अझै झस्किन्छन रुकुम घटनाका घाईते

lagu ausadhi biruddha abhiyan jajarkot

सुरक्षा र मनोपरामर्श सेवाको आवश्यकता

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको भेरी नगरपालिका ४ का सुदीप खड्काको शरीरिक चोट विस्तारै ठिक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गईरहेको छ । तर बेलाबेला घटनाको पिडा र त्रासले सताइरहेको छ । बेला बेला आफै घटना सम्झेर झस्किन्छन् । तर्सिन्छन । भेरी नगरपालिका ४ का नबराज विक सहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका घाइते हुन सुदिप ।

सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए तर उनीहरुलाई मरणासन्न हुनेगरी पिटियो । गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभएपनि उनी त्रासकै कारण घर फर्किए । प्रहरी, संचारकर्मी र अन्य आफन्तले के भएको हो कसरी घटना भयो सोधेर हैरान पारे पछि आफु घर आएको बताए । बेलाबेला उनलाई त्यही नवराज लगायतका साथीहरुले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ । ‘मेरै आँखा अगाडी मारेर भेरीमा फालेको दृश्य फनफनी घुमिरहन्छ । मलाई पनि समातेर निकै कुटे अहिले पनि शरिर दुखिरहेको छ । धेरै दिन त्यही घटनाको सपना देखे । कहिलेकाँही सपनामै वर्वराउँदो रहेछु,’ विक्षिप्त अवस्थाका उनले पिडा सुनाए ।

उनलाई टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच पनि भएको छैन ।
भेरी नगरपालिका ४ कै मदन शाही पनि घटना पछि निकै तनावमा छन् । शारीरिक चोट एकातिर छ भने मानसिक समस्या पनि उत्तिकै छ । उनी एक्लै टोलाउँछन् । घटना सम्झैर झस्किन्छन् । सुतेको बेला समेत मलाई नमार्नोस भन्छ मदनकी आमा लक्ष्मी शाहीले भनिन । सुविधा सम्पन्न अस्पताल लिएर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भएपनि आर्थिक अभावले कतै लिन नसकेको उनले बताईन । घरी पुलिसले बोलाउँछ । घरी को आँउछन् बोलाउँछन् । के भएको हो भनेर सोध्छन् । उ आफै समस्यामा छ । दश थरी मान्छेलाई कति बयान दिनु लक्ष्मीले भनिन ‘अहिले पनि छोरो डराईरहेको छ । सत्य बोले आफुलाई पनि मारिदिने हुन कि भन्ने त्रासमा छ ।’

गाँउलेको ठुलो हुलले ढुंगाले हिर्काएको, आफुहरु रुँदै–कराउँदै, चिच्याउँदै भेरीमा फाल हालेको, भेरीको एउटा भंगालो तरिसक्दा पनि गाँउलेले लखेटी–लखेटी कुटेको घटना मानसपटलमा ताजै छ भेरी नगरपालिका ३ का महेश कार्की सँग । त्यसमाथि ६ जना साथी गुमाएको पीडा । ‘जतिबेला पनि हामीलाई लखेटेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ । बल्लतल्ल निदायो भने फेरि त्यही घटनाले झस्काइहाल्छ,’ उनले भने । भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनी कुटिएका थिए । सुदीप, मदन र महेश मात्र होइन घटनामा परि बाँच्न सफल १२ जनाको अवस्था यतिवेला असामान्य छ । प्रायः सबै घाइतेहरुलाई मानसिक तनावले सताइरहेको छ । झर्को मान्ने, डराउने, रिसाउने, एक्लै बस्ने, आत्तिने गर्छन् । घाईते सवैले नवराज सहित ६ जनालाई नै हत्या गरि फालेको बयान दिएका छन् । त्यही बयानकै कारण उनीहरुलाई फेरि आफूमाथि हमला होला भन्ने डर पनि छ । घाइते शरोज भडेल भन्छन्, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’
घाइतेहरु सबैको आर्थिक अवस्था पनि नाजुक छ । कोही पढ्थे, त कोही ज्याला मजदुरी गर्थे । स्थायी आम्दानी कसैको छैन । सबै घाइतेको छाती र टाउकोमा चोट लागेको छ । तत्काल सिटी स्क्यान गर्नु आवश्यक छ । घाइते र आफन्तले यही बिन्ती गरिरहेका छन् तर जाजरकोटमा सिटी स्क्यानको सुविधा छैन । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले घाईतेको जिल्लामै सामान्य उपचार गराउन सघाएका छन् । तर घाईतेको जिल्लाबाहिर लगेर उपचार गर्ने पहल हुन सकेको छैन । उनीहरुको टाउकोको स्क्यान गर्ने र मनोपरामर्शको जरुरी छ जिल्ला अस्पतालका डा. अमिन शाहले भने ‘घाइते केटाहरुमा घटनापछि मानसिक समस्या देखिएको छ । यस्तो बेला एक्लै झोक्रिने, बर्बराउने, डराउने लगायतका समस्या देखिन्छन । उनीहरुलाई मनोसामाजिक परामर्शको आवश्यकता छ ।’
घाइतेहरुको सुरक्षा , उपचार र मनोपरामर्श सेवा तत्काल राज्यले उपलब्ध गराउनु पर्ने अधिकारकर्मी गोपाल नेपालीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad