राजेन्द्र कार्की
जाजरकोट — भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । त्रिपालमुनी बस्दै आएकी एक महिने सुत्केरी चँदारा त्रिपालको बसाइले गर्दा केही दिन देखि रुघाखोकी र ज्वरोको विरामी थिईन । चिसोले गर्दा विरामी परेकी उनको समयमा उपचार नगर्दा ज्यान गएको नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताए । उनले भने, ’घर बाहिर त्रिपालमुनि बस्दै आएकी ति सुत्केरी विरामी रहिछन् । हामीलाई थाह भएन । मृत्यु भैसकेपछि मात्र थाह पायौ । चिसोले धेरै बालबालिका र सुत्केरी विरामी परेका छन् ।’ आमाको मृत्य पछि एक महिनाकी छोरीको विचल्ली भएको छ ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ । भुकम्प पछि त्रिपालमा बस्दै आएका १३ बृद्धबृदा तथा दिर्घरोगी, एक बालक र एक सुत्केरी गरी १५ जनाको चिसोकै कारण ज्यान गईसकेको छ ।
सवैभन्दा बढी क्षति भएको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाँउपालिका र कुशे गाँउपालिकामा गर्भवति, सुत्केरी, बालबालिका, दिर्घरोगी,जेष्ठ नागरिक र अपाङ्ग बढी प्रभावित भएको स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर प्रतिक्षा भारतीले बताईन । भुकम्पका कारण त्रिपालमा बस्नु पर्दा चिसोले जोखिम समुहमा रहेका नागरिकहरु निकै समस्यामा छन् । निमोनिया, स्वासप्रस्वास सम्बन्धी समस्या, झाडापखाला, ज्वरो, दम लगायतका समस्या लिएर स्वास्थ्य संस्था आउनेको संख्या बढिरहेको उनले बताईन । धेरैजसो बालबालिका र सुत्केरीमा कुनै न कुनै समस्या देखिएको छ । चिसोले सताईरहेको छ । विरामी पनि बढिरहेका छन् । उनले भनिन्–‘हामीले उपचारको ब्यवस्था पनि मिलाईरहेका छौ तर जनशक्ति भौगोलिक विकटता लगायतका कारणले प्रभावित बसेको ठाँउ पुग्न सकिरहेका छैनौ । चिसो बढे सँगै समस्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।’ कति विरामी छन् भन्ने तथ्यांक एकिन हुन नसकेपछि माथि उल्लेखित तथ्यांक नै जोखिमा रहेको संख्या भएको उनको भनाई छ ।
जिल्लाका विभिन्न स्थानमा बालबालिका, सुत्केरी र बृद्धबृद्धा विरामी हुने क्रम बढ्दै गएको जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डाक्टर दयाराम यादबले बताएका छन् । जिल्ला अस्पतालमा पनि भुकम्प प्रभावितहरु चिसोले गर्दा विरामी भएर आउने संख्या बढेको बताए । उनले नागरिकलाई चिसोबाट बचाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नु पर्ने बताए । ‘समयमै ख्याल गरिएन भने आउट व्रेक नहोला पनि भन्न सकिन्न’ उनले भने ।