राजेन्द्र कार्की । जाजरकोट
जुम्ला जिल्ला सँग सिमाना जोडिएको विकट बारेकोट गाँउपालिकामा चरम खाद्य संकट परेपछि सरकारले हालै बारेकोटको काउलीमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेडको विक्री केन्द्र स्थापना गर्यो । बाढीपहिरो प्रभावित त्यस क्षेत्रको खाद्य संकट टार्न दुई सय क्वीन्टल चामल ढुवानी अनुदान दिएर पठायो । दुई हप्ता नवित्दै सवै चामल सकियो । बारेकोटकै नायकवाडाको घाटमा रहेको खाद्य डिपोमा चामल पुग्ने वित्तिकै हारालुछ हुन्छ । कहिल्यै चामल पुग्दैन । डिपोमा ४२ क्वीन्टल चामल मौज्दात राखिएको र थप चामल पठाउने कार्य भैरहेको खाद्य तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत बताउँछन् । तर स्थानियले चामल नपाएको गुनासो गरेका छन् । गाँउमा किन्ने चामल पाईदैन । डिपोमा चाहिएको बेला पाईदैन । कतिखेर कसलाई वितरण गर्छन थाहै हुँदैन स्थानिय महेन्द्र नेपालीले बताए ।
गत असार २५ गते गएको पहिरोका कारण विस्थापित भएर त्रिपालमा बसिरहेका स्थानिय चरम खाद्य संकटको चपेटामा परेका छन् । खाद्यान्न नहुँदा सयौ परिवार भोकभोकै परेका छन् । नयाँ बाली पाकेको छैन । गाँउमा किनेर खाने अन्न पाईदैन । अहिले सम्म सरकारले राहत दिएको छैन के आएर बाँच्ने बारेकोट ४ कि पार्वती सार्कीले भनिन ‘हामी साह्रै समस्यामा छौ । पहिरोले भन्दा भोकले मरिएला जस्तो छ ।’ पहिरोको त्रासले घर छोडेर त्रिपालमा बसेको दुई महिना पुग्न लागिसक्यो त्यतिवेला देखि नै पेटभरी खान पाईएको छैन उनले पिडा पोख्दै भनिन ‘केटाकेटी भोक लाग्यो भन्छन् । के खुवाउँ ? घरमा खानेकुरा केही छैन ।’
उनी जस्तै सयौ परिवार खाद्य संकटको चपेटामा परेका छन् । पहिरोले सडक अवरुद्ध गरिदिएको छ । सदरमुकाम पुग्न दुई दिन पैदल हिड्नु पर्छ । त्यहाँ उत्पादित अन्नले तीन देखि ६ महिना मात्र खान पुग्छ अन्य महिना नेपाल खाद्य तथा ब्यापार कम्पनीकै चामलमा भर पर्नु पर्ने बाध्यता छ । तर यतिवेला गत बर्षको चामलको कोटा सकिएको र चालु आवमा भर्खर टेण्डर भएकोले समस्या भएको हो । बर्षेनी साउन भदौमा खाद्य संकट पर्छ तर यतिवेला टेण्डरमै समय बित्छ स्थानिय लोकबहादुर सिंहले भने ‘जतिबेला नागरिकलाई अफ्ठयारो परेको हुन्छ त्यतिवेला सहुलियतको खाद्यन्न पाईदैन । जसका कारण बारेकोटमा सधै खाद्यान्न अभाव रहन्छ ।’
बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परि अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँच सय सात जना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् । केही विस्थापित परिवार नजिकैको खाली जग्गामा त्रिपाल टाँगेर बसेका छन् भने केही विद्यालयमा आश्रय लिएका छन् ।
बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् । केही संस्था र ब्यक्तिले दिएको सिमित राहतले ठुलो संख्यामा विस्थापित परिवारको गर्जो टर्न सकेको छैन ।