‘सँगै सुतेका साथीले घुर्दा निन्दा नै लाग्दैन’
राजेन्द्र कार्की । दल्ली
जिल्लाको नलगाड नगरपालिकाले हालै भारतबाट आएका ९७ जनालाई त्रिभुवन मावि दल्लीमा राखेको छ । विद्यालयमा बनाइएको क्वारेन्टाइनमा एउटै कोठामा २७ जना सम्म बस्ने गरेको पाईएको छ । कोठा अभावमा एउटै कोठामा २७ जना सम्म राख्नु परेको नगरप्रमुख टेकबहादुर रावलले बताए । ब्यवस्थापना गर्न निकै गाह्रो छ । एउटै बसमा आएकाले सँगै राखिएको उनको भनाई छ । ब्यवस्थापन समस्याले क्वारेन्टाइनमा बसेका एक जनामा संक्रमण भए सवैमा संक्रमण हुने देखिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरु विद्यालयको कोठामा भुईमा त्रिपाल त्यही माथि रेडक्रसले दिएका कम्बल विछ्याएर लहरै सुत्ने गरेका छन् । धेरै दिन सम्म धेरै जना कोचिएर सँगै बस्नु पर्दा निकै सकस भएको नलगाड १० का हिरा बहादुर नेपालीले बताए । उनले भने ‘राती साथीहरु घुर्नु हुन्छ निदै लाग्दैन । ९७ जनाको लागी दुईटा मात्र शौचालय छ । पालो नै पाईदैन । कुनै दिन त दुई घन्टा पछि पालो आउँछ । साहै समस्या भो ।’
स्वाब संकलन गरि पठाएका केहीको १३ दिन वितिसक्यो अझै रिपोर्ट आउँदैन । केहीको स्वाब संकलन नै गरिएको छैन । स्वाब संकलन गरिएकाको रिपोर्ट नआउँदा र स्वाब नै संकलन नहुँदा साह्रै अन्यौल भएको उनले गुनासो गरे । पुरुषलाई मात्र होइन महिलालाई झन शौच गर्न र नुहाउन निकै समस्या छ त्यहाँ । नुहाउनका लागी पुरुष र महिलाको धारा एउटै छ त्यो पनि खुला छ । नुहाउन र दिसापिसाव गर्न निकै समस्या भएको क्वारेन्टाइनमा रहेकी एक महिलाले गुनासो गरिन । नलगाडको मात्र होइन जिल्लाका सवै गाँउका क्वारेन्टाइनको हालत यस्तै छ । छेडागाडमा पनि यस्तै समस्या छ । ६ वटा विद्यालयमा सात सय ९८ जना राखिएको छ । त्यहाँ पनि एउटै कोठामा २० भन्दा बढी राखिएको छ । खानेपानी र शौचालयको अवस्था पनि उस्तै हो । जिल्लाभरका क्वारेन्टाइन नाम मात्रका छन् । त्यहाँ बसकाले आफुलाई थप सास्ती र सजाय भएको गुनासो गरेका छन् ।
भेरीमा ४६ महिला सहित पाँच सय ७३, नलगाडमा २६ महिला सहित एक ३२ र ७६ महिला सहित सात सय ९८ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् । बारेकोटमा २७ महिला सहित एक सय ८० जना, जुनीचाँदेमा ३३ महिला सहित दुई सय ५३, कुशेमा २६ महिला सहित एक सय ८६ र १४ महिला सहित पाँच सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका सात स्थानिय तहका विभिन्न विद्यालयमा बनाईएका ३७ क्वारेन्टाइनमा भारतबाट आएका दुई सय ४३ महिला सहित दुई हजार ६ सय १७ जना रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जाजरकोटको पालो नआएपछि पिसिआर परीक्षणका लागी स्वाव संकलन कार्य समेत बन्द गरिएको छ । कोरोना पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि सुर्खेत पठाइएका चार सय ४८ जनाको रिपोर्ट १३ दिन विति सक्दा पनि अझै आउन सकेको छैन । परीक्षणका लागी समेत सोर्सफोर्स लाग्ने गरेको छ । प्रदेश सरकारमा हर्ताकर्ता मन्त्रीका जिल्लामा छिटो परिक्षण हुने गरेको र अन्य जिल्लाको पालै नआउने गरेको नलगाड नगरपालिकाका प्रमुख रावलले गुनासो गरे । क्वारेन्टाइनको अनुगमण गरेर फर्किएका नेपाल रेडक्रसका उपसभापति खम्बजंग शाहले पिसिआर रिपोर्ट छिटो दिनु पर्ने, पिसिआरका लागी तत्काल स्वाब संकलन गर्नुपर्ने बताए । उनले दल्ली क्वारेन्टाइनमा शौचालयको निकै समस्या रहेको बताए ।
शुरुमा भारतबाट आएका सवैको पिसिआर परीक्षण गर्ने जनाएको सरकारले कार्यविधि परिवर्तन गरेर नगरेपनि हुने निर्णय गरेको छ । कर्णालीका विभिन्न जिल्लाको भार जुम्ला र सुर्खेत स्थित प्रयोगशालाले थेग्न नसकेपछि स्वाब संकलन कार्य बन्द गरिएको छ । अव देखी १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी गरेर पोजेटिभ देखिएपछि मात्र पिसिआर गर्ने निर्देशन आएकोले स्वाब संकलन कार्य बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए ।
पिसिआर परीक्षणमा ढिलाई हुन थालेपछि जिल्लामै पिसिआर परीक्षण गर्ने मेसिन किन्नु पर्ने आवाज उठ्न थालेको छ । परीक्षण गरिएका तीन सय मध्य एक प्रहरी सहित बारेकोटका चारजनामा कोराना संक्रमण देखिएको छ । प्रहरीलाई जिल्ला अस्पताल राखिएको छ भने अन्य तीन जनालाई बारेकोटमै राखिएको छ । तीनै जना एकै घरका हुन् । उनीहरुको सम्पर्कमा आएकालाई ट्रेसिङ्ग गर्दा एक सय ९२ जना पत्ता लागेको र तिनीहरुलाई आरडिटी गर्दा दुई जनामा पोजेटिभ देखिएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । आरडिटीबाट पोजेटिभ देखिएका उनीहरुलाई पिसिआर गरिनेछ । स्थानिय सरकार प्रमुख सहित सरोकारवालाको बैठकले पिसिआर मेसिन खरीदका लागी कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमा अनुरोध गर्ने, प्रत्येक पालिकामा संभव भए सम्म आइसोलेशन बनाउने लगायतका निर्णय गरेको छ ।