March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

जो परिवारै गुमाएर पनि बाँचे ः १० बर्षिय बालकले आमा खोई भनेपछि…

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट ४ सार्कीटोलका १० बर्षिय लोकेन्द्र सार्की जव घर पुगे घरको नामोनिसान थिएन । आफुलाई माया गर्ने आमा र दिदिहरु पनि थिएनन् । प्यारो भाई पनि थिएन । घर भएको ठाँउमा ठुलो पहिरो गएको थियो । मानिसहरु पहिरोले पुरिएको ठाँउमा खन्दै थिए । बुवा टोलाइरहेका थिए । उनी इन्तु न चिन्तु भए । ‘आमा खोई बुवा ? दिदिहरु र भाई पनि छैन । हाम्रो घर खोई ?’ लोकेन्द्रले बुवा तुले सार्कीको अनुहार तिर हेरेर सोधे तर उनले जवाफ फर्काउन सकेनन् । आँशु खसाली रहे । तुलेको गला अवरुद्ध भयोे । बोल्नै सकेनन् । लोकेन्द्र लेकमा रहेको गोठमा साथी सँगै गएर बाँचेका थिए । घटना भएको दुई दिन पछि उनी घर पुग्दा उनी आफु बस्ने प्रिय घर र आफुलाई माया गर्ने आमा, दिदि र भाइ खोजिरहेका थिए । तुले भन्छन ‘हामी गरीव छौ । यहि पहरोमा बस्यौ । अन्त जाने ठाँउ छैन । जोखिमयुक्त ठाँउमा बसेकै कारण आज परिवार नै गुमाउनु परयो ।’

२५ असा विहिवारको त्यो कालो रात । सवै मस्त निन्दामा थिए । बाबु र छोरा त्यस दिन घर बाहिर भएकाले बाँच्न सफल भएका छन् । तर लोकेन्द्रकी आमा, दुई दिदि र एक भाई चिरनिन्द्राबाट विउँझन नपाएरै पहिरोले उनीहरुलाई माटोमा मिलायो । उनका ३८ बर्षिया श्रीमति कुलु सार्की, १४ बर्षिया छोरी तिर्खा सार्की, ११ बर्षिया छोरी कमला सार्की र ६ बर्षका छोरा सुभास सार्कीको मृत्यु भएको छ । घरमा रहेका सवै परिवारको पहिरोले पुरिएर मृत्यु भएको छ । तर त्यसदिन घरमुली तुले सार्की छिमेकी घरमा विरामी सँग बस्न गएकाले ज्यान जोगियो । अर्को छोरा लोकेन्द्र साथीहरु सँग लेकमा रहेको गोठमा बस्न गएको हुँदा बाँच्न सफल भएका छन् । घरमा फर्किदा घरको नामोनिसान थिएन । बाबु परिवारको किरिया बसेका छन् । छोरा लोकेन्द्र आमा, दिदिहरु र भाईको सम्झनामा टोलाईरहेका छन् । उनका आँशु अझै थामिएका छैनन् । मृत्यु भनेको के हो राम्रो सँग थाह नपाउने उमेरका उनी भाई, दिदि र आमाको सम्झनामा टोलाईरहेका छन् । ‘भाई दिदि र आमा खोई ? हाम्रो घर खोई भनेर छोराले सोध्छ म के जवाफ दिउँ ?’ बुवा तुलेले भने ‘सवै गुमाएर हामी अभागी मात्र बाँचेको के काम ?’

त्यस्तै विवाहका लागि आमाबुवाले रोजेकी केटी हेर्न अर्को गाँउ जाँदैन्थे भने बारेकोट ४ सार्कीटोलका कृष्ण सार्की परिवार सँगै पहिरोमा पुरिने संभावना थियो तर उनी केटी हेर्न सोही गाँउपालिका ७ सुवाकोट गएकाले बाँचे । उनले बुवा, भाइ र बहिनी गुमाएका छन् । पहिरोमा बेपत्ता आमा जिवित भेटिने आस छैन । परिवारै गुमाएर म मात्र बाँचेको के काम उनले भावविहल हुदै भने ‘आमाबुवाले हामीले तेरो लागि केटी खोजिदिएका छौ । अव विहे गर्नुपर्छ । जा हेरेर आईज । मनचित्त लागे । छिटै विहे गराईदिउला भन्नु भएको थियो । उहाँहरुकै आग्रह अनुसार असार २५ गते केटी हेर्न गएको थिए । भोली पल्ट शुक्रवार विहान फर्किएर घर नपुग्दै पहिरोेले घर सहित सवैलाई एकै चिहान बनाएको खवर सुने । शरिर पुरै करेन्ट लागे जस्तो भयो । घर पुग्दा मानिससहरु जम्मा भएका थिए । घरको नामोनिसान थिएन । त्यही भुँइमा बेहोस भएर लडेछु ।’


२५ गते मध्यरातमा गएको पहिरोमा परि कृष्णका बुवा गोपाल सार्की , ११ बर्षिय अर्जुन सार्की र १३ बर्षिय लक्ष्मी सार्कीको ज्यान गएको छ । आमा पुष्पा सार्की बेपत्ता छन् । उनी सवै परिवारको काजकिरियामा छन् । घर बगाएपछि किरिया समेत स्थानिय एक विद्यालयको एउटा कोठामा गरिरहेका छन् । भन्छन् ‘परिवार सवै मरेर म मात्र बाँचेर के काम, बरु कालले म अभागीलाई पनि सँगै लिएको भए वेश हुन्थ्यो ।’ छोराको विहे गरेर बुहारी भित्र्याउने बुवाआमाको सपना पहिरोमै विलिन भएको छ ।

दुई परिवारका बेपत्ता सहित ८ जना र कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौराटाका चार जना युवायुवतीको पनि त्यही पहिरोमा पुरिएर ज्यान गएको छ । दिदिको घरमा काम सघाउन र भेटघाटका लागी आएका उनीहरु सदाका लागि माटोमा विलय भए । दिदिको घरमा आएका कुशे ९ चौराटाका २० बर्षिय डिल्ली सार्की, १८ बर्षिय विरेन्द्र सार्की, १४ बर्षिइ गौरी सार्की र १६ बर्षिया कविता सार्की पहिरोमा पुरिएर ज्यान गएको हो । उनीहरु सवै अविवाहित हुन् । डिल्ली र विरेन्द्रको यसै बर्ष विहे गर्ने टुङ्गो लागेको थियो ।

त्यस्तै पहिरोमा परि पुष्पा सार्की अझै बेपत्ता छन् । सोही दिन धुमा खोलामा आएको बाढीले बगाउँदा बारेकोट ६ का २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने बेपत्ता भएका छन् ।

बारेकोटमा गएको बाढी पहिरोले धेरै मानिसहरु विस्थापित भएका छन् । गाँउपालिकाका विभिन्न वडाका विभिन्न बस्तीमा एक साता यता मात्र एक हजार ५५ जना विस्थापित भएर स्थानिय विद्यालय, चौर तथा गोठमा बसिरहेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । विस्थापित परिवार सँग खाने अन्न नहुँदा भोकभोकै पर्न थालेका छन् । उनीहरु राहतको पर्खाइमा रहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad