राजेन्द्र कार्की । जाजरकोट
मतदातालाई दुःख दिने गरि निर्वाचन कार्यालयले हालै जारी गरेको सुचना प्रति नेपाली काँग्रेस जाजरकोटले असहमति जनाउँदै तत्काल सच्याउन माग गरेको छ । जिल्लाका सबै मतदाताहरुको परिचय–पत्र पुनः जारी गर्न निर्वाचन आयोगसंग नेपाली कांग्रेस जाजरकोटले आग्रह गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस जाजरकोटले निर्वाचन आयोगसंग यस्तो आग्रह गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय, जाजरकोटद्धारा यही फागुन ६ गते प्रकाशित सुचनामा उल्लेख गरिएको यस अघि निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय–पत्र नष्ट भएमा वा हराएमा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित यही फागुन २० गतेसम्म सम्बन्धित व्यक्तिले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने बिषयप्रति नेपाली कांग्रेस जाजरकोटले आपत्ति प्रकट गरेको छ । नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ–‘विश्व व्यापी कोरोना महामारीको समयमा सम्भब हिन जिल्ला निर्वाचन कार्यालयद्धारा प्रकाशित सुचनाप्रति नेपाली काँग्रेस घोर आपत्ति प्रकट गर्दछ ।’ नेपाली काँग्रेस जाजरकोटले मतदाताको सुचीमा समावेश गरिएका सबै मतदाताहरुको परिचय–पत्र निर्वाचन आयोगले पुनः जारी गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तीमा अगाडी भनिएको छ–‘मतदान पश्चात मतदाताहरुले परिचय–पत्र सुरक्षित नराख्ने गरेकोले अधिकांश मतदाताहरु परिचय–पत्र बिहिन छन । जिल्लाको भौगलिक विकटता, सवारी साधनको न्युन पहुँच, कमाई गर्न कयौं मतदाता छिमेकी मुलुकमा भएको र भरपर्दो संचार असुविधाले सुचना सम्प्रेशन गर्न कठिनाई भएकोले मतदाता परिचय–पत्र प्राप्तीका लागि निर्वाचन आयोगले थालनी गरेको प्रक्रियामा मतदाताहरु सहभागी हुन सम्भव छैन ।’
आम नागरिकहरुले मतदान गर्न पाउने जन्मसिद्ध अधिकारको सुनिश्चितता कायम गर्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित सम्बन्धित मतदाता जिल्ला निर्वाचन कार्यालयमा पुगेर निवेदन दिनुपर्ने प्रक्रियालाई रोकेर निर्वाचन आयोगको रेकर्ड अनुसार मतदाताको सुचीमा समाबेश गरिएका सबै मतदाताहरुको परिचय–पत्र जारी गर्न नेपाली काँग्रेस जाजरकोटले निर्वाचन आयोगसंग अपिल गरेको छ ।
प्रमुख निर्वाचन आयुक्तले गरेको निर्देशन र जारी गरेको परिपत्र अनुसार जिल्ला जिल्ला निर्वाचन कार्यालय, जाजरकोटले यस्तो सुचना प्रकाशन गर्नु परेको जिल्ला निर्वाचन अधिकारी डिल बहादुर कार्कीले बताएका छन् ।
निर्वाचन आयोगले गरेको निर्देशन भन्दा फरक तरिकाले कुनै पनि काम जिल्ला निर्वाचन कार्यालयले गर्न नसक्ने बताउदै जिल्ला निर्वाचन अधिकारी कार्कीले मतदाता परिचय–पत्र सम्बन्धि देखिएको समस्यालाई समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखहरु तथा वर्तमान प्रधानमन्त्री निर्वाचन आयोगमा पुगेर कुरा राख्नुपर्ने भनाई राखेका छन् । विगतका निर्वाचनहरुमा परिचय–पत्र नभएका मतदाताहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचय–पत्र, ड्राईभिङ्ग लाईसन्स जस्ता व्यक्तिगत परिचय खुल्ने प्रमाण–पत्रका अधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको भएता पनि यसपालीको निर्वाचनमा आयोगले अनिवार्य मतदाता परिचय–पत्र हुनुपर्ने ब्यबस्था गरेको जिल्ला निर्वाचन अधिकारी कार्कीको भनाई रहेको छ ।