्तो हात फर्कन बाध्य भईन । त्रिपालको चिसोले गर्दा ज्वरो आएर अस्पताल गए तर औषधी नै नपाएको उनको गुनासो छ । यस अघि निशुल्क पाईने औषधी नपाउँदा स्थानिय समस्यामा परेका छन् । स्वास्थ्य संस्थामा औषधी नहुँदा विरामी उपचारका लागि आउन समेत छोडेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका इन्चार्ज विनोद कुमार बुढाले बताए । ६ महिना देखि स्वास्थ्य संस्थामा औषधी आएको छैन । पटक पटक माग गर्दा पनि सुनुवाई भएन उनले भने चिसोका विरामी बढेका छन् । ज्वरो, टाइफाईड, निमोनिया, पखाला, दम लगायतका रोगका विरामी बढेका छन् तर सिटामोल, जीवनजल, एडवान्डाजोल, मेट्रोनिराजोल लगायतका सामान्य खालका औषधी समेत छैन ।
जुनीचाँदेका कुनैपनि स्वास्थ्य संस्थामा औषधी छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्थामा औषधी नहुँदा उपचार सेवा प्रभावित भएको छ । उपचारका लागि आउने विरामी रित्तै फर्कन बाध्य छन् । पालिकाले बुधवार मात्र औषधीको लागि टेन्डर गरेको छ भने विहिवार जिल्ला स्वास्थ्य कार्यालयमा औषधी माग गरेको छ । जुनीचाँदेबाट सिटामोल, जीवनजल, बालभिटा, एल्वेन्डाजोल, मेट्रो निराजोल लगायतका औषधी माग गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भारतीले बताईन । स्वास्थ्य शाखाको लापरवाही र जनप्रतिनिधीको उदासिनताका कारण समयमा औषधी खरीद र आपुर्तीको काम हुन नसकेको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad