राजेन्द्र कार्की । जाजरकोट
महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु गरिएको छ । सकारात्मक सोच तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको पहलमा विभिन्न दाताहरुको सहयोगमा भोक विरुद्ध सहायता अभियान थालिएको हो ।

अभियान अन्र्तगत पहिलो चरणमा जाजरकोटका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाका एक सय विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । प्रति परिवार २५ केजी चामल र ५ केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवार खाद्यान्न सहयोग गरिएको अभियानका स्थानिय समन्वयकर्ता काशिराम कार्कीले बताए । त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाँउपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।

अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाँउपालिका र जिल्लाका अरु स्थानिय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाँउपालिका ४ का कलवीर नेपालीले खुसी ब्यक्त गरे । घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताईरहेको थियो । चामल पाएपछि पेट भर्न पाईने भो । दाताहरुलाई भगवानको संज्ञा दिदै उनले सवैलाई धन्यवाद दिए । शिवालयमा गाँउपालिकाका कार्यवाहक उपाध्यक्ष कुमारी थापा र वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडमा वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेमा गाँउपालिकाका कार्यावाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गरेका थिए । त्यस्तै सवै पालिकाको खाद्यान्न हस्तान्तरण कार्यक्रममा डिस होमका जाजरकोट प्रतिनिधी बसन्त प्रसाद शर्मा, विपद सरोकार समिति जाजरकोटका सदस्यहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद दुई लाख सहयोग गरेको छ । सत्कार इलेक्टोनिक्स जाजरकोटका परोपराइटर बसन्त प्रसाद शर्माले ब्यानर र खानाबस्नको करीव १५ हजार रुपैया सहयोग गरेका छन् भने जुनीचाँदेको खाद्यान्न ढुवानीको जिम्मा गाँउपालिकाले लिएको थियो ।

जाजरकोटबाट सुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि संचालन गरिने अभियान्ता कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्न नपरोस भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने –‘हामीलाई विभिन्न ब्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौ । हुनेबाट मागेर नहुनेलाई दिने गरि अभियान थालिएको हो । सवैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो । तपाई हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्हो बल्न सकोस भन्ने अभियानको उद्देश्य हो ।’
सहायता अभियानका लागि डिस होम प्रालि., लाइन्स क्लब, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, संगम पब्लिकेशन, वि सर्भ, रिड मोर पब्लिकेशन लगायतका संघसंस्था र ब्यक्तिगत सहयोगमा आर्थिक स्रोत संकलन भैरहेको कार्कीले बताए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिदै कर्णालीका महामारी र प्रकोप पिडित समुदायका लागि भोक विरुद्धको अभियानमा सहयोग गरिदिन अन्य दाताहरुलाई पनि अपील गरेका छन् ।
