राजेन्द्र कार्की । जाजरकोट
बालविकासमा कार्यरत शिक्षक र कर्मचारीले बृद्धि तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरिदिएका छन् । बालबिकास शिक्षक र बिद्यालय कर्मचारीहरुले बुधवार नगरपालिकामा तालाबन्दी गरेका हुन । बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारीले १५ हजार रुपैया तलब पाउनु पर्ने माग गदै तालबान्दी गरेका हुन् ।
केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको बजेटमा बिद्यालय कर्मचारी र बाल बिकास शिक्षकहरुको न्युनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो । २ हजार संघीय सरकारले थप्ने र ७ हजार पालिकाहरुले थपेर १५ हजार पुर्याउने भनिएपनि नलगाड नगरपालिकाले बजेट नभएको भन्दै थप सात हजार दिन नसक्ने जनाएपछि शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएको बालबिकास शिक्षिका सिर्जना खड्काले बताईन ।
बित्तिय समानिकरणको बजेटबाट कुनै पनि तलव भत्तामा खर्च गर्न नमिल्ने भनि अर्थ मन्त्रालयबाट पत्र आएको आन्तरिक राजश्वमा ७ हजार दिन सकिने अवस्था नरहेपछि कार्यान्वयन नगरिएको नलगाड नगरपालिकाले जनाएको छ ।
बालबिकास शिक्षिका र बिद्यालय कर्मचारी हरुले संघिय सरकारले बजेट बक्तब्यमा घोषणा गरे अनुसार तलब बढाए नलगाड नगरपालिकाले कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले बुधवार नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गरि नगरपालिकामा एक घन्टा धर्ना गर्ने र पालिकाका कर्मचारीहरुलाई कार्यालयमा प्रवेश गर्न रोक, विहिवार नगरपालिका घेराउ, शुक्रवार हातमा कालो पट्टि बाधी नगरपालिकामा धर्ना , आइतवार गते पालिकाका सबै बिद्यालयहरु बन्द गर्ने, सोमवार पालिकाका सबै वडा कार्यालय हरुमा ज्ञापन पत्र बुझाइ कामकाज ठप्प पार्ने र मंगलवार २८ गते देखि पालिका भित्रका सबै बिद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने र नलगाड नगरपालिकाले गर्ने कुनैपनी कार्यक्रममा बिद्यालयको सहभागिता नगर्ने गरि आन्दोलनका कार्यक्रम घोषणा गरिएको विद्यालय कर्मचारी डम्बर शाहीले बताए ।
बजेट अभावले संघिय सरकारले पठाएको भन्दा छुट्टै तलब नगरपालिकाले थप्न नसकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताए । बालविकास शिक्षकले प्रतिमहिना ६ हजारका दरले तलब निकासा हुने गरेकोमा चालु आर्थिक बर्षमा बढेको दुई हजार सहित आठ हजार साउन देखि बुझ्दै आएका छन् । तर उनीहरुले १५ हजार पाउनु पर्ने माग गरेका छन् । जिल्लाका भेरी नगरपालिका लगायत अन्य पालिकाले भने १५ हजारका दरले नै तलब भत्ता निकासा दिएका छन् ।