December 3 - 2021, Friday१७ मंसिर २०७८, शुक्रबार

सामाजिक सुरक्षा भत्ता लिन सकस

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको छेडागाड ३ दशेराकी ८१ बर्षिय पानसरी थापा राम्रो सँग हिड्डुल गर्न सक्दिनन् । उनले सामाजिक सुरक्षा भत्ता बापत मासिक तीन हजार पाउँछिन ( अव चार हजार ) तर त्यो रकम बुझ्न उनलाई निकै सास्ती खोप्नु पर्छ । न आँखा देख्छिन । न हस्ताक्षर गर्न नै । लेप्चे लगाउनु पर्ने भएकोले उनी भत्ता बुझ्न सधै बैक जानु पर्ने बाध्यता छ । अरुले बोकेर करीव पाँच घण्टा टाढा थलह बजारमा जानु पर्ने बाध्यता छ । उनी भन्छिन ‘सरकारले भत्ता दिएर धेरै राम्रो काम गरेको छ तर पैसा निकाल्न निकै धौ भयो । घरमै दिने ब्यवस्था मिलाईदेओस ।’
उनी जस्तै सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आएका भेरी नगरपालिका ६ गंगटियाका ७३ बर्षिय जीते लुहारले भत्ता लिन निकै सास्ती खेप्नु परेको महसुस गर्छन । उनी हस्ताक्षर गर्न सक्दैनन् जसले गर्दा चेकमा औठाछाप लगाउनु पर्ने बाध्यता छ । नागरिकता र फोटो सहित आफै उपस्थित भएर सनाखत गरेपछि मात्र बैकले रकम दिने भएकोले भत्ता बुझ्न सदरमुकाम धाउनु परेको उनले बताए । बैकमा लाइन लाग्नु पर्ने । आउजाउको समस्याले भत्ता लिन सधै हैरानी हुन्छ उनले भने ‘घरमै भत्ता पाउने ब्यवस्था भएको भए कति आनन्द हुन्थ्यो होला ।’

सोही गाँउका ६५ बर्षिय खोरे लुहार शारीरिक रुपमा असक्त र शैक्षिक रुपमा अशिक्षित छन् । उनको गाँउबाट सदरमुकाम आउन करीव पाँच घण्टा समय लाग्छ । आफै हिड्न सक्दैनन् । यातायातका साधन चल्दैनन् । सामाजिक सुरक्षा भत्ता बुझ्न उनी सधै सदरमुकाम धाउन बाध्य छन् । लेप्चे लगाउनु पर्नेहरुले बैेकमा आफै उपस्थित भएर सनाखत गरेपछि मात्र बैकले भुक्तानी दिने भएकोले सदरमुकाम आउन बाध्य भएका हुन् । बैकमा निकै भीड भएकोले लामो सास्ती पछि दुई दिनमा भत्ता बुझेर घर फर्के । उनले सरकारले दिएको भत्ता लिन पनि निकै सास्ती खेप्नु परेको गुनासो गरे । यसरी दुःख पाउनु भन्दा घरमै भत्ता बाँड्ने ब्यवस्था भैदिएको भए हामी जस्ताको लागि निकै वेस हुन्थ्यो उनले भने ।


सामाजिक सुरक्षा भत्ता पनि आठ महिना पछि यतिवेलै निकासा भएका कारण सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ । कतिपयको हस्ताक्षर नमिल्ने, कतिपयको बैक खाता खोल्नु पर्ने तथा अध्यावधिक गर्नु पर्ने, कतिपयको अरुले निकालेर विचमै रकम हिनामिना गरिदिने भएकोले स्वयम ब्यक्ति आफै आएर रकम भुक्तानी दिने गरिएको हो ।
यस अघि वडा सचिव मार्फत घर घरमै भत्ता वितरण गर्ने गरिएकोमा ब्यापक हिनामिना भएपछि सरकारले सम्बन्धित ब्यक्तिको खातामा जम्मा गर्ने प्रणालीको विकास गरेको हो । वडा सचिव मार्फत विवरण गर्दा मरेका मान्छेको पनि लगत कट्टा नगर्ने, अरुले नै किर्ते हस्ताक्षर गरेर रकम खाइदिने समस्या आएपछि बैक खातामा रकम जम्मा गर्ने गरिएको हो ।

पहिलो पटक बैकमा खाता खोल्न, केवाइसी अपडेट गर्न र हस्ताक्षर गर्न नसक्ने लेप्चे लगाउनु पर्नेहरुका लागि बैकमा स्वयम उपस्थित हुनु पर्ने प्रावधान रहेको नेपाल बैक लिमिटेड जाजरकोट शाखाका प्रबन्धक राजिब कार्कीले बताए । सामाजिक सुरक्षा भत्ता वितरण निर्देशिकामा अशक्त, बृद्ध र अनपढ नागरिकलाई सहज तरिकाले भत्ता उपलब्ध गराउन संरक्षकको ब्यवस्था गरेर रकम भुक्तानी दिन सकिने ब्यवस्था छ तर स्थानिय सरकारले त्यस तर्फ ध्यान नदिदा धेरैले सास्ती खेप्नु परेको प्रवन्धक कार्कीको भनाई छ । ढिलोगरी रकम निकासा भएकोले गर्दा पनि असारको अन्तिममा भीड बढेको उनले बताए ।

जाजरकोटमा सात ओटा स्थानिय तह छन् । जुनीचाँदे बाहेक ६ ओटा स्थानिय तहमा बैक पुगिसकेका छन् । जुनीचाँदेमा भने बैक नभएको र सदरमुकाम खलंगा आउँदा निकै सास्ती खेप्नु पर्ने भन्दै कार्यपालिकाको बैठकले कर्मचारीले एकमुष्ट रकम निकालेर सम्बन्धित वडा कार्यालय मार्फत गाँउमै भत्ता बुझाउने ब्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत दिपक शाहीले बताए । तर उनीहरुले पनि आठ महिना विति सक्दा पनि अझै भत्ता पाउन सकेका छैनन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot