राजेन्द्र कार्की । जाजरकोट
अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाउँपालिका–५ जरगाउँमा एक सुत्केरी महिलाको ज्यान गएको छ । सोमवार विहान ७ बजे घरमै सुत्केरी भएकी कुशे गाउँपालिका–५ जहरगाउँकी ३० बर्षिया नारायणकली रोकायको रक्तस्राव नरोकिदा पाँच घण्टा पछि ज्यान गएको हो । समयमा भरपर्दो प्रसुती सेवा पाउन नसक्दा उनको ज्यान गएको हो ।
समयमै सालनाल नखसेर नारायणकलीको मृत्यु भएको पति जयबहादुर रोकायले बताए । नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन उनले भने–‘ घरमै सामान्य अवस्थामा सुत्केरी भएकी उनको सालनाल नझरेपछि स्थानीय मेडिकलमा लग्यौ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा सालनाल त निक्लियो तर रक्तस्राव रोकिन नसक्दा नारायणकलीको ज्यान जोगिन सकिएन ।’
उनका यस अघि दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्माई सकेपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । सदरमुकाम खलंगा देखि एक दिनको पैदल दुरीमा रहेकोा जहर गाँउ नजिक भरपर्दो स्वास्थ्य सुविधा नहुँदा उनी घरमै सुत्केरी हुन बाध्य भएकी थिइन । नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था भएको भए श्रीमतिलाई जोगाउन सकिने थियो तर के गर्नु दुर्गमको पिडा श्रीमान जयबहादुरले भने–‘सानो बच्चा कसरी स्याहारु । अरु ठुला बच्चाको लालनपालन कसरी गरुँ मेरो जस्तो बर्जपात कसैलाइ नपरोस ।’


