राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा निषेधाज्ञा(लकडाउन)को अवधी एक साता थप गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी जेठ १ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यस अघि बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरि एक साताका लागि बैशाख २५ गते सम्म जाजरकोटमा निषेधाज्ञा (आदेश) जारी गरिएको थियो । निषेधाज्ञाको समय सकिन थालेको तर संक्रमण दर नरोकिएपछि गत विहिवार बसेको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले शनिवार राती १२ बजे देखि लागु हुने गरि पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
बैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । विवाह, बर्तबन्ध, मत्यु संस्कार लगायतमा १० जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ । तर औषधी तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने विहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्न दिईने प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । साथै एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् । जाजरकोटमा हाल सम्म परिक्षण गरिएका नौ सय ४४ मध्य तीन सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी कर्मचारी भने पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने गरि आलोपालो गरेर कार्यालय खोल्नु पर्ने उल्लेख गरिएको छ । पत्रकारको हकमा भने सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा रिपोटिङ्ग गर्न दिईने भएको प्रजिअ देवकोटाले बताए ।
जाजरकोटमा जेठ १ सम्म लम्वियो लकडाउन
