प्रवाह संवाददाता । जाजरकोट
४४ महिना सम्म मुख्य मन्त्रीको बागडोर सम्हालेका एकिकृत माओवादीका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले यस अघिको भद्र सहमति अनुसार राजिनामा गरेपछि मुख्य मन्त्री बनेका नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्य मन्त्री बन्ने सौभाग्य पाएका छन् । उनले मन्त्रीमण्डल विस्तार गरेका छैनन् । तिहार लगत्तै सत्ता साझेदार दलहरु सँग सरसल्लाह गरेर मन्त्रीपरिषद विस्तार गर्ने शाहीको योजना छ । यतिवेला मन्त्रीका लागि सत्ता साझेदार दलहरुमा लविङ चलिरहेको छ । एकिकृत माओवादीकी साँसद कृष्णा शाह मन्त्रीको लागि चर्चामा रहेकी छन् । उनको संभावना धेरै हिसावले बलियो बन्दै गएको छ ।
उनले पार्टीमा आफ्नो विशिष्ट योगदान र इतिहास रहेको हुँदा पारिवारिक नाता जोडेर आफ्नो त्याग, लगानी र इतिहासलाई अवमुल्यान नगर्न आग्रह गरेकी छन् । उनी सँग यसै विषयमा प्रवाह अनलाइनले गरेको कुराकानीको सारसंक्षेपः
उनी भन्छिन–पार्टी लोकसेवा आयोग जस्तो हुनुहुदैन र बनाउनु हुदैन । सबैतिर एउटैले दर्खास्त हाल्न मिल्ने, उम्मेरदारी दिन मिल्ने । पार्टी विधि, पद्धतिबाट चल्नुपर्छ । तर पार्टीलाई हामीले लोकसेवा आयोग जस्तो सोचिरहेका छौं र बनाईरहेका छौं । म किन यो भन्दैछु भने आज पार्टीमा सबैले सबैतिर आकांक्षा राख्ने र अपेक्षा गर्ने समस्याहरु छन् । तलदेखि माथिसम्मका पोष्टहरुमा उम्मेदवार बन्ने, दावी गर्ने समस्याहरु छन् । मलाई लाग्छ पार्टी यसरी चल्दैन । सबै सबैको सहि र व्यवस्थित कार्य विभाजन हुनुपर्छ । म यतिवेला बन्ने कर्णाली प्रदेश सरकारको मन्त्रीको एउटा बलियो उम्मेदवार हुँ । साँसद भइसके पछि मन्त्री बन्ने आकांक्षा सबैमा हुन्छ नै यो मानबीय स्वभावको कुरा हो अरु माननीय ज्युहरुका आ–आफ्नै तर्क र दावी होलान् । तर मैले गर्ने दावी कारण के हुन भने ः
१) कर्णाली प्रदेश सरकारमा आज सम्म मन्त्री नपाएका जिल्लाहरुलाई प्राथमिकता दिनु पर्छ त्यसमा जाजरकोट पनि अहिले सम्म मन्त्री नपाएको जिल्ला हो र अर्को कुरा कुनै विशिष्ट कारण वाहेक अहिले सम्म संसदिय समिति, सरकारमा कतै जिम्मेवारी नपाएका साथीहरूलाई जिम्मेवारी दिइनु पर्छ । त्यसमा म पनि एक पात्र हो ।
२) हाम्रो पार्टी माओवादी केन्द्रले समानुपातिक, समावेशी सिद्धान्त र नीतिलाई आत्मसाथ गर्दै शुरुको सरकारमा समावेशी पठायो । दोस्रो पटक पनि समावेसी नै पठयो । अब महिला सांसदमा मन्त्री नभएको म एक्लो महिला छु जसले गर्दा पार्टी नेतृत्वले यतिवेला पनि समानुपातिक, समावेशी कुरालाई व्यवहारिक पुष्टि गर्ने छ म ढुक्क छु । विश्वस्त छु । म आज सम्म पनि संसदीय समिति होस् या त सरकार कतै पनि सहभागिता थिएन । यतिवेला समय पुगेको ठानेर मेरो बलियो दावी हो ।
३) मलाई मेरो परिवारसँग जोडेर मेरो आफ्नै राजनीतिक योगदान, वलिदान र त्यागलाई मिनीमाइज नगर्दिन सबैसँग अनुरोध गर्छु । विहे अगाडि नै म विद्रोह गरेर जनयुद्ध मा लागेको हो । युद्ध कालमा नै हाम्रो विहे भयो । बाल सँगठन देखि मेरो राजनीतिक जीवनको शुरुवात भएको हो । आन्दोलनकै क्रममा २ पटक गिरफ्तारी, यातना, हिरासत, जेल वेहोरियो । जतिवेला १४ र १८ वर्षको थिए ।
आज २४÷२५ वर्षको राजनीतिक जीवनमा परिवार सँग परिवारका सदस्यहरुको जिम्मेवारीसँग जोडेर व्याख्या गर्दा दुख लागेर आउँछ ।
मेरो परिवारै राजनीतिक परिवार हुँदा मलाई राजनीति गर्न एकदम सजिलो छ । सर– सहयोग परिवार र परिवारका सदस्यहरुवाट भरपुर हुन्छ । जिम्मेवारीको हिसाब गर्दा मेरो आफ्नै लगानी छ र हाम्रो परिवारका सदस्यहरुको आ– आफ्नै लगानी त्याग छ । त्यो अनुसार जिम्मा पाउनु अनौँठो होइन ।
को हुन कृष्णा शाह ?
१३ बर्षको उमेरमै स्थानिय शंकरभवन मावि बाहुनथानामा पढ्दा पढ्दै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्यालय ईकाई समितिको अध्यक्ष भएर राजनितिमा होमिएकी कृष्णले थुप्रै दुःख कष्ट झेल्दै साँसद सम्म पुग्ने अवसर पाएकी हुन् । सरकारले किलोशेरा २ अन्र्तगत २०५५ सालमा पक्राउ परेकी उनलाई सुरक्षाकर्मीले निकै यातना दियो । नाङ्गै बनाएर सिस्नो पानी हान्ने र नङ्गमा पिन समेत ठोक्ने कुरा सम्झँदा उनको आँङ्ग अहिले पनि सिरिङ्ग हुन्छ । पार्टीको गोप्य कुरा कुनै नखोलेपछि एक हप्ता सम्म हिरासतमा राखेर चरम यातना दिएको उनले बताईन । २०५७ सालमा भुमिगत भएकी उनी २०५९ सालमा सुर्खेतमा पक्राउ परिन । एक बर्ष जेल जीवन विताएर पुनः भुमिगत राजनितिमा होमिएकी उनी माओवादी जनमुक्ती सेनामा लागिन । २०६३ सालमा सम्म तीन बर्ष जति लडाकु भएर काम गरिन । कम्पनी सह कमान्डर बनेकी उनी जनमुक्ती सेनालाई फौजी तथा राजनैतिक प्रशिक्षण समेत दिने गरेको सम्झिन्छिन ।
माओवादी शसस्त्र युद्धकै क्रममा माओवादीका प्रभावशाली युवा नेता रामदीप आचार्य सँग बैबाहिक सम्बन्ध जोडेकी ३८ बर्षिया कृष्णा माओवादीको कर्णाली प्रदेश कमिटी सदस्य छन । एकदमै मिलनशार र भद्र स्वभावकी कृष्णाले स्नातक तह सम्म अध्ययन गरेकी छन् । भेरी नगरपालिका २ पोखरामा सामान्य परिवारमा जन्मिएकी कृष्णा मन्त्री भएर जनताको सेवा गर्ने अठोट लिएकी छन् । उनले शहिदले परिकल्पना गरेको बाटोमा लाग्ने प्रण समेत गरेकी छन् ।
(कुराकानीमा आधारित )