राजेन्द्र कार्की । जाजरकोट
हरेक कार्यक्रम तथा पर्वमा डिजे र डेक बज्ने जाजरकोट सदरमुकाम खलंगामा लामो समय पछि स्थानिय लोक बाजा घन्किएका छन् । मंगलवार विहानै देखि गाँउ गाँउबाट लोक बाजा सहित आएका स्थानिय कलाकारले सदरमुकाम खलंगालाई संगीतमय बनाए । स्थानिय संस्कृतिको जगेर्न र संरक्षणका लागि आयोजित स्थानिय मौलिक सिंगारु नृत्य प्रतियोगितामा भाग लिन आएका सहभागीले मादल, कुर्कुटे, खैजेडी, बाँसुरी, टेम्को लगायतका बाजाले सदरमुकाम गुन्जायमान बनाए । जिल्लाका सम्पदा संरक्षण गर्ने उद्देश्यले ठीक एक बर्ष अघि स्थापना भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आफ्नो बार्षिकोत्सवको अवसरमा सिंगारु नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।
स्थानिय कला संस्कृतिको संरक्षण गर्नका लागि जाजरकोटमा खलंगामा आयोजित स्थानिय मौलिक सिंगारु नृत्य प्रतियोगितामा जगतिपुरको सिंगारु नाच प्रथम भएको छ । सिंगारु नृत्यमा नलगाड द्धितिय, बोहरा गाँउको नृत्य तृतिय र पोखरा गाँउको सिंगारु नाच सान्तोना भएका छन् । नौ वटा समुह सहभागी भएको प्रतियोगितमा प्रथम हुने समुहलाई नगद २५ हजार, द्धितियलाई २० हजार, तृतियलाई १५ हजार र सान्तोना हुने समुहलाई १० हजार प्रदान गरिएको छ । सहभागी अन्य टीमलाई ५ हजार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । सिंगारु नृत्य हेर्न स्थानियको भीड लागेको थियो । लोप हुन थालेका स्थानिय कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यले सिंगारु नृत्य प्रतियोगिताको आयोजना गरेको अध्यक्ष केसीले बताए । पुरानो पुस्ताले मात्र जानेको र तर नयाँ पुस्ताले स्थानिय मौलिक लोक संस्कृति नसिकेपछि पुस्तान्तरणका लागि प्रतिष्ठानले सम्पदा संरक्षणका लागि विभिन्न कार्यक्रम गदै आएको उनको भनाई छ ।
कार्यक्रममा लोप हुन थालेका पशुपंक्षी संरक्षणमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै पशुपंक्षी संरक्षणकर्मी बारेकोटका गोविन्द बहादुर सिंहलाई जाजरकोट ताराको उपाधी द्धारा सम्मान गरिएको छ । त्यस्तै ५० हजार शुल्क तिरेर प्रतिष्ठानको मानार्थ सदस्य बन्ने जाजरकोट खलंगाका शुरेशजंग शाह हाल अमेरीका र ज्ञानु शाह हाल क्यानडालाई समेत सम्मान गरिएको थियो । कार्यक्रम सफल पार्नका लागि शुरेश जंग शाह, वीरबल पुन, रञ्जना शाह कार्की, प्रविण कार्की, मनिराम शर्मा, सिता जैसी, देविका सिंह, नन्दकला मल्ल, दिनेश कार्की, रञ्जना कार्की, कृष्ण जंग शाह, प्रेमबहादुर रोकाय, माधव थापा र जगत थापालाई सम्मान पत्र द्धारा विशेष सम्मान गरिएको अध्यक्ष केसीले बताए ,
प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी विशेष अतिथिको रुपमा रहेका थिए । उपप्रमुख जैसीले स्थानिय कलाकार सँग सिंगारु नाचेपछि कार्यक्रमको थप रौनकता बढेको थियो । कार्यक्रममा स्कुले बालबालिका देखि जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।


