July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

सोती नरसंहारको दुई बर्ष पुराः न्याय पाउनेमा पिडित परिवारको आशंका

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् ।

घटनामा दोषीलाई कारबाही गर्नुको सट्टा तोडमोड गरी सरकार नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ । घटनामा आरोपित ३४ जनामध्ये ११ जना थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

२०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका—४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८, सोतीका गैर दलित समुदायको भीडले क्रुर हत्या गरेका थिए ।

नबराजका बुवा मुनलालले आफ्ना छोरा र उनका साथीसमेत ६ जनाको सामूहिक हत्या गरिएको घटनालाई जातीय विभेदका कारण नभई भवितव्यका रूपमा अदालतमा स्थापित गर्ने प्रयास भइरहेको सुनेका छन । ‘घाइते र अन्य साक्षीलाई बयान दिन नजाऊ, बाइक किन्दिन्छौं, पाँच–दस लाख रुपैयाँ कति चाहिन्छ, त्यो पनि दिन्छौं भनेर प्रलोभन देखाएका छन् । त्यसो भनेको आवाजको रेकर्ड नै हामीसँग छ,’ मुनलालले भने, ‘६ जनालाई एकै ठाउँमा मारेको, १२ जनालाई घाइते बनाएको यस्तो घटनामा पनि हामीले न्याय नपाउने ? गरिब, दलित, दुःखी, पीडित जनताले न्याय नपाउने किन हो ? के हामी यो देशको नागरिक होइन ? हामी न्याय खोज्न कहाँ जाऔं ?’ हत्यामा संलग्नहरूलाई जोगाउन केही नेता नै लागिपरेको उनले बताए ।

‘यो देशमा गरिप र पीडितलाई न्याय छैन हजुर । न्याय भएको भए त हाम्रा छोराहरूका हत्यारालाई जन्मकैद भइसक्दो हो,’ नवराजसँगै मारिएका गणेश बुढाका बुबा पदम भन्छन्, ‘सुरुमा पुलिसले केहीलाई पक्राउ गरे पनि धेरै जना अझै बाहिरै छन् । पक्राउ परेका पनि एक–एक गर्दै पैसा बुझाएर धरौटीमा छुट्दै छन । हामीसँग पैसा छैन त न्याय पनि छैन ।’

पिडित परिवार

नवराजकी प्रेमिकाकी आमा ‘५४ रुकुम पश्चिम (३६) २’ लाई जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाडेकामा उच्च र सर्वोच्चले पनि सदर गरेका छन् । दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ल पनि जिल्ला अदालतबाटै साधारण तारिखमा छुटेका छन् । नवराजकी प्रेमिका र उनका भाइलाई नाबालिग भन्दै जिल्ला अदालतले बाल सुधार गृहमा पठाएको थियो, पछि उच्च अदालत सुर्खेतले अभिभावकको जिम्मामा छाड्न आदेश दियो ।

घटनालगत्तै फरार रहेर पछि हाजिर हुन आइपुगेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढालाई जिल्ला अदालतले थुनामा पठाएकामा उच्च अदालतका न्यायाधीशबीच थुनामा राख्ने, धरौटी माग्ने वा तारिखमा छाड्ने भन्नेमा राय बाझिएको थियो । पछि सर्वोच्चले पाँचै जनालाई तारिखमा छाड्न आदेश दियो । यसरी पुर्पक्षका लागि थुनामा राख्ने कि तारिखमा भन्ने विवादले नै लामो समय लियो । जिल्ला अदालतमा प्रमाण बुझ्ने, साक्षी परीक्षण गर्नेजस्तो मुद्दाका सुरुवाती चरणका कामसमेत सकिएका छैनन् ।

पोस्टमार्टम रिपोर्ट दिने पाँच चिकित्सकमध्ये दुई जनाको मात्रै बकपत्र भएको छ । किटानी जाहेरी दिने गणेशका बुबा पदम र घटना विवरण कागज गर्ने अन्य केही सरकारी साक्षीलाई अदालत उपस्थित गराएर बकपत्र गराइएको छैन । प्रहरी प्रतिवेदकहरू, कल डिटेल रेकर्ड विश्लेषक प्रहरीहरू पनि अझै अदालत उपस्थित भएका छैनन् । यसरी जिल्ला अदालतमा प्रारम्भिक सुनुवाइपछिका थुप्रै प्रक्रिया अझै बाँकी छन् । मुद्दाको चाप अत्यन्त कम हुने रुकुमजस्तो जिल्ला अदालतमा दुई वर्ष बितिसक्दा पनि मुद्दा पूर्ण सुनुवाइको चरणमा पुगेको छैन । दलितजस्ता सीमान्तकृत समुदायले न्याय पाउन कति कठिन छ भन्ने यो घटनाले देखाउँछ नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने ।

घटनाको १६ दिनपछि २०७७ जेठ २६ गते प्रतिनिधिसभाले सांसद देवेन्द्र पौडेल (हाल शिक्षामन्त्री) को नेतृत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । उक्त समितिले असार ३० मा सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । राष्ट्रिय मानवअधिकार आयोग र गृह मन्त्रालयले पनि सोती हत्याकाण्डको अनुसन्धान गरेका थिए । दुवै निकायले विज्ञप्तिमार्फत केही तथ्य सार्वजनिक गरे तर प्रतिवेदन गुपचुप नै छ ।

२१ वर्षका नवराज भलिबल, दौड, ज्याभ्लिन थ्रो, कबड्डीमा अब्बल थिए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन गएका बखत उनी चौरजहारी–८ सोतीगाउँकी कथित माथिल्लो जातकी किशोरीसँग नजिकिए । अभिभावकले सम्बन्धबारे थाहा पाएपछि आफूलाई अरूसँगै विवाह गरिदिन लागेको भन्दै किशोरीले २०७७ जेठ १० मा लिन बोलाइन । नवराज आफ्ना साथीहरूसहित भेरी नदी तरेर पारिपट्टि किशोरीको गाउँ पुगे । प्रेम विवाह गर्ने योजनासहित गएका उनी त्यसपछि कहिल्यै फर्किएनन् । कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको ‘अपराध’ मा सोतीका बासिन्दाले योजनाबद्ध रूपमा गरेको आक्रमणमा उनी सहित ६ युवा मारिए ।

नवराजको भन्दा दुई घर तल भाडाको घरमा मजदुरी गर्ने बाबुआमासँगै बस्थे गणेश बुढा । छोराको शोकमा आफूहरू मर्नु न बाँच्नु भएको गणेशका बुबा पदम सुनाउँछन् । भन्छन्, ‘हाम्रा कलिला बच्चाहरूलाई समय नआउँदै मारिदिए । त्यसैको शोकमा हामी पनि बिस्तारै–बिस्तारै मर्दै छौं हजुर ।’ मारिएका ६ जनामध्ये सन्जु मात्र विवाहित थिए । २१ वर्षीया पत्नी समिनाले श्रीमानका हत्यारालाई आजीवन कारावास भएको सुन्न पाए मनलाई शान्ति मिल्ने बताइन । उनले भनिन्, ‘आजीवन कारावास होस । मृत्युपछि मात्रै जेलबाट निस्कन पाऊन ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad