राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिका २ का खम्बे दमाई गत आइतवार चामलको जोहो गर्न स्थानिय घाट बजारमा रहेको खाद्य डिपोमा पुगे । उनले गाउँमै रहेको उक्त खाद्य डिपोमा चामल पाएनन् । खाद्य डिपो बन्द हुँदा निराश भएर फर्किए । घरमा खाने अन्न नभएपछि उनी खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । उनी भन्छन् ‘हामी जस्ता समस्यामा परेका जनताका लागि सरकारले दिने सहुलियत दरको चामल भए हामीलाई सजिलो हुने थियो । सस्तो भाउमा पाइन्थ्यो । बजारको चामल किनेर खानै नसक्ने अवस्थामा छौ । कसरी जहान परिवारको छाक टारौ ।’
मुल्य बृद्धिले खाद्यान्न छोइ सक्नु छैन । नजिकमा बजार पनि छैन । कसरी खाद्यान्न जुटाउने बारेकोट ३ का प्रेमबहादुर बोहराले चाडवाड आउन थालिसके । घरमा खाने अन्न छैन । डिपोमा चामल आएको छैन । म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौ तर कहिले आउने हो केही टुगो छैन । न कर्मचारी छन् । डिपो तीन महिना देखि बन्द छ । सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानिय चर्को मुल्यको मारमा परेका छन् । बजारबाट उनीहरुले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको बारेकोट स्थित घाटमा रहेको खाद्य डिपोमा यतिवेला एक गेडो पनि चामल छैन । डिपो तीन महिना देखि बन्द छ । बारेकोट गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बारेकोट गाँउपालिकामा खाद्य संकट परेको बताए । दशै अघि नै बारेकोटको घाट डिपो र काउली विक्री केन्द्रमा सहुलियत दरको चामल पठाईदिन सम्बन्धित निकायलाई आग्रह गरे । उनले बारेकोटमा खाद्यान्न अभाब भएकोले तत्काल डिपोमा खाद्यान्न पठाउने ब्यवस्था मिलाउनका लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको बताए ।
बारेकोटमा मात्र होइन नलगाड नगरपालिका, कुशे गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकामा यतिवेला खाद्यान्न अभाव देखिएको छ । ति पालिकामा रहेका खाद्य डिपो र विक्री केन्द्र यतिवेला रित्तै छन् । जाजरकोटमा मात्र होइन कर्णालीका सुर्खेत र सल्यान बाहेकका सवै जिल्लाका खाद्य डिपो र विक्री केन्द्रमा यतिवेला खाद्य मौज्दात शुन्य छ । नयाँ बाली नपाकेको, बर्षातले ग्रामिण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा विक्रि केन्द्रमा खाद्यान्न नहुँदा दुर्गमका बासिन्दालाई यतिवेला खाद्यान्नको जोहो गर्न कठिनाई पर्न थालेको छ ।
जिल्लाका ग्रामिण भेकमा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ । स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन् । दुर्गममा चाडपर्वको बेलामा चामल अभाव हुन नदिन खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडी नबढाउँदा समस्या परेको हो । खाद्य कम्पनीले चामल ढुवानीका लागि गरेको टेण्डर अहिले सम्म स्वीकृति नगर्दा चामल ढुवानी हुन नसकेको हो । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जिल्लाका चार डिपो र चार विक्री केन्द्रमा चामल नभएको बताए । टेण्डर स्वीकृतिको काम अन्तिम चरणमा रहेको बताए । दशै अघि नै चामल ढुवानी गर्न पहल भैरहेको उनको भनाई छ । जाजरकोटमा यस बर्ष ६ हजार क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ । सरकारले चामलको ढुवानीमा अनुदान दिने गरेको छ । जिल्ला सदरमुकाममा ६ सय ६० क्वीन्टल महिनो चामल मात्र मौज्दात छ । मोटो चामलको माग धेरै छ तर चामल छैन प्रमुख पौडेलले भने ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, भारतले चामल आयातमा गरेको प्रतिबन्ध र खरिद तथा ढुवानीका लागि टेन्डर प्रक्रियामा भएको ढिलाइले गर्दा दुर्गमका डिपो र बिक्री केन्द्रमा चामल सकिएको कम्पनीले जनाएको छ ।
दशैं अघि डिपोमा चामल पुग्ने सरकारी दावी
कर्णालीका दुर्गममा उत्पादन नै नहुने र भएको अन्नले पनि वर्षभरि खान नपुग्ने अवस्था छ । दुर्गमका बासिन्दाका लागि सरकारले नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आइरहेको छ । पछिल्लो समय कर्णालीका सवै डिपो र बिक्री केन्द्रमा सहुलियतको चामल सकिएको छ । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले नजिकिँदै गरेका चाडपर्वमा दुर्गममा चामलको अभाव हुन नदिन ढुवानी सुरु गरेको जनाएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि चार हजार क्विन्टल चामल तिब्बतको बाटो हुँदै पठाइको छ । जुम्ला ११ सय क्वीन्टल, मुगु ७ सय ७० क्वीन्टल र कालिकोट एक सय ७० क्वीन्टल चामल ढुवानी गरिएको सुर्खेत स्थित खाद्य कम्पनीको प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले बताए । टेण्डर स्वीकृति भएपछि निर्धारित कोटा मिलान गर्ने गरि सोही दरमा चामल ढुवानीको प्रक्रिया थालिएको मिश्रले बताए । उनले दशै अघि नै कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, कालिकोट, दैलेख, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशको बाजुराका खाद्य डिपो र विक्री केन्द्रहरु सम्म चामल पुरयाउन पहल भैरहेको दावी गरे ।
मिश्रले भने, ‘दुर्गमका बासिन्दाले यसपालि चाडपर्वमा सहजै चामल पाउनेछन्, यसका लागि हामीले अहिलेबाटै ढुवानी सुरु गरिसकेका छौं। दुर्गमबाट माग धेरै आएकाले स्टक भएको चामल सकिएको हो, हामीले नयाँ चामल खरिदका लागि पनि प्रक्रिया अगाडि बढाइसकेका छौं।’ उनले यसपालि दुर्गमका बासिन्दालाई चाडपर्वमा चामलको अभाव नहुने दाबी गरे । हुम्लाका लागि तिब्बतको बाटोबाट चामल पठाइएको भन्दै उनले बाँकी जिल्लाका लागि सुर्खेतबाटै ढुवानी भैरहेको बताए । खाद्य कम्पनीको सुर्खेत कार्यालयले दुर्गमका बासिन्दालाई ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रका लागि चामल पठाउने गरेको छ । अन्य डिपो र विक्री केन्द्रका लागि जिल्लाबाटै ढुवानीको ब्यवस्था मिलाउने मिश्रले बताए ।
सरकारको फितलो तयारी र बेवास्ताले दुर्गममा हरेक वर्ष चामलको अभाव हुने गरेको छ । समयमै ढुवानी नहुँदा चाडपर्वका बेला पनि चामल नपाईने हो भनेर दुर्गमका बासिन्दामा सधै पिरलो देखिने गरेको छ ।


