April 18 - 2021, Sunday५ बैशाख २०७८, आईतवार

देश हार्दा जित्ने नायकहरू

डा. साधना प्रतिक्षा

 

हाम्रो देशको रंगमञ्चमा समयसमयमा विभिन्न नाटक मञ्चन भइरहन्छन्। अहिले पनि एउटा नाटक मञ्चन भइरहेको छ। नाटकको पृष्ठभूमि यस्तो छ— फुट्नुलाई आफ्नो मौलिक पहिचान बनाउँदै विभिन्न चिरामा विभाजित हुँदै आएको नेपाली वाम राजनीतिक दलहरूमध्ये केही समयअघि एकताबद्ध भएर प्रचण्ड नेतृत्वको माओवादी र ओली नेतृत्वको एमालेले जनतालाई एउटा नाटक देखाएका थिए। पद, सत्ता र शक्तिको भागबन्डा नमिलेपछि ती दलभित्र चुलिँदै गएको असन्तुष्टि अन्ततः तिनै दुई महान् कामरेडहरूका आपसी अभियोगका रूपमा छताछुल्ल हुन गयो।

दल एकीकरणको नौटंकीमा उभिएका एकै दलका दुई अध्यक्षबीचका गालीगलौज र कतिपय आपत्तिजनक अभियोग सार्वजनिक हुँदा सर्वसाधारणलाई कुरीकुरी लागेको थियो। धन्य यो मुलुकको लोकतान्त्रिक गणतन्त्र ! अनि कानुनी राज्य ! आफ्नै दलको प्रधानमन्त्रीलाई अध्यक्षले भ्रष्टाचार र कमिसनतन्त्रलाई प्रश्रय दिएको आदि असंख्य अभियोग लगाए। जबाफमा प्रधानमन्त्रीले अध्यक्षलाई व्यक्ति हत्याको भर्‍याङबाट सत्तामा आएको र स्थानीय निर्वाचनमा छोरीलाई जिताउन मतपत्र च्यातेको आदिजस्ता अनेकौं अभियोग लगाए।

सार्वजनिक रूपमा आएका यस्ता आरोप–प्रत्यारोप के सामान्य विषय थिए ? प्रजातन्त्र अनि कानुनी राज्यमा उपर्युक्त दुई जिम्मेवार व्यक्तिद्वारा सार्वजनिक गरिएका अभिव्यक्तिबारे छानबिन गरिनुपर्दैन ? प्रश्न औचित्यहीन छ किनकि, नियम–कानुन त केवल जनताका लागि हुन्, नेताका लागि होइनन् ! नाटकका शृंखला कायमै थिए। आपसमा हिलो छ्याप्दै दुईतिर फर्केका नेताका समूहमध्ये एउटा समूहले सडकमा पलेटी मारेर आफ्नो अस्तित्व सडकमा भएको नाटक गर्‍यो भने अर्को समूहले राष्ट्रपति र प्रधानमन्त्रीको मुखौटो भिरेर सडकमा झाँकी प्रदर्शनको अर्कै नाटक देखायो।

कोरोनाको सन्त्रास र लकडाउनको सकसले बिरक्तिएका आम नागरिकले ती नाटक हेरेर केही समय भए पनि प्रहसनको मजा लिए। केटाकेटी खुब चकित हुँदै अभिभावकसँग प्रश्न गर्न थाले— ‘यिनीहरू को हुन् ? यसरी सडकमा बसेर हामी यहाँ छौं किन भनेका ?’ अभिभावकलाई केटाकेटीको प्रश्नको चित्तबुझ्दो उत्तर दिन हम्मेहम्मे पर्‍यो तैपनि उनीहरूले यसरी केटाकेटीको चित्त बुझाउने प्रयास गरे, ‘ती प्रचण्ड, दसबर्से जनयुद्धका नायक ! त्यतिबेला यिनको अनुहार कस्तो छ भन्नेसमेत कसैलाई थाहा थिएन। भूमिगत थिए क्या ! तर यिनको नाम सुन्दै आम नागरिकको मुटु काम्थ्यो। ती अर्काचाहिँ माधव नेपाल। उनी आपूmलाई जनयुद्ध विराम गराउने नायक भन्न रुचाउँछन्। अहिले यिनकै पार्टीका प्रधानमन्त्री ओलीले यिनीहरूको बोली बन्द गरिदिएपछि पार्टीका असली नेता आपूmहरू भएको देखाउन सडकमा आएका नि !’ अचेलका केटाकेटी किन चुप लाग्थे र ? फेरि सोध्न थाले, ‘एउटै पार्टीका लागि दुईथरी झगडा गरेपछि पार्टी कसको त ?’

 

अभिभावकका लागि यो प्रश्नको उत्तर दिनु त्यति सजिलो कहाँ थियो र ? त्यसमा पनि केटाकेटीलाई बुझाउनु झनै कठिन ! त्यसपछि त उनीहरू केटाकेटीलाई कहिले एउटा छोराका लागि आआपूmलाई असली आमा भन्दै झगडा गर्ने दुई महिलाको कथा त कहिले एक डल्लो कुराउनी बाँड्ने निहुँमा आपसमा लड्ने बिराला र सो कुराउनी जोखेर बराबर बाँडिदिने निहुमा सबै आफैंले खाने बाँदरको कथा सुनाउन थाले। थाहा छैन कति केटाकेटीको चित्त बुझ्यो, कतिका मनमा अभैm जिज्ञासा बाँकी नै छ ! तर यो देशको रंगमञ्चमा सत्ता र शक्तिको दाउपेचको नाटक भने चलि नै रहेको छ। नाटकका नायकहरू कोही बीच सडकमा जमेका छन्, कोही कोठे बैठकमा रमेका छन्, कोही उत्तरको मुख ताकिरहेका छन् भने कोही दक्षिणको बाटो ढुकिरहेका छन्। मौका यही हो भन्दै कोही जनताका घरदैलो धाउने नाटक पनि गरिरहेका छन्। जो जसरी प्रस्तुत भए पनि यी सबै देश हार्दा जित्ने नायकहरू हुन्। नाटकको उत्कर्षमयी दृश्य भने यस्तो रह्यो—

सडकमा पलेटी कसेर यी नायकले ‘हामी यहाँ छौं’ भनिरहेकै बेला एउटा किशोर आफ्नो परिचयसहित उनीहरूसामु उभिन्छ र बोल्छ, ‘म जनयुद्धका बेला आमाको गर्भमा थिएँ, अहिले तिमीहरूसामु उभिएर सोध्दैछु– तिमीहरू त यहाँ रहेछौ तर आधा रातमा कुनै अज्ञात समूहले घरबाट थुतेर लगेका मेरा बाबा खै कहाँ छन् ?’ उसको प्रश्नको जबाफ त्यहाँ कसैसँग थिएन। ऊ आँखाभरि आक्रोश बोकेर फर्कन्छ। लगत्तै एउटी मैलीधैली युवती जिङ्ग्रिङ परेको कपाल फिँजाएर आइपुग्छे अनि उसैगरी प्रश्न गर्छे, ‘तिमीहरू त यहाँ रहेछौ तर मेरा पति खै ? यतिका वर्षदेखि म उनको खोजीमा भौंतारिइरहेकी छु। कहाँ हराए उनी र मेरा बैंसालु सपना ?’ यसरी अलाप–विलाप गर्दै बलीन्द्र धारा आँसु झारेर ऊ मञ्चबाट बाहिरिन्छे। प्रहरी जवानसँग बिहे भएको महिना दिनमा नै विधवा भएकी ऊ मानसिक सन्तुलन गुमाएर यसरी नै आफ्नो पति र बैंसालु सपनाको खोजीमा भौंतारिँदै हिँडिरहेकी देखिन्छे।

पात्रहरूको आगमन र बहिर्गमनकै क्रममा केही अधबैंसे महिला रुँदारुँदै सुन्निएका आँखासहित देखा परे अनि भक्कानो फुटाउँदै प्रश्न गरे, ‘तिमीहरू त यहाँ रहेछौ तर निर्मला, सपनाजस्ता हाम्रा असंख्य छोरीहरू खै ? कस्तो परिवर्तन ल्यायौ तिमीहरूले जहाँ हाम्रा दूधमुखे तथा किशोरी छोरी सुरक्षित हुँदैनन् ! निर्मलाजस्ता अबोध छोरीले न्याय नपाएको यो सडकमा तिमीहरू कुन मुख लिएर बसिरहेका छौ ? हामीलाई हाम्रा छोरीहरूको सुरक्षित भविष्य देऊ, अन्यथा फिर्ता गर हामीले दिएको आस्था र विश्वास।’ ती आमा फरियाको सप्कोले आँसु पुछ्दै बाहिरिए।

यसैगरी जीर्ण अवस्थाका एकजोडी वृद्धवृद्धा लौराको सहाराले हिँड्दै आएर अडिन्छन् र बोल्छन्, ‘तिमीहरूलाई नै खोजिरहन्थ्यौं, बल्ल यहाँ भेट्यौं। धन्न सडकमा भएर पो कुरा गर्न पाइयो नत्र त तिम्रा बडेमाका महलमा हामीले छिर्न कहाँ पाउनु ? हामीलाई देखाएका ती मीठामीठा सपना खै ? तिमीहरूले हाम्रा काखका सन्तान खोस्दा पनि हामी बोलेनौं गाउँ–समाजको मुहार फेरिने आशामा ! गाउँको मुहार त फेरियो तर उल्टोबाट पो ! भएका झुप्रा पनि निर्जन बने, ठिटाठिटी कि मुग्लान झरे कि सहर पसे। हामी बूढाबूढी एक्लै अनि रित्तै ! यही हो तिमीहरूले देखाएको सपना ?’ वृद्धाले आफ्नो फाटेको पछ्यौरी थापेर बरबरी आँसु झार्दै भनिन्, ‘तिमीहरूले आफ्नो वाचा पूरा गर्न सकेनौ, त्यसैले फर्काइदेऊ हाम्रा सन्तान, हाम्रो बुढेसकालको सहारा…।’ बोल्दाबोल्दै उनी त्यहीं घुप्लुक्क ढलिन्। पर्दा सर्कंदै दृश्य परिवर्तन भयो। नाटकका नायकहरू मुर्मुरिए खल पात्रको आगमनले नाटकलाई असफल बनाएकोमा। उनीहरू अर्को प्रभावकारी नाटकको तयारीका लागि आपसी परामर्श गर्ने योजनाका साथ जुर्मुराउन थाले।

यस्तै नाटकीय खेलहरूको मैदान बन्दै आएको छ हाम्रो राजनीति जसमा देश र जनता सदा हारको भागीदार बनेका छन् भने जितको भागीदार यिनै नायक बन्ने गरेका छन्। इतिहासका पाना पल्टाउँदै जाँदा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा होमिएको देश र जनता प्रजातन्त्र प्राप्तिपश्चात् पनि जितको भागीदार बन्नै पाएनन्। निर्दलीय कालरात्रिमा फस्टाउन नसकेका सुख–समृद्धिका सपना बहुदलीय प्रजातन्त्रमा फस्टाउलान् भन्ने आशा पनि अन्ततः निराशामा परिणत भयो।

दलीय स्वार्थ र तिनका नेताहरूका उच्चाकांक्षामा अल्झेको राजनीतिले कहिल्यै निकास पाउन सकेन। प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र हुँदै लामो कालखण्ड पार गरे पनि उपलब्धि देश र जनतामुखी देखिएन। परिवर्तनका प्राप्तिको जगेर्ना गर्दै जनहितमा काम गर्नुको सट्टा सत्ता र शक्तिका लागि भइरहने तानातानीमा मुलुकले असंख्य अवसर गुमाउँदै आएको छ। हालको राजनीतिक अन्योल र त्यसले सिर्जना गरेको विषम परिस्थिति पनि यसैको उपज हो। एकथरी नायकहरू जनमतको उपहास गर्दै संसद् विघटनमा अग्रसर भए। अर्काथरी त्यसको पुनस्र्थापनाका लागि अदालत धाए। पाएको जनादेशअनुरूप काम नगर्ने अनि नयाँ जनादेशका लागि निर्वाचनमा जानु आपैmंमा हाँस्यास्पद छँदैछ, त्यसमा पनि महामारीले जर्जर भएको अर्थतन्त्रबीच निर्वाचनमा बजेट खर्चिनुपर्ने बाध्यता सुखदायी देखिँदैन।

छिमेकी मुलुकका जनता कोभिडविरुद्ध खोप पाउँदैछन्। हाम्रोजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकले चुनावी खर्च खोपको व्यवस्थामा लगाउन सकेको भए ! यति मात्र होइन हाम्रा केही राजनीतिक नायकहरू अझैं जनताको बलिदानको आह्वान गर्न पछि परेका छैनन्। यतिबेला हामीकहाँ थरीथरीका नायकहरू फेरि नयाँ–नयाँ सपना र आश्वासनका साथ अभिनयमा तल्लीन देखिएका छन् तर यिनीहरू सबै देश हार्दा जित्ने नायकहरू नै हुन्। त्यसैले पटाक्षेप हुनुपर्छ यो नौटंकीको !

Prabaha

faujikira-sambandhi-suchana