राजेन्द्र कार्की । जाजरकोट
शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना पिडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जना विरुद्ध कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताए ।
दलित अधिकारकर्मी र पिडित परिवारले घटनाबारे निश्पक्ष छानवीन हुनु पर्ने, पिडित परिवारलाई राज्यले क्षतिपुर्ती दिनु पर्ने, घाईतेको निशुल्क उपचारको ब्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पिडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पिडित परिवार लास बुझ्न सहमत भएका हुन् । चौरजहारीका टीकाराम सुनारको सव पोष्र्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधवार पोष्र्टमार्टम गरिने प्रजिअ पन्तले बताए । हराएका तीन जनाको खोजी कार्य भैरहेको उनले बताए । खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न रहेका छन् । गोताखोर लगायतका प्राविधिक स्रोत साधान नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।
भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ ।
घटनाको अनुसन्धानका लागी रुकुम प्रहरीले प्रहरी निरीक्षक कवी रोकालाई खटाएको छ । वडाध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भैरहेको उनले बताए । हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न अनुसन्धान पछि यथार्थ विस्तारै खुल्छ उनले भने ‘पोष्टमार्टम रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।’