माया पन्त । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ४ र ५ का मौरी पालक किसानलाई मौरी गोला र घार लगाएत सामग्री वितरण गरिएको छ ।
कृषि विकास कार्यालयको आर्थिक तथा पञ्चासे बहुउद्धेश्यीय सहकारी संस्थाको समन्वयमा उक्त सामग्री कृषकलाई वितरण गरिएको हो । ३५ जना किसानलाई ३ वटाका दरले मौरी गोला र घार, चाका बनाउने बलक वितरण गरिएको छ भने टोपी ६५ वटा, झोला ६५ वटा, चक्कु ६५ वटा, मह मदानी, आधार चाका र तोरीको विउ, चार हजार चिउरीको विरुवा वितरण गरेको पञ्चासे बहुउद्धेश्यीय सहकारी संस्थाका ब्यवस्थापक किशोर रावलले बताउनु भएको छ ।
नमुना मौरी पालन समुह खाल्चौर ८ जना, लालिगुँरास मौरी पालन समुह बाउसेखोलाका १० जना, सुन्दर मौरी पालन समुह मानचौरका ५ जना, दह लालिगुँरास मौरी पालन समुह मुलीका ७ जना लगाएत समुहका किसानलाई वितरण गरेको रावलले बताउनु भयो ।
सुर्खेतबाट ६० मौरी गोला ल्याइएको छ भने अन्य कल्पत गाउँ र गाउँबाटै खरिद गरेको रावलको भनाइ छ ।
किसानलाई मौरी गोला हस्तान्तरण गर्दै नगर प्रमुख टेकबहादुर रावलले मौरी पालक कृषकलाई व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक सामाग्री सहयोगले थप टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्य समितिका सदस्य बिरबहादुर रावतले नलगाड क्षेत्र मौरी पालनका लागि राम्रो सम्भावना बोकेको स्थान भएको बताउदै यसका लागि स्थानीय सरकारले लगानी गर्नु पर्ने धारण राख्नु भएको थियो । नलगाड क्षेत्रभर ६ सय किसान मौरी व्यवसायमा संलग्न रहेका छन ।
कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले रानीखेतमा ३५ लाख लागतमा मौरी स्रोत केन्द्र निर्माण भएको बताउनु भयो । केन्द्रबाट आधुनिक मौरी घार निर्माण गरिने र किसानलाई बाहिरी जिल्लाबाट घार ल्याउनु पर्ने बाध्यता हट्ने प्रमुख अधिकारीको भनाइ छ ।