राजेन्द्र कार्की । जाजरकोट
अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका– ७ समाईलाकी ४० वर्षीया जानुका नेपालीको रक्तस्राव नरोकिदा मृत्यु भएको हो । बच्चा जन्माएको ६ घण्टा सम्म पनि साल नझरेपछि उनको ज्यान गएको वडा सदस्य मानबहादुर विकले बताए । बच्चा जन्मिएको ६ घण्टा सम्म पनि साल नझर्दा धेरै रगत बग्यो जसका कारण उनको अकालमै ज्यान गयो विकले भने–‘समयमा स्वास्थ्य संस्था लिन सकेको भए उनको ज्यान जोगिने थियो । हेलचक्राई र लापरवाहीले उनको अकालमा ज्यान गयो ।’
विहीबार विहान ५ बजे नेपालीले घरमै छोरीको जन्म दिएकी थिईन तर लामो समय सम्म साल नझरेपछि उनको विहिवार दिउसो ११ बजे मृत्यु भएको हो । उनका श्रीमान घरमा नभएको र घरका अरु परिवारले समयमा स्वास्थ्य संस्था लिन नसक्दा उनी घरमै सुत्केरी हुन बाध्य भएकी थिईन । सवैभन्दा नजिकको स्वास्थ्य संस्था पुग्न कम्तिमा ३ घण्टा पैदल हिड्नुपर्छ । सोही वडाको घरंगा भन्न ठाँउमा स्वास्थ्य चौकी छ तर सुत्केरी ब्यथा लागेपनि उनलाई स्वास्थ्य संस्था लगिएन । यस अघि उनका तीन छोरी र एक छोरा छन् । यसपटक जन्मिएकी छोरी जीवितै रहेकी छन् । उनको अवस्था सामान्य छ ।


