June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

जाजरकोट दरवार संग्राहलयको अवधारणा पत्र

lagu ausadhi biruddha abhiyan jajarkot

जनक केसी
पृष्ठभुमिः सन १३९८ अर्थात विक्रम सम्वत १४५५मा राजा जगतिसिंह मेदिनीवर्माले सुन्दर जगतिपुर नगरीलाइ राजधानी वनाएर स्थापना गरेको जाजरकोट राज्यको इतिहास र पहिचान तत्कालीन राजा र उनीहरुको शासन व्यवस्थामा मात्र सिमित छैन । जाजरकोट राज्य निर्माण र यसको गौरवपुर्ण इतिहास रचना गर्न जाजरकोटी राजाहरुसंगै यहाँका जनताको त्याग, तपस्या, सिर्जनशीलता, संघर्ष, कला, साहित्य, सामाजिक जनजीवन तथा गौरवपुर्ण जीवनशैलीको पनि अर्थपुर्ण भुमिका छ । हामी आज जहाँ छौं, जे कुरा प्राप्त गरेका छौं अर्थात जुन भुगोल र भावनामा जसरी वाँच्न पाएका छौं त्यो सवैको श्रेय हाम्रा पुर्खाहरु र उनीहरुको संघर्ष तथा गौरवपुर्ण जीवनगाथालाइ जान्छ । हाम्रा पुर्खाहरुले निर्माण गरिदिएको इतिहास, उनीहरुले सिर्जना गरिदिएको सभ्यता, सँस्कार, जीवनशैली, कला, साहित्य, संगीत, भाषा संगै प्रकृतिले दिएका हिमालहरु, पाटनहरु, झरनाहरु, नदि, ताल, गुफा तथा हरियालीहरु नै हाम्रो मौलिक सम्पदा हुन् जसलाइ जोगाउने दायित्व र कर्तव्यको भारी हाम्रो काधमा छ । नेपालका अन्य जिल्लाको तुलनामा जाजरकोटको इतिहास, सँस्कृति, प्रकृति, भाषा, साहित्य, गीतसंगीत र मौलिक जीवन शैली कुनै कुरामा कम्जोर अनि कम महत्वको छैन । जाजरकोट राज्य स्थापना गर्दा देखि नेपाली जनताले महान तथा गौरवपुर्ण तरिकाले लडेका दुइ लडाइहरु अंग्रेज विरुद्धको लडाइ तथा अर्काे नेपाल एकिकरणको लडाइमा जाजरकोटी राजाहरुको नेतृत्वमा यहाँका सेना र जनताको ठुलो योगदान छ । नेपाल एकिकरणको लडाइमा जाजरकोटी जनताले निर्वाह गरेको गौरवपुर्ण भुमिका आज हाम्रो पुस्ताले मात्र होइन भोलिका पुस्ताले पनि जान्न, वुुझन र महसुस गर्न पाउनु पर्छ । नेपाल एकिकरणका प्रवर्तक पृथ्वीनारायण शाह, उनका छोरा वहादुर शाह, पहिलो राणा प्रधानमन्त्री जंगवहादुर राणा, सती प्रथाको अन्त्य गर्ने प्रधानमन्त्री चन्द्र शम्सेर राणा लगाएतका शासकहरुसंगको जाजरकोट राज्य र जाजरकोटी जनता विचको विविध सम्वन्ध तथा नेपाल एकिकरणमा जाजरकोटी जनताको योगदानका विषयहरुका साथै जाजरकोट जिल्लाको समग्र आर्थिक, सामाजिक, साहित्यीक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण तथा विकासका लागि जिल्लाका सातै स्थानीय तहका उर्वर भुमिहरुमा छरिएर रहेका सवै सम्भावनाहरुलाइ एकिकृत गरि समग्र जाजरकोटको मुखपत्रको रुपमा जाजरकोट दरवार (जो जाजरकोटी राजाको नेतृत्व र जाजरकोटी जनताको रगत र पसिनाले निर्माण गरिएको थियो) लाइ सिंगो कर्णाली तथा सुदुर पस्चिम प्रदेशको पहिलो दरवार संग्राहलयको रुपमा स्थापना गरि यसको सन्चालन तथा व्यवस्थापन गर्न अति आवस्यक भएकोले २०८० भदौ १५ गते सदरमुकाम खलंगामा आयोजित विशेष समन्वय वैठकमा आवस्यक छलफल र निर्णयका लागि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तर्फवाट जाजरकोट दरवार संग्राहलय सम्वन्धी अवधारणा पत्र २०८० प्रस्तुत गरिएको छ ।
१.जाजरकोट दरवार क्षेत्रको ऐतिहासिक पृष्ठभुमि
जाजरकोट जिल्लाको सवै भन्दा महत्वुर्ण तथा ठुलो ए्ेतिहासिक तथा सामाजिक सम्पदाको रुपमा रहेको सेतो दरवार र रातो दरवार रहेको क्षेत्र नै जाजरकोट दरवार क्षेत्र हो । आज भन्दा साढे दुइ सय वर्ष अघि अर्थात विक्रम सम्वत १८००÷२५ देखि १८५२ तिरको समयमा निर्माण भएका दुइ वटा दरवारहरु रहेको भेरी नगरपालिका वडा नम्वर ३ साविकको खलंगा गाविस वडा नम्वर २ वा इतिहासमा कोटचार गाउँको पिपलडाडाँमा तत्कालीन राजाहरुले कलात्मक ढंगले निर्माण गरेका आकर्षक भव्य दरवारहरु रहेको क्षेत्र जिल्लाको मात्र नभइ कर्णाली प्रदेशकै आर्थिक पर्यटन विकासको महत्वपुर्ण सम्पदा हो । जाजरकोट दरवार क्षेत्र जाजरकोट जिल्ला र कर्णाली प्रदेशको मात्र नभएर मुलुककै प्रमुख पर्यटकीय क्षेत्र पनि हो । यो क्षेत्रको संरक्षण, सम्वद्र्धन र विस्तारको लागि सवै जाजरकोटी मन र भावनाहरु एकिकृत रुपमा प्रस्फुटन हुन जरुरी छ । जाजरकोट दरवार क्षेत्रमा रहेको दुइ वटा दरवारहरुवारे छोटो जानकारी यस प्रकार छ ।
क. रातो दरवार– जाजरकोट राज्यका ९ औं राजा मन्दिर शाहका छोरा विरम्मा शाहले जगतिपुरवाट खलंगामा विक्रम सम्वत १७०० तिर राजधानी सारेपछि सुरुमा सामान्य अवस्थावाट राजकाज चलाएको तर जाजरकोटका १६ औं राजा हरि शाहका पालामा रातो दरवार वनेको दस्तावेजहरुमा भेटिन्छ । केहि दस्तावेजहरुमा विक्रम सम्वत १८२५ माघ महिनाको वसन्त पन्चमीको दिन उक्त दरवारको जग वसालिएको पनि उल्लेख गरिएको छ । जहाँ अहिले जिल्ला समन्वय समितिको कार्यालय रहेको छ । रातो दरवार जाजरकोट खलंगाको पहिलो दरवार पनि हो । पुरातात्वीक महत्व, निर्माण कला र ऐतिहासिकताका हिसावले निकै महत्वपुर्ण यो रातो दरवार आन्तरिक तथा वाहय पर्यटकहरुका लागि निकै आकर्षक सम्पदा हो । गोरखाका राजा पृथ्वीनारायण शाह र जाजरकोटका राजाहरु हरि शाहले विक्रम सम्वत १८११ मा र उनका छोरा गजेन्द्र शाहले विक्रम सम्वत १८२५ माघ ७ गते र त्यसपछिका विभिन्न समयहरुमा गरेका सवै सन्धीहरु अनि एकताका कार्यहरु यहि दरवार देखि सन्चालित शासनकालमा भएका थिए । यस कारण यो दरवारको ऐतिहासिक तथा पुरातात्विक महत्व धेरै छ । यहि दरवारको प्रांगणमा प्रवेश गर्ने स्थानमा दुइ सय वर्ष अघि निर्माण भएको कलात्मक सिंहद्धार आज भन्दा ४० वर्ष अघि तत्कालीन स्थानीय प्रशासनले भत्काएको अवस्था छ । अहिले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको पहल र कर्णाली प्रदेश सरकारको लगानीमा उक्त कलात्मक सिंहद्धारको पुननिर्माणको काम हुदैछ । यस्तै सोहि दरवारको छेउमा रहेको तत्कालीन अवस्थाको धर्मभकारी घर, कारागार तथा जाजरकोट पुत्री राणाप्रधानमन्त्री चन्द्र सम्सेरकी रानी वालकुमारीको जन्मघर पुर्ण रुपमा भत्किएर अवशेस नै नरहेको अवस्था छ । विगतमा कुनै पनि सरकारहरुले यस दरवार क्षेत्रको स्याहार सम्भार गर्ने, मौलिकता जोगाउने तथा संरक्षणको पहल गर्ने काम नगरेका कारण यो दरवार अहिले निकै जीणर््ा अवस्थामा पुगेको छ । यसलाइ उचित रुपले संरक्षण र प्रयोग गर्न सके हाम्रो इतिहास मात्र जोगिने छैन यसको मौलिकता नयाँ पुस्तालाइ देखाउन समेत मद्धत पुग्ने छ । जसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत ठुलो योगदान पुग्ने छ ।
२.सेतो दरवार –जाजरकोट जिल्लाको सवै भन्दा महत्वपुर्ण र ऐतिहासिक सम्पदाको रुपमा रहेको जाजरकोट दरवार जसलाइ नेपाल सरकारले केहि वर्ष अघि मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्य मध्य सुचिकृत गरेको छ । भेरी नगरपालिका वडा नम्वर ३ पिपिलडाँडामा रहेको यस दरवारको भवन र प्रांगणको पुरा क्षेत्र फल एकल कित्ता नम्वर ४२ मा २ हजार २सय ४० वर्गमिटरमा फैलिएको छ भने दरवार र यसको प्रांगण वाहेकको जग्गाको क्षेत्रफल विभिन्न ८ वटा कित्तामा गरि २ हजार १ सय ६५ वर्गमिटर रहेको छ । विक्रम सम्वत १८५२ सालमा जाजरकोटका १८ औं राजा इन्द्रनारायण शाहले निर्माण कार्य सुरु गरेर उनका पनाति जाजरकोटका २० औं राजा नरेन्द्रविक्रम शाहले भव्य स्वरुप प्रदान गरेको यो दरवारका चार नाल मध्य एक नाल २०२९ सालमा जिल्ला पन्चायतद्धारा भत्काइएपछि अहिले यो तीन नालमा सिमित भएको छ । चार नालको विचमा कलात्मक पानी धारा सहितको पोखरी भएको यो दरवार निर्माणका लागि भक्तपुरवाट नाक्चे नामका मुल कालीगढ ल्याएइएको इतिहासमा उल्लेख छ । प्रथम विस्व युद्धमा १ सय ५० जना जाजरकोटीको सहभागिता, नेपाल एकिकरणमा जाजरकोटी सेनाको योगदान र वाँके वर्दिया कैलाली कन्चनपुरलाइ नयाँ नेपालको रुपमा विशाल नेपालभित्र गाभ्ने काममा ८ सय जाजरकोटी सेनाले गरेको योगदान,पहिलो राणा प्रधानमन्त्री जंगवहादुर राणाकी दुइ छोरीहरु दिर्घकुमारी र जगतकुमारीले एकै लगनमा जाजरकोटी राजासंग गरेको विहे, राजा दिपनारायण शाहले तत्कालीन श्री ५ रणवहादुर शाहकी छोरी दुर्गाकुमारी शाहसंग गरेको विहे, नेपाल र तिव्वतको लडाइमा जाजरकोटी सेनाले गरेको सहयोग, नेपाल अंग्रेज युद्धमा जाजरकोटी सेनाले गरेको सहयोग, भारतमा अंग्रेज विरुद्धको विद्रोहमा जाजरकोटी सेनाले खेलेको भुमिका लगाएतका अन्य महत्वपुर्ण ऐतिहासिक कामहरु यहि दरवारवाट सन्चालित शासनकालहरुमा भएको दस्तावेजहरुमा पाइन्छ । निकै जिर्ण अवस्थामा पुगिसेको यो दरवार जिल्लाको आर्थिक पर्यटन विकासको मुख्य सम्भावना हो । यसको मौलिक स्वरुप जोगाउदै जिल्लाको मात्र नभइ समग्र कर्णालीको लागि मुख्य ऐतिहासिक पर्यटकीय गन्तव्य वनाउन सवैले चिन्ता चासो र पहल गर्नु पर्ने वेला आएको छ । यस दरवार सम्वन्धी अन्य खोज अनुसन्धानको काम भइरहेको छ ।
जाजरकोट दरवार संग्राहलय मार्फत तय गरिएको दृरदृष्टि, लक्ष र उद्देस्य
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले विगत डेढ वर्ष देखि जाजरकोट दरवार संग्राहलय स्थापनाको कुरा उठाउदै आएको छ । जाजरकोट जिल्लाको महत्वपुर्ण ऐतिहासिक सम्पदा मात्र नभइ समग्र कर्णालीको मुख्य पर्यटकीय गन्तव्य मध्यको एक जाजरकोट दरवारलाइ संग्राहलयको रुपमा विकास गर्न र यसलाइ समग्र जाजरकोटको मुखपत्रको रुपमा स्थापित गर्न निम्न दुरदृष्टि, लक्ष र उद्देस्य राखिएको छ ।
१. दुरदृष्टि(vision) जाजरकोट जिल्लाको मात्र नभइ कर्णाली तथा सुदुर पस्चिम प्रदेशको प्रमुख ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा जाजरकोट दरवारलाइ स्थापित गर्दै देश भित्र र देश वाहिरका पर्यटकहरुलाइ आकर्षित गरि जिल्लाको आर्थिक पर्यटन विकासका लागि दरवार संग्राहलय जाजरकोटी जनताको आर्थिक उपार्जनको शसक्त स्थायी श्रोत वन्ने छ । ।
२. लक्ष (Goal )   जाजरकोट दरवार संग्राहलय मार्फत सुरुमा जाजरकोट र पछि समग्र कर्णालीको इतिहास, मौलिक कला, सँस्कृति, भेषभुषा,भाषा, साहित्य तथा जनजीवनका सवै श्रोत र आयामहरुलाइ एकै ठाउँमा ल्याएर यसलाइ हाम्रो विगत र इतिहास अध्ययनको भरपर्दाे श्रोत वनाउने ।
३. उद्देस्य (Objective)  जाजरकोटको मात्र नभइ समग्र कर्णालीको इतिहास, कला सँस्कृति, भाषा साहित्य, मौलिक गीतसंगीत, भेषभुषा तथा र पहिचान जोगाउनका लागि आम जनतालाइ साझा अभियानमा एकतावद्ध गराउदै समृद्ध जाजरकोट निर्माणका लागि उत्साह प्रवाह गर्ने ।
जाजरकोट दरवार संग्राहलय मार्फत प्राप्त हुने दिर्घकालीन तथा अल्पकालीन उपलव्धीहरु
क.कर्णाली प्रदेशको ऐतिहासिक तथा पुरातात्विक सम्पदा जाजरकोट दरवार हेर्न आउने जिल्ला भित्र र वाहिर सवै ठाउँका मानिसहरुलाइ जाजरकोटको गौरवपुर्ण इतिहासको चित्र प्रचार प्रसार हुने छ ।
ख. कर्णाली प्रदेशमा जाजरकोट जिल्ला भित्रका सवै पर्यटन विकासका सम्भावनाहरु वहिर ल्याउन वाटो खुल्ने छ ।
ग.जाजरकोटी जनता र उत्तरदक्षिण भेरी करिडोर तथा लुम्विनी रारा लोकमार्गले छोएका वस्तीहरुको आर्थिक विकासमा यो दरवार संग्राहलय सहयोगी वन्ने छ ।
घ. जाजरकोट र विगतका वाइसी राज्यहरुको समग्र ऐतिहासिक अवस्थावारे जान्न चहाने वुझन चहाने तथा पढ्न चहानेहरुको अध्ययन अनुसन्धानका लागि भरपर्दाे श्रोत मात्र नभइ कर्णाली प्रदेश भित्रको प्रमुख ऐतिहासिक अध्ययन केन्द्रको रुपमा जाजरकोट दरवार संग्राहलय रहने छ ।
ङ . भविष्यका पुस्ताका लागि हाम्रा पुर्खाले सिर्जना गरिदिएको कमाइ, इतिहास र मौलिकता सुरक्षित रुपमा रहने छ ।
च. जाजरकोटका सातै स्थानीय तहहरुको ऐतिहासिक, मौलिक, साँस्कृतिक, सामाजिक, भाषिक, साहित्यीक तथा प्राकृतिक पहिचानलाइ एकै स्थानवाट सवैले हेर्न, अध्ययन गर्न, अवलोकन गर्न मिल्ने अवसर प्राप्त हुने छ ।
छ. कर्णाली प्रदेशमा जाजरकोट जिल्लालाइ पर्यटकीय क्षेत्रका हिसावले मुख्य आकर्षक गन्तव्यको रुपमा विकास गर्न तथा कर्णालीका सवै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माणका लागि श्रोत सामाग्री निर्माण तथा प्रयोगमा सहयोग पुग्ने छ ।
ज. विशाल नेपाल निर्माणका लागि गोरखाली सेनाले सुरु गरेको अभियानमा जाजरकोटी जनताले गरेको योगदानका प्रमाणहरु सुरक्षित हुने छन् भने नयाँ पुस्ताले आफना पुर्खाको गौरवपुर्ण योगदानवारे जान्न पाउने छन् ।
ञ. जाजरकोट लगाएतका कर्णालीका सवै सम्पदाहरुको संरक्षण र विकासका लागि स्थानीय, प्रदेश तथा संघ सरकारको ध्यान आकर्षित हुनेछ ।
प. आन्तरिक तथा वाहय पर्यटकहरुका कारण जिल्लामा विभिन्न मौलिक कृषि उत्पादन तथा औधोगिक उत्पादनको व्यापार वढेर जनताको आयआर्जनमा वृद्धि भइ रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने छ ।
फ. जिल्लामा पर्यटन क्षेत्रको विकासको नाउँमा आर्थिक तथा प्राविधिक श्रोतहरु भित्रिएर रोजगारीका अवसरहरु वढ्नेछन् ।
व. कला, सँस्कृति, साहित्य, भेषभुषा, भाषा तथा मौलिक गीतसंगीतका साथै मेलापर्वहरुको संरक्षणका लागि एउटा शसक्त अभियान चल्नेछ ।
भ.रोजगारीका लागि विदेश जाने, कृषि उत्पादनहरु जिल्ला वाहिरवाट ल्याउने चलनलाइ निरुत्साहित गर्दै पर्यटन व्यवसायका लागि वाँझा खेतवारीमा उत्पादन गराउन स्थानीय सीप साधनको प्रयोगमा लाग्न स्थानीयवासीलाइ प्रेरणा मिल्ने छ ।
म. जाजरकोटका महत्वपुर्ण कृषि तथा औधोगिक उत्पादनहरुमा वृद्धि हुदै वजारीकरणमा समेत महत्वपुर्ण कार्य हुनेछ ।
संग्राहलय स्थापनाका लागि गरिने कामहरु
१. जाजरकोटको इतिहास, भुगोल, जनसंख्या, कला सँस्कृति, साहित्य, भाषा, भेषभुषा, मौलिक परम्परा, वाजा, गीत संगीत तथा सामाजिक जनजीवनको मौलिक पहिचान र चिनारी दिने सवै दस्तावेज, साधन, वस्तु, चित्र, चलचित्र, तथा स्वरुपहरु संकलन गर्ने र तीनलाइ व्यवस्थित र नियमपुर्वक संकलन र दर्ता गरेर दरवारमा अभिलेखीकरण गर्ने ।
२.संग्राहलय निर्माणको लागि सवै सरकार, सरोकारवाला निकाय र अन्य पक्षहरुसंग आर्थिक श्रोत व्यवस्थापनका लागि सहकार्य र समन्व्य गर्ने ।
३. संग्राहलय स्थापना तथा सन्चालनको लागि जिल्ला भित्र र वाहिर रहेका सवै जाजरकोटी, विभिन्न विज्ञ, सरोकारवाला निकाय तथा जानकार व्यक्ति र संघ सस्थाहरुसंग आवस्यक सल्लाह, परामर्ष तथा ज्ञान आदानप्रदान गर्ने ।
४. जाजरकोट दरवार संग्राहलय सन्चालन गर्न सुरुमा जिल्ला स्थित सवै सरोकारवाला निकाय, व्यक्ति र संघसंथाहरुको विशेष वैठकको निर्णयवाट जाजरकोट दरवार संग्राहलय सन्चालन कार्यविधि पारित गरेर स्थानीय स्तरकै पहलवाट कार्य आरम्भ गर्ने तथा हाललाइ स्थानीय प्रशासनको स्वीकृति लिएर संग्राहलय सन्चालनको प्रारिम्भक काम सुरु गर्ने ।
५.जाजरकोट दरवार संग्राहलय सुरुमा रातो दरवारमा सन्चालन गर्ने र सेतो दरवारको पुननिर्मााण भएपछि उक्त दरवारमा संग्राहलय सार्ने सो कार्यका लागि खलंगावासीको माग अनुसार जिल्ला प्रशासन कार्यालयलाइ उचित र न्यायपुर्ण ढंगले व्यवस्थापन गर्न दरवार क्षेत्र भित्र रहेको कुल ४ हजार ४ सय ५ वर्गमिटर जग्गा मध्य दरवार र दरवार अघिको आँगनले ओगटेको २ हजार २ सय ४० वर्ष मिटर क्षेत्रफल वाहेक वाँकी रहको अन्य २ हजार १ सय ६५ वर्ग मिटर क्षेत्रफलमै प्रशस्त रुपले जिल्ला प्रशासन कार्यालयको नयाँ भवन वनाउन सवैले एक मतका साथ पहल कदमी लिने ।
६. संग्राहलय सम्म पुग्नका लागि पहुँच मार्ग निर्माण गर्न ठाँटीवजार देखि दरवारको पुर्वी गेट सम्मै ढुंगा विछ्याइएको सिंढी र रेलिंग निर्माण गर्दै पस्चिम पट्टिको वाटोका लागि पनि जिल्ला समन्वय समितिको सभाहल तल देखि पुरानै सिढीयुक्त वाटोको स्वरुप तयार पार्ने । यसका लागि भेरी नगरपालिका लगाएतका सातै स्थानीय तह, प्रदेश सरकार र संघ सरकारलाइ ताकेता गर्न सवै जनप्रतिनिधिहरु र सरोकारवालाहरुले विशेष पहल लिने ।
७. दरवार प्रवेश गर्दा विगतमा वनाइएका सवै ऐतिहासिक तथा कलात्मक संरचनाहरु मौलिक रुपमै पुननिर्माण गर्ने ।
८. दरवार संग्राहलयमा जिल्लाका सात स्थानीय तहको नामाकरण छुटटा छुटटै रुपमा वनाएर सो अनुसार ती स्थानीय तहवारेका समग्र पहिचान दिने सवै प्रकारका सामाग्रीहरु प्रदर्शनीमा राख्ने व्यवस्था मिलाउने ।
९. जाजरकोट दरवारको पुरानै भव्य स्वरुप निर्माण गर्नका लागि यस अघि जिल्ला प्रशासन कार्यालय मार्फत सहरी विकास तथा भवन डिभीजन विभाग मार्फत गृहमन्त्रालयमा पुगेको झन्डै २८ करोडको लगत इस्टमेटको स्वीकृति र कार्यान्व्यनको लागि जिल्ला स्थित सवै दल, जनप्रनिनिधि तथा स्थानीय सरकारहरुले पहल कदमी लिने । साथै जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि तयार पारिएको प्राविधिक स्टमेट अनुसारको वजेट व्यवस्थापन र कार्यान्वयनका लागि जिल्लाका तर्फवाट सार्थक एवम सिघ्र पहल गर्ने ।
१०. ठीक १ सय वर्ष अघि जाजरकोटकी छोरी वालकुमारी शाह राणाको जन्मभुमि प्रेमका कारण निर्माण भएर जिल्लाको पुरातात्विक महत्वको सम्पदा वनेको र जाजरकोट दरवार क्षेत्रसंग प्रत्यक्ष रुपमा जोडिएको वुदवुदीको खानेपानीको सुरक्षा र समग्र खलंगाको खानेपानीको आधार क्षेत्रको रुपमा रहेको वुदवुदीको जंगल जोगाउनका लागि जिल्लाको तर्फवाट सार्थक पहल गर्ने ।
जाजरकोट दरवार संग्राहलभित्र राखिने सामाग्रीहरु
यस अघि माथि उल्लेख गरिए जस्तै जाजरकोट दरवार संग्राहलयलाइ समग्र जाजरकोट जिल्लाको राजनैतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक तथा साहित्यीक मुखपत्रको रुपमा प्रस्तुत गर्नका लागि निम्न सामाग्रीहरु प्रदर्शनीमा राखिने छ ।
१. विक्रम सम्वत १४५५ मा जाजरकोट राज्य स्थापना गर्ने राजा जगतिसिंह मेदिनीवर्मा देखि २३ औं राजा प्रकाशविक्रम शाह सम्मको शासनकालमा प्रयोग गरिएका हातहतियार,भाँडाकुडा, लत्ताकपडा लगाएत दरवारमा प्रयोग भएका हामीलाइ उपलव्ध भए सम्मका सवै सामाग्रीहरु ।
२. जाजरकोट राज्य सन्चालन गरेका राजाहरु, विभिन्न ऐतिहासि लडाइहरुका जाजरकोटी योद्धाहरु,जन्मभुमि प्रति गहिरो माया दर्शाउने जाजरकोटकी छोरी वालकुमारी शाहका तस्वीरहरु ।
३. जाजरकोटको इतिहास सम्वन्धी सवै दस्तावेज, वृत्तचित्र, तस्वीर तथा अन्य लिखतहरु र सामाग्रीहरु।
४. जाजरकोट जिल्लाको भुगोल, प्रकृति, परम्परा,सँस्कृति, मौलिक भेषभुषाहरु गीतसंगीत भाषा, साहित्य वारेका तस्वीर, श्रव्यदृष्य, श्रव्य तथा अन्य स्वरुपका सवै सामाग्रीहरु ।
५. जाजरकोटी साहित्यीक स्रष्टाहरु, जाजरकोटी छोराछोरीहरु ले रचना गरेका कृतिहरु, वस्तुहरु र अन्यले जाजरकोटवारे सिर्जना गरेका सवै साहित्यीक तथा सांगीतिक, भाषिक तथा अन्य विषयसंग सम्वन्धित सामाग्रीहरु ।
६. नेपाल एकिकरणको पक्ष र अंग्रेज विरुद्धको लडाइमा जाजरकोटले गरेको योगदानको इतिहास प्रमाणित गर्ने सवै प्रकारका सामाग्रीहरु ।
७. जाजरकोट जिल्लाका सातै स्थानीय तहहरुका जनसंख्या, भुगोल, प्रकृति, सँस्कृति, भाषा, भेषभुषा, गीतसंगीत, साहित्य,वाजा तथा ऐतिहासिक पक्षको विशिष्ट पहिचान झल्काउने तस्वीर, श्रव्यदृष्य सामाग्रीहरु, लिखतहरु तथा अन्य मौलिक सामाग्रीहरु ।
८. समग्र जाजरकोट तथा सातै स्थानीय तहमा विकास, समृद्धि तथा आर्थिक सम्मुन्नतिका लागि देखिएका सम्भावना झल्काउने तथ्यपरक सामाग्रीहरु ।

संग्राहलय कसरी सन्चालन गर्ने ?
१.संग्राहलय सन्चालनका लागि जिल्ला स्थित स्थानीय सरकारहरु, पुरातत्व विभाग, कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाहरुसंग आवस्यक समन्वय गरेर जिल्ला स्तरीय विशेष समन्वय वैठकवाट पारित भएको दरवार संग्राहलय सम्वन्धी अवधारणा पत्र र संग्राहलय सन्चालन कार्यविधि २०८० अनुसार कार्यहरु गर्ने ।
२ संग्राहलय सन्चालन कार्यविधि अनुसार प्रतिष्ठानले सन्चालक तथा व्यवस्थापन समिति र सल्लाहकार तथा संरक्षक समिति गठन गरेर त्यहि समितिको जिम्मेवारी, समन्वय, सल्लाह र संरक्षकत्वमा सन्चालनका सवै कामहरु गर्ने ।
संग्राहलयको अपनत्व कसले लिने ?
१. जाजरकोट दरवार संग्राहलय सन्चालनका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको अभियान र योगदान अनुसार जिल्लाका सातै स्थानीय तह, जिल्ला समन्वय समिति र कर्णाली प्रदेश सरकारले पुरातत्व विभाग लगाएतका विभिन्न निकायहरुसंग आवस्यक समन्व्य गरि प्रारम्भिक चरणमा यसको सम्पुर्ण स्वामित्व लिदै संग्राहलय सन्चालनको मुख्य जिम्मेवारी विशेष समन्वय वैठकवाट जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानलाइ दिने व्यवस्था गर्ने ।
२. दरवार संग्राहलयको लागि कर्णाली प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्लाका सातै स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय र विभिन्न सुरक्षा निकायहरु सवैसंगको आपसी समन्वय, समझदारी र सहयोगमा संग्राहलय सन्चालनका लागि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले दरवार संग्राहलय सन्चालन कार्यविधि अनुसार सम्पुर्ण जिम्मेवारी वहन गर्ने ।
३. संघीय सरकार, संघीय संसदका सदस्यहरु,कर्णाली प्रदेश सरकार, प्रदेश सभा सदस्यहरु,जिल्ला समन्वय समिति, जिल्लाका सातै स्थानीय तहहरुले संग्राहलयलाइ जाजरकोटको मात्र नभइ कर्णाली प्रदेशकै महत्वपुर्ण ऐतिहासिक पर्यटकीय सम्पदाको रुपमा सन्चालन, विकास र सम्वद्र्धनका लागि जाजरकोट दरवार संग्राहलयको लागि आवस्यक वजेट कार्यक्रम तथा सहयोग उपलव्ध गराउन जिम्मेवार र उत्तरदायी भुमिका निर्वाह गर्ने र यसका लागि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सवै प्रकारका समन्वय गर्ने किन भने प्रतिष्ठानको विद्यानमा उल्लेख भएका १३ वटा उद्देस्यहरु मध्य सातौं नम्वरको वुदामा दरवार संग्राहलय सन्चालन गर्ने भनेर तोकिएको छ जुन विद्यानलाइ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदले समेत मान्यता दिइसकेको छ ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान वारे छोटो जानकारी
इतिहास, कलासँस्कृति, साहित्य, भाषिक,मौलिक गीतसंगीत तथा सामाजिक जीवन शैलीको विविधता र विशिष्टतामा निकै वैभवशाली जाजरकोटका समग्र सम्पदाहरुलाइ जगेर्ना गर्न सचेत नागरिकहरुको तर्फवाट अर्थपुर्ण पहलयुक्त अभियान सन्चालन गर्नका लागि जनक केसीको अध्यक्षतामा ७ जना सदस्यीय सँस्थापक समिति ( सदस्यहरु अमरवहादुर रोकाय, शोभा सिंह, साधना केसी, सुस्मिता विस्वकर्मा, भीमवहादुर वली, दुर्गावहादुर श्रेष्ठ) वनाइ सम्वत २०७८ माघ १२ गते स्थापित भइ सम्वत २०७९ असार ५ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता तथा २०७९ साल साउन ९ गते समाज कल्याण परिषद काठमाडौंमा आवद्ध भएको सँस्थाको नाम जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान हो । यसका विभिन्न १३वटा उद्देस्यहरु छन् जो जाजरकोटको इतिहास, कला, सँस्कृति, परम्परा, प्रकृति, भाषा, साहित्य र भेषभुषाहरुको जगेर्ना गर्ने विषयहरुसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । यी १३ वटा विभिन्न उद्देस्यहरु मध्य सातौँ नम्वरमा रहेको उद्देस्यमा दरवार संग्राहलय स्थापना तथा सन्चालन गर्ने रहेको छ । यस प्रतिष्ठानले आफनो पहिलो अभियानको रुपमा जाजरकोट दरवारलाइ संग्राहलयको रुपमा स्थापना गर्ने पहल विस्तारै अघि वढाउदै जाने क्रममा आज यो समयमा आइपुगेको छ भने प्रतिष्ठानले सम्पदा संरक्षणको लागि गरेका अन्य पहल र प्रयासहरुमा जाजरकोटवासीको अमुल्य सहयोग पनि प्राप्त भइरहेको छ । यस अभियानमा अहिले प्राप्त भएको साथ र सहयोग निरन्तर जारी रहनेछ भन्ने विस्वास पनि हामीले लिएका छौं । धन्यवाद ।।
जय जाजरकोटी सम्पदा ।।
२०८० भदौ १५ गते शुक्रवार
लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad