December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

जाजरकोट उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्विरोध निर्वाचित

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटको अध्यक्षमा युवा ब्यवसायी रमेश केसी निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्य समितिका लागि भएको मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि केसी निर्विरोध निर्वाचित भएका हुन् ।

उनी सहित पदाधिकारी तथा सदस्य गरी नौ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा बलबहादुर मल्ल, उपाध्यक्षमा अमरबहादुर शाही, महासचिवमा मोहन खड्का, सचिवमा सुर्यबहादुर रोकाय र कोषाध्यक्षमा नरेन्द्र विक्रम शाही निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै अपाङ्ग सदस्यमा भीमबहादुर खत्री, महिला सदस्यमा अम्बिका थापा र दलित सदस्यमा दीपक विक निर्विरोध निर्वाचत भएको निर्वाचन समितिका सदस्य रणबहादुर कार्कीले बताए ।

रोकिएको निर्वाचन प्रक्रिया तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्वाचन समितिलाई निर्देशन दिएको थियो । कानुन बमोजिम तत्काल गत असार ३ गते रोकिएको निर्वाचन सम्पन्न गर्न गराउन सम्मानित उच्च अदालत सुर्खेतले जिल्ला प्रशासन कार्यालय जाजरकोटका नाममा परमादेश जारी गरेपछि स्थानिय प्रशासनले गत भदौ २९ गते निर्वाचन समितिलाई लिखित रुपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो । अनुसार गत असार ३ मा भएको मनोनयन कायम गरी बाँकी पदमा कानुन बमोजिम निर्वाचन सम्पन्न गर्न स्थानिय प्रशासनले दिएको निर्देशन अनुसार निर्वाचन समितिले शुक्रवार मनोनयन उपर दावी विरोध तथा मनोनयन पत्र फिर्ता लिने समय शनिवार १२ बजे सम्मको समय तोकेकोमा उक्त समायावधि भित्र कुनै पनि उम्मेदवारका विरुद्ध दावी विरोध नपरेको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि एकल मनोनयन परेका अध्यक्ष सहित नौ पदमा दरखास्त दिएका सवै उम्मेद्धवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका अर्का सदस्य जनक केसीले बताए । उनले आइतवार निर्विरोध निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिने कार्यक्रम रहेको र बाँकी ६ पदमा निर्वाचित पदाधिकारी सँग सल्लाह गरेर छिटै निर्वाचन प्रक्रिया अघि बढाईने केसीले बताए । जिल्ला प्रशासन कार्यालयको परिपत्र अनुसार निर्वाचन समितिका संयोजक शिवप्रसाद शर्माले कार्यान्वयन गर्न नमानेपछि स्थानिय प्रशासनकै सहमतिमा निर्वाचन समितिका बहुमत सदस्यले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको समितिका सदस्य कार्कीले बताए ।

आफ्नो एकल उम्मेदवारी परेपनि निर्विरोध भएको घोषणा नगरेपछि अध्यक्षका उम्मेदवार रमेश केसीले गत असारमै उच्च अदालतमा रिट दर्ता गराएका थिए । गत भाद्र १५ गते रिट निवेदन उपर न्यायधिस पुनम सिंह चन्द र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले फैसला गदै भनिएको छ– ‘उद्योग बाणिज्य संघबाट अवलम्बन भएको निर्वाचन प्रक्रिया मिति २०७९।३।३ मा भएको मनोनयन दर्ता तत्पश्चात जिल्ला प्रशासन कार्यालयमा परेका निवेदनलाई दृष्ट्रिगत गरी जाजरकोट उद्योग बाणिज्य संघको विधान २०५९ बमोजिम निर्वाचन प्रक्रिया कानून बमोजिम सम्पन्न गर्नु गराउनु भनी विपक्षी जिल्ला प्रशासन कार्यालय जाजरकोटका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’ यसरी उच्च अदालतले फैसला गरेपछि रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन प्रशासनले निर्वाचन समितिलाई निर्देशन दिएको थियो ।

यसैवीच, असन्तुष्ट पक्षले जाजरकोट उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेको छ । निवर्तमान बरिष्ठ उपाध्यक्ष शिबबिक्रम हमालले एक विज्ञप्ती प्रकाशित गरि लामो समय देखि साधारण सभा हुन नसकेको, नविकरण नभएको र संस्था नै अवैध रहेको भन्दै आवश्यक निकासका लागि तालाबन्दी गरिएको जनाएको छ ।

यता नवनिर्वाचित अध्यक्ष केसीले जाजरकोट उद्योग बाणिज्य संघमा देखिएको गतिरोध अन्त्य गर्ने र बैधानिक दायित्व पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad