राजेन्द्र कार्की । जाजरकोट
केटी भगाउन गएका एक युवाको नदीमा डुबेर मुत्यु भएको छ । ६ जना बेपत्ता छन् । १२ जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गाउँलेहरुको लखेटाईबाट भाग्दै गर्दा भेरी नदीमा डुबेर मृत्यु भएको छ । सँगै भागेका अरु ६ जना बेपत्ता भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको लखेटाईबाट भाग्दैगर्दा बिकको भेरी नदीमा डुबेर मृत्यु भएको हो ।
नबराजसंगै भागेका ६ जना युवाहरु अझैसम्म सम्पर्कमा आउन नसकेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले जानकारी दिए । मृतक विकसंगै गएका अन्य १२ जना युवालाई भने चौरजहारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए ।
स्थानियका अनुसार खलंगाका नवराज र चौरजहारी ८ सोतीकी मल्ल थरकी युवती बीचमा लामो समयदेखि प्रेम सम्बन्ध रहदै आएको र उनीहरु बीचको अन्तरजातिय प्रेम सम्बन्धलाई केटी आमा–बुवालाई अस्वीकार गदै आएका थिए । उनीहरु बीचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न शुष्माकै आग्रहमा नवराजले १८ जना युवा लिएर जाजरकोटको खलंगाबाट शनिबार सोती पुगेका थिए । केटीलाई भगाउन केटाहरु सोती पुगेको आमा–बुवालाई जानकारी भएपछि गाउँलेहरुको सहयोगमा जाजरकोटका केटाहरुलाई कुटपिट गर्नुको साथै चौरजहारी प्रहरीलाई खबर गरेर १२ जना युवालाई प्रक्राउ गराईएको थियो । केटीको घर पुग्ने वित्तिकै विवाद शूरु भएको थियो । तल्लो जातको केटाले ठकुरीकी छोरी लिन खोज्ने भन्दै केटी पक्षका स्थानियले आक्रमण गरेका थिए । आक्रमण पछि १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए भने भागेका सात जना मध्य एक जना मृत फेला परेका हुन् ।
भागेका ७ जना युवाहरुमध्ये नवराज विक भेरी नदीमा डुबेर मृत अबस्थामा धल्ला पुल नजिकै फेला परेका थिए । शनिवार बेलुका ६–७ बजेतिर मृत अबस्थामा फेला परेका नबराजको लास आईतवार विहान प्रहरीले नदीबाट बाहिर निकालेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । अहिलेसम्म सम्पर्कमा नआएका अन्य ६ जना युवाहरुको खोजी कार्य भईरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । चौरजहारी प्रहरी नियन्त्रणमा रहेका १२ जना युवालाई आबश्यक सोधपुछ पछि घर पठाईने प्रहरीले जनाएको छ ।