जाजरकोटमा विशेष कवि गोष्ठी

राजेन्द्र कार्की । जाजरकोट
‘जिभ्रोको टुप्पामा झुण्डिएको
एउटै लवज छ सवैको
हिउँ पनि त तातो पाए गल्छ,
फतफताउँदै मेरो छोरा गोडा बजादै सोध्छ
यसरी कसरी चल्छ ?….’
कवि तथा निवन्धकार डा. विमल कोइरालाले यसरी कसरी चल्छ कविता वाचन गर्दा दर्शक दिर्घाबाट तालीको फोहरा गुञ्जियो । योगेश्वर स्मृति प्रतिष्ठान काठ्मान्डौले जाजरकोट खलंगामा शुक्रवार आयोजना गरेको विशेष कविता गोष्ठीमा नेपाल सरकारका पुर्व मुख्य सचिव समेत रहेका कोइराला सहित एक दर्जन कविहरुले आफ्ना कविता वाचन गरे । त्रिभुवन मावि खलंगाको सभाहलमा भएको कार्यक्रममा कवि मोमिलाले भीमसेन थापाको सुसाईड नोट कविता हरफहरु यसरी वाचन गरिन ।
सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरु !
उहिल्यै इतिहासमा
वेमौसमी हुरीबतास र बर्सातको एक दिन
आफ्नै देशभित्र निर्वासित सुदुर गाँउमा कतै
भित्तामा ससम्मान झुण्ड्याइएको
बषौं पुरानो देशभक्त अमर सिंहको तस्विरबाट
अचानक आँखा झरेछन््
हुन सक्छ
ठीक त्यही वेलादेखि यो देशका मार्गदर्शकहरुले
दृष्टि गुमाएको हुनुपर्दछ ।…
कार्यक्रममा अर्का कवि तथा ब्याङ्ग्यकार लक्ष्मण गाम्नामेले
हे प्रिय अहिले आलु र मुला पकाउ, भरे मुला र आलु पकाउ
भन्ने कविता वाचन गर्दा तालिको फोहराले हल गुन्जायमान भैरह्यो ।

कार्यक्रममा कवि अमर शाहले सपनाहरुको हत्या कविता यसरी प्रस्तुत गरे ।
हुर्किएर गएको चरा
फेरि गुडमा फर्किए जस्तो
फर्किएको छु म जन्म घर
भित्ताको रङ्ग खुइलिए पनि
ताजै छन् सम्झनाहरु
बीसौ हिउँदको चिसो र
बीसौ गर्मीको तातोपछि पनि
र, म सुम्सुम्याइरहेछु
पुराना सम्झनाहरु यतिखेर..
कार्यक्रममा योगेश्वर साहित्य प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले पागल र कानुन कविता वाचन गरे । उनका कविताका केही अंश यस्ता थिए ।
एक समय
तिम्रै आँसु मिसिएको मेरो पसिनाको आत्मीय गन्ध
आज दुर्गन्ध बनेर कठै
खाडीबाट कतै तिम्रो भान्सामा पुग्यो कि !
तिमी भान्साबाटै भागेर बारमा पो पुगिछौ !!
कार्यक्रममा अच्युत प्रसाद शर्मा, दिवाकर खनाल, बालकुमार शर्मा, कृष्ण थापा, टुकमाया घर्ती लगायतका कविहरुले आ आफ्ना रचना वाचन गरेका थिए । देशको समसामयिक राजनिति, कुरीती, भष्ट्राचार, देशप्रेम लगायतका विषयबस्तुमा कविताको माध्यामबाट शसक्त आवाज बुलुन्द गरिएको थियो ।
योगेश्वर स्मृति प्रतिष्ठानले स्वर्गीय योगेश्वर कार्की पढाएका दुई विद्यालय भानुभक्त मावि लहँ जाजरकोट र त्रिभुवन मावि जाजरकोट खलंगामा विहिवार र शुक्रवार विशेष कवि गोष्ठीको आयोजना गरेको हो । राजधानीबाट आएका कवि तथा साहित्यकार र स्थानिय कविहरुको जमधट भएको कवि गोष्ठीले साहित्य सिर्जना र जर्गेना गर्नमा महत्वपुर्ण योगदान हुने कवि तथा निबन्धकार डा. विमल कोइरालाले बताए । साहित्य प्रति रुची जगाउन भविश्यका कर्णधार विद्यार्थीहरुका माझमा कवि गोष्ठी गरिएको आयोजक योगेश्वर स्मृति प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा जाजरकोट कुशे ५ जहरगाँउ निवासी कालीप्रसाद थापाले लेखेको गाँउ देखि शहर सम्मको यात्रा पुस्तक साहित्यकार डा. विमल कोइरालाले विमोचन गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya