राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा विहिवार राती गएको पहिरोमा परि बेपत्ता थप एक जनाको शब फेला परेको छ । मृतकको संख्या १० पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता ११ बर्षिय कमला सार्कीको शव आइतवार विहान उद्धार टोलीले भेटेको हो । कमला घटनामा परि मृत्यु भएकी कलु सार्कीकी छोरी हुन ।
३८ बर्षिया कलु सार्की, उनकी १३ बर्षिय तिर्सा सार्की र उनका ६ बर्षिया छोरा सुभास सार्कीको मृत्यु भएको छ । घटनामा परि पाहुना आएका कुशे ९ चौराटाका १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की, २० बर्षिया डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनीहरु दिदिको घरमा पाहुन आएका थिए । पहिरोमा परि बारेकोट ४ का ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।
गोपालकी श्रीमति ५० बर्षिया पुष्पा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की पहिरोमा बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । भिरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् ।
चार सय बढी परिवार विस्थापित
पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा चार सय बढी परिवारका दुई हजार बढी मानिसहरु विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बारेकोट १ कोट्लीका १२ परिवारका ६० जना, सोही वडाको धौलाकोटका ३२ घरका एक सय २५ जना, वडा नम्बर ४ जिरीका ५१ परिवारका दुइ सय १५ जना, गोठगाँउका ७३ घरका तीन सय ७० जना, तल्लो जिरीका ३० घरका एक सय पचास जना, मैनाका ६० घरका तीन सय जना र वडा नम्बर ५ का कालाखोली, तोल्खान, भैलोखानाका एक सय ५० घरका नौ सय जना विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार तिन दिन यता अहिले सम्म बारेकोटमा चार सय आठ घर विस्थापित भएका छन् । दुई हजार एक सय २० भन्दा बढी मानिस विस्थापित भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
बारेकोटमा गएको पहिरोले ठुलो धनजनको क्षति पुरयाएको छ । विस्थापितको संख्या अझै बढ्न सक्ने जनाईएको छ । गाँउपालिकाले विस्थापितको विवरण संकलन भैरहेको जनाएको छ । बेपत्ताको खोजीमै सवै केन्द्रित भएको र संचार सम्पर्क विच्छेद भएका कारण बालीनाली र पशुचौपायामा भएको क्षतिको विवरण आउन नसकेको डिएस्पीले बताए । पहिरोको त्रासले गाँउपालिका अध्यक्ष महेन्द्र शाह, वडाध्यक्ष अजबीर सिह र प्रमुख प्रशासकिय प्रमुख गोविन्द सिंहको परिवार विस्थापित भएको छ । अध्यक्ष शाहले आफ्नो परिवार विस्थापित भएर विद्यालयमा बसिरहेको छ तर पनि आफु बेपत्ताको खोजी र विस्थापितको राहत तथा ब्यवस्थापनमा जुटिरहेको बताएका छन् ।
पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा लगायतका गाँउ नै बग्ने खतरा बढेर गएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजससो विस्थापितहरु भगवति आधारभुत विद्यालय, हिमालय माध्यमिक विद्यालय गोठगाँउ, गोरख आधारभुत विद्यालय जिरी लगायतका विद्यालयमा आश्रय लिएर बसेका छन् । विस्थापित परिवारलाई खान र बस्नको निकै समस्या परेको छ । विस्थापितहरुलाई शौचालय र खानेपानीकोे समेत समस्या परिरहेको छ । ठुलो संख्यामा मानिसहरु विस्थापित भएकाले ब्यवस्थापनमा कठिनाई भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
अत्याधिक बर्षातले ठाँउ ठाँउमा पहिरो गएको, गाँउ नै भासिएको र ठाँउ ठाँउ चिरा परेपछि घर छोड्न बाध्य भएको बारेकोट ५ का लिलबहादुर शाहीले बताए । उनले जतिखेर पनि पहिरो जान सक्ने त्रासले गाँउलेहरु चिन्तित भएको बताए । विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने उनको माग छ ।
पहिरोमा बेपत्ता पाँच जनाकोे खोजीमै सवै केन्द्रित भएका छन् तर विस्थापित परिवारको ब्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । अहिले सम्म प्रमुख जिल्ला अधिकारी संयोजकत्वको विपद् ब्यवस्थापन समितिले बारेकोटमा विस्थापित परिवारको राहत, उद्धार र ब्यवस्थापनमा आवश्यक पहल नगरेको स्थानियको गुनासो छ । विस्थापितहरुलाई खान बस्नको निकै समस्या परेको छ । सुत्केरी तथा गर्भवति महिला, बालबालिका र जेष्ठ नागरिक निकै समस्यामा परेका छन् । धेरै विद्यालयका छाना चुहिने भएकोले सुत्न नसकेर रातभर जाग्राम बस्ने गरेको बारेकोट ५ का नरबहादुर रोकायले बताए । ‘पहिरोको त्रासले विद्यालयमा आएर बसेकाहरुलाई खानाबस्नको निकै समस्या भएको छ । धेरै परिवारको विचल्ली भएको छ । विहान बेलुका छाक टार्न समेत समस्या भएको छ’ उनले भने ‘अहिले सम्म कसैले पनि विस्थापित परिवारका समस्याबारे कसैले चासो दिएका छैनन् ।’ बाढीपहिरोले बारेकोटका विभिन्न गाँउ जोड्ने बाटोघाटो सवै बन्द भएका छन् ।
सदरमुकाम खलंगा आउने बाटो पनि अवरुद्ध छ । सञ्चार सम्पर्क विच्छेद छ जसका कारण बारेकोट पहिरोमा राहत, उद्धार र विस्थापित परिवारको ब्यवस्थापनमा स्थानिय, प्रदेश र संघिय सरकार विच समन्वय हुन सकेको छैन । गाँउपालिकाले पहिरो जाने क्रम नरोकिएकाले सर्तक र सचेत रहन सवैलाई आग्रह गरेको छ ।
हेलिकोप्टरबाट शनिवार केही थान त्रिपाल, खाद्यन्न लगायतका राहत सामग्री बारेकोट झारिएको छ । प्रदेश सरकारले उक्त राहत सामग्री पठाएको हो ।