टुकमाया घर्ती । जाजरकोट ३१, बैशाख
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ४ लहका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोगको प्रकोप बढेको छ ।
लम्पी स्किनका कारण गाई गोरुको छालामा गिर्खा निस्किने, ज्वरो आउने,सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसान गणेशबहादुर थापाले बताउनु भयो । थापाको गोरु १० दिनको बिरामले मरेको छ । यो रोगबाट सिमाऔल, बाउसेखोला, माझगाउँ, भात्चिउरा, कोठीगाउँ मान्चौरमा सबैभन्दा धेरै गोरु र गाई प्रभावित भएका छन् । यहाँ १ सय गाई गोरुमा यो रोग देखिएको वडा अध्यक्ष बद्री पन्तले जानकारी दिनु भएको छ । ९८ वटा गोरु २ वटा गाइ प्रभावित भएका छन् । किसानको गोठगोठमै गएर पशु प्राविधिकले उपचार गर्ने व्यवस्था गरेका छौ अध्यक्ष पन्तले भन्नु भयो । जिल्लाबाट थोरै मात्र औषधी ल्याएका थियौ, त्यो पनि अभाव भएको छ, कसरी उपचार गर्ने हो, रोग बढ्दै गइरहेको छ पन्तको भनाइ छ ।
‘लम्पी स्किन वडाको सबै स्थानमा फैलिइसकेको छ, नियन्त्रणका लागि पशु शाखासँग सहकार्य गरेर खोप चलाइरहेका छौं,वडा अध्यक्ष पन्तले भन्नु भयो । वडाका अनुसार हालसम्म ८ वटा गोरु मरिसकेका छन् । वडामा १ हजार १ सय ५० पशुबस्तु रहेका छन । जसमा एक सय वटामा यो रोगको प्रकोप देखिएको तथ्यांक छ । रोग लागेका पशुलाई टोकेका लामखुट्टे, किर्ना र अन्य किरा तथा परजिवीबाट निरोगी पशुमा यो रोग सर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका पशु वकिास अधिकृत डा.सुशिल ऐरीले बताउनु भयो । जिल्ला भर ३ सय ५० पशुहरु मरेका छन ।