राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा जंगली जनावर सम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नलगाड नगरपालिका १ अनाहपानी निवासी २३ बर्षका रामबहादुर चनारालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।
जंगली जनावर शिकार गरेर मासु बेचविखन गरेको आरोपमा चनारा विरुद्ध मुद्धा परेको थियो । मुद्धा परे लगत्तै पक्राउ पुर्जी जारी भएपनि उनी फरार हुँदै आएका थिए । पक्राउ परेका चनारालाई प्रहरीले डिभिजन बन कार्यालय जाजरकोटको जिम्मा लगाएको छ । डिभिजन बन प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार रामबहादुरकी आमाले झोलामा घोरलको मासु विक्रीका लागि बजार लैजादै गर्दा प्रहरीले तीन महिना अघि फेला पारेको थियो । आमाकै बयानका आधारमा छोराले जंगलबाट मारेर मासु ल्याएको खुलेपछि आमालाई तारेखमा छोडिएको थियो । पक्राउ परेका चनारालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको डिभिजन बन प्रमुख श्रेष्ठले बताए ।