March 1 - 2024, Friday१७ फाल्गुन २०८०, बिहीबार

स्वर्गीय क्याप्टेन बबीविक्रम शाहको स्मृतिमा ‘द म्यान वीथ अ मिसन’ नामक पुस्तक प्रकाशन

काठमाडौँ । नेपालको हवाई उड्डयनको विकासमा वायुसेवा निगमका पूर्वक्याप्टेन स्वर्गीय बबीविक्रम शाहको महत्वपूर्ण योगदान रहेको बताइएको छ ।

स्वर्गीय क्याप्टेन शाहको स्मृतिमा उहाँकी धर्मपत्नी जयाराज्य लक्ष्मी शाह र महेश्वरभक्त श्रेष्ठद्वारा लिखित ‘द म्यान वीथ अ मिसन’ नामक पुस्तकको विमोचन कार्यक्रमका वक्ताहरूले नेपाल वायुसेवा क्षेत्रलाई अगाडि बढाउन स्वर्गीय शाहको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।

कार्यक्रममा हवाई विभागका पूर्वनिर्देशक ललितविक्रम शाहले इमान्दार र लगनशील व्यक्तित्व स्वर्गीय शाह भएको बताउनुभयो । उहाँले पुस्तकमा नेपालको हवाई उड्डयन क्षेत्रको राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवको सङ्गालो समेटिएकाले हवाई क्षेत्रबारे बुझ्न चाहने जोकोहीलाई पुस्तक उपयोगी हुने बताउनुभयो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आकाशमा उडे पनि आफ्नो धर्तीलाई कहिल्यै नबिर्सने व्यक्ति स्व क्याप्टेन शाह भएको बताउनुभयो । उहाँले निगमको स्वर्णिम काललाई अगाडि बढाउन स्व क्याप्टेन शाहको अतुलनीय योगदान रहेको बताउनुभयो । देशप्रतिको आस्था, सम्झना र सम्मान नेपाल वायुसेवा निगम भएको उहाँको भनाइ थियो ।

अध्यक्ष अधिकारीले पुस्तकले वरिष्ठ र व्यावसायिक क्याप्टेनको जीवनगाथा मात्र नगाएर नेपालको हवाई उड्डयनको क्षेत्रलाई समावेश गरेको बताउनुभयो । उहाँले बबीविक्रम शाहको शालिक निर्माण गर्न परिवारलाई आग्रह गर्दै निगमले शालिक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले स्व शाहको योगदानलाई वरिष्ठ क्याप्टेनले पछ्याउन सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले स्व क्याप्टेन शाहको मार्गदर्शन नेपालको हवाई उड्डयनको क्षेत्रमा स्मरणीय रहेको बताउनुभयो । देशका लागि समर्पित भएर लाग्ने व्यक्ति स्व शाह भएको उहाँको भनाइ थियो ।

वरिष्ठ पत्रकार कनकमणि दिक्षित, विजयकुमार पाण्डे, नम्रता शर्मालगायतले पुस्तकले हवाई क्षेत्रमा बबीविक्रम शाहको योगदान मात्र नभएर समग्र नेपालको हवाई उड्डयनको इतिहास दर्शाएकाले पुस्तक पठनीय भएको बताउनुभएको थियो । स्व क्याप्टेन शाहका सुपुत्र एवं कर्णाली प्रदेशका सांसद राजीवविक्रम शाहले आफूहरूलाई कर्मक्षेत्रमा निरन्तर अगाडि बढ्न पिताबाट प्रेरणा मिलेको बताउनुभयो ।

नेपाल वायुसेवा निगममा झण्डै तीन दशक सेवा गर्नुभएका बबीविक्रम शाह सहचालकका रूपमा वायुसेवा निगममा प्रवेश गर्नुभएको थियो । सोही समयमा उहाँ क्याप्टेन, निगमको नायव महाप्रबन्धकलगायत कार्यकारी पदमा बसेर नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । उहाँले वायुसेवा निगममा बसेर १६ हजार एक सय ३४ घण्टा उडान गर्नुभएको नेपाल वायुसेवा निगमको इतिहासमा उल्लेख छ ।

पुस्तकका लेखक जयाराज्यलक्ष्मी देवी शाहले बहुआयमिक र कडा परिश्रम गर्ने व्यक्ति बबीविक्रम शाह भएको बताउनुभयो । शाहको सन् १९९३ मा क्यान्सर रोगका कारण निधन भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad