म्याद नाघेका खाद्यबस्तु बेच्ने ब्यापारीलाई २५ हजार जरिवाना, गोदाम सिल

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा गरिएको बजार अनुगमणको क्रममा ठुलो परिणामका म्याद नाघेका खाद्यबस्तु फेला परेपछि जाजरकोटको एक पसललाई २५ हजार रुपैया जरिवाना गरिएको छ । भेरी नगरपालिका ४ शान्तिचौतारा नजिक रहेको मल्ल ब्रर्दर्स एण्ड सप्लायर्सले म्याद गुर्जेका खाद्यबस्तु विक्रीवितरण गरिरहेको पाईएकोले नगद जरिवाना गरिनुका साथै गोदाम सिल गरिएको छ भने केही खाद्यबस्तु नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत हरिप्रसाद देवकोटा, प्रहरी निरीक्षक खुमानन्द पाण्डे, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नासु लोकबहादुर बस्नेत, पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मा लगायतको संयुक्त बजार अनुगमण समितिले उक्त निर्णय गरेको हो । प्रशासकिय अधिकृत देवकोटाका अनुसार बुधवार मल्ल ब्रर्दर्सको गोदामबाट म्याद नाघेका चेवनप्रास १५ पेटी, हजमोला १० पेटी, अमला तेल ३ पेटी, प्रोस्टाइल हेयर तेल ५ पेटी, ग्लकोज डि १८ पेटी, डावर लाल दन्त मन्जन २ पेटी, रियल जुुस १ लिटरवाला ८ पेटी, फ्रुटी ब्रस्ट ६१ पेटी र मिठो लिची जुस ३४ पेटी नष्ट गरिएको छ । पहिलो पटक भएकाले चेतावनी स्वरुप उक्त जरिवाना गरिएको देवकोटाले बताए । म्याद गुर्जेका समान बेची जनस्वास्थ्यमा खेलवाड गर्ने ब्यापारीलाई उपभोक्ता संरक्षण ऐनमा पटकै पिच्छे पाँच हजार माथि जरिवाना गर्न सकिने उल्लेख गरिएको छ ।


बजार अनुगमण गर्न गएको सरकारी टोलीले गोदाममा धेरै सामान म्याद गुर्जेको भेटेको थियो । अनुगमन समितिका एक सदस्यका अनुसार टोली खाना खान होटलमा बसेको बेला मल्ल ब्रोदर्सका प्रोपराइटर कृष्ण मल्लले म्याद गुर्जेको सामान गाडीमा राखेर भेरी नगरपालिकाको बोहरा गाँउ पुरयाएका थिए । खान खाएर पुनः चेक गर्ने क्रममा गोदाम रित्तै देखेपछि अनुगमन टोली आश्चार्य चकित भएको थियो । केरकार गरेपछि मल्लले विग्रिएको खाद्यबस्तु बोहरा गाँउ लिएको स्वीकार गरेका थिए । त्यसपछि टोली बोहरा गाँउ नै पुगेर एक कोठाभरी रहेको समान सिल गरेको थियो । त्यस गोदाममा धेरैजसो चाउचाउ विस्कुत लगायतको खाद्य सामग्री रहेको छ । मल्लले उत्पादक कम्पनीको रोहवरमा समान नष्ट गर्ने माग गरेपछि उक्त गोदामको सिल नखोलिएको प्रशासकिय अधिकृत देवकोटाले बताए । पसलमै बचेको म्याद गुर्जेको समान भने बुधवार नै नष्ट गरिएको उनले बताए ।

मल्ल ब्रोदर्स एण्ड सल्लायर्सले चाउचाउ, विस्कुट, जुस लगायतका खाद्य बस्तुको विक्रिका लागि कम्पनीले डिलरको मान्यता दिएको छ । यो सप्लायर्सले बार्षिक करोडौको कारोवार गर्ने गरेको छ । लकडाउनका कारण मालसमान सप्लाइ गर्न नपाउँदा लामो समय थन्किएर म्याद गएको तर विक्री भने नगरेको मल्लले बताए । म्याद भएको र म्याद सकिएको सामान सँगै थियो । छुटयाएर कम्पनीलाई जानकारी गराएर आफै नष्ट गर्ने तयारीमा थिए त्यही क्रममा अनुगमण भएको उनको भनाइ छ ।

यसैवीच, शान्तिचौतारा बसपार्कमा रहेको गोरख रावतको खाद्य पसलमा समेत अनुगमण गर्दा म्याद गुर्जेका सामान स्थानिय प्रशासनले सिल गरेको छ । चोकोक्रिप्स विस्कृत ५६ कार्टुन, सुजी २० केजीका साढे २३ प्याकेट, मासको दाल एक बोरा म्याद गुर्जेको भेटिएपछि गोदाम सिल गरिएको छ । रावतले पनि कम्पनीको रोहवरमा नष्ट गर्ने भन्दै माग गरेपछि प्रशासनले उक्त सामान छुटै कोठामा राखेर सिल गरेको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad