माया घर्ती(पन्त) । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका —४ बाउसेखोलाका ६४ वर्षीय जय बहादुर खड्का एक सातादेखि ज्वरोले थला परेका छन् । कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाटी दुख्नेजस्ता समस्याबाट थलिएका छन । सोहि ठाउँका ३७ वर्षीय गणेश विक, ३९ बर्षिया धनसरा विक, ४५ बर्षिया निर्मला रोकाय, दलबहादुर रोकाय लगाएत पनि ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्नेलगायत समस्याबाट ओछ्यानमै सुतेको १० दिन बित्यो । उनीहरु पहिलो चोटी ज्वरोले ओछ्यानमै थला परेका हुन । खानामा पटक्कै रुची छैन, विरामी दलबहादुर रोकायले भने ‘जीउ कट्कटी दुख्छ । टाउको दुख्छ, घाँटी पाकेको छ ,निल्नै सकिदैन ।’
त्यसैगरी नलगाड ४ खालचौरका महेन्द्र रावलका पाँच जनाको परिवार पनि भाईरल ज्वरोबाट एक साता देखि ओछ्यानमा ढलेका छन । नलगाडका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण बाउसेखोला, दारफाका, भातचिउरा, खालचौर, ओवा, भेरीखर्क, औलसिमा, पाटा, कोठीगाउँलगायत स्थानमा घरघरै बिरामी परेका छन् । गाउँमा बालकदेखि बृद्धसम्मलाई ज्वरोले सताएको स्थानीय स्वास्थ्य चौकी लहँका इन्चार्ज भुपेन्द्रराज गिरीले बताए । सबै घरमा बिरामी छन उनले भने, ‘एउटै घरमा ६ जनासम्म बिरामी परेका छन् । स्वास्थ्यचौकीमा दैनिक एक सय जति विरामी उपचारका लागि आउने गरेका छन उनले भने । विरामीको चाप धेरै छ औषधि अभाव हुँदा उपचारमा केहि समस्या छ, उनले भने । सरकारी स्वास्थ्यसंथाको औषधिले विरामी निको नभएपछि अधिकांश बिरामीलाई चेकजाँच गर्न निजी मेडिकलमा गएर महँगोमा औषधि उपचार गर्नु परेको विरामी अमरिका रावलले गुनासो गरिन । आफुले नलगाड ३ कैना गएर ५ हजारको औषधी उपचार गरेको बताउदै औषधी खाएर पनि निको नभएको उनको भनाइ छ । बिरामीको संख्या बृद्धि हुन थालेपछि खेतीपातीको काममा समेत असहज भएको स्थानीय दलबहादुर खत्रीले बताए ।
घरघरमै गएर उपचार
वडा भर ज्वरोका बिरामी बढेपछि वडा अध्यक्ष बद्री पन्तले स्वास्थ्यकर्मीलाई घरघरमा लगेर विरामीहरुको उपचारको व्यवस्था गरेका छन । अध्यक्ष पन्तले सोमबार दल्ली गएर इन्जेक्सन लगाएत औषधी ल्याइ मंगलबार विहानै इन्र्चाज गिरीलाई लिएर बाउसेखोला स्थित गणेश विकको घरमा गएर ६ जना विरामीको उपचार गराए । यसरी घरघरमै गएर ५० भन्दा बढी विरामीहरुको उपचार सेवा गरेको वडा अध्यक्ष पन्तले भने । अहिले मौसमी ज्वरो र रुघाखोकीले विरामीलाई सताएको छ । सबैतिर बिरामी बढेपछि स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ, पन्तले बताए ।


