राजेन्द्र कार्की । जाजरकोट
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत असोज ९ गते भएको गाँउ, नगर तहको अधिवेशनमा जाजरकोटका चार वटा स्थानिय तहमा निर्विरोध कार्य समिति छनौट गरिएको छ । तीन पालिकामा निर्वाचनका माध्यामबाट नेतृत्व चयन गरिएको छ ।
जिल्लाका नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाँउपालिका र बारेकोट गाँउपालिकामा सर्वसहमतिमा कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गदै अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै भेरी र जुनीचाँदेमा निर्वाचनका माध्याम द्धारा नेतृत्व चयन गरिएको छ । कुशेमा विवादका विच नेतृत्व चयन भएको छ । कुशेमा एउटा टीमले निर्वाचनमा असहमति जनाउँदै निर्वाचन बहिष्कार समेत गरेका छन् ।
नलगाडको नगरसभापतिमा जयबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । आकांक्षी धेरै भएपनि नगरसभापतिमा सिंहलाई सर्वसहमतिमा चयन गरिएको नेता छवि पन्तले बताए । त्यस्तै छेडागाडमा टोपेन्द्र अधिकारी नगरसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । शिवालयको गाँउ सभापतिमा जसवीर वली निर्विरोध निर्वाचित भएका छन् । बारेकोटको गाँउपालिका सभापतिमा रामचन्द्र ज्योती यस अघि नै निविरोध निर्वाचित भैसकेका थिए । यी पालिका अन्य सवै पदमा निर्विरोध नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ ।
भेरीमा अन्य पदमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि सभापतिमा सहमति जुट्न नसक्दा निर्वाचन भएको हो । भेरीमा निबर्तमान नगरसभापति तथा जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्मालाई पराजित गदै शशिराम बुढा निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा बुढाले १६८ मत प्राप्त गरि विजयी भएका हुन । शर्माले ४३ मत मात्र प्राप्त गरेका थिए ।
त्यस्तै जुनीचाँदेमा अन्य पदमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि सभापतिमा सहमति नजुट्दा निर्वाचन भएको हो । आइतबार भएको निर्वाचनमा नरेन्द्र शाहीलाई पराजित गदै विरेन्द्र शाही गाँउ सभापतिमा निर्वाचित भएका छन् । विरेन्द्रले ९८ मत प्राप्त गरि विजयी भएका थिए भने नरेन्द्रले ४८ मत प्राप्तत गरेका थिए ।
त्यस्तै आईतवार नै कुशेको गाँउ कार्यसमिति सभापतिमा अमर बहादुर शाही निर्वाचित भएका छन् । शाहीको बैधानिकताका बारेमा प्रश्न उठाउँदै टेकबहादुर शाही, भुमबहादुर रोकाय लगायतका प्रतिस्पर्धीले निर्वाचन नै बहिष्कार गरेका छन् ।
नेपाली काँग्रेसको विधान अनुसार गाँउ नगर कार्य समितिमा सभापति एक जना, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित हुने ब्यवस्था छ । त्यस्तै प्रत्येक वडाबाट एक जना महिला सहित तीन जनाका दरले हुन आउने सदस्य संख्या र त्यसर्को समावेशी प्रतिनिधित्व हुने गरि थप दुई तिहाइ सदस्य निर्वाचित हुने ब्यवस्था छ । असोज १५ भित्र हुने भनिएको प्रदेश क्षेत्र र जिल्ला अधिवेशन भने स्थागित भएको छ । नयाँ मिति तोकिएको छैन । सवै पालिकामा युवाहरु नेतृत्वमा आएका छन् ।