राजेन्द्र कार्की । जाजरकोट
दैनिक ज्याला मजदुरी गरेर हातमुख जोदै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिवेला लकडाउनको पिडामा छन् । उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ । खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन—‘दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिन देखि काममा गएको छैन । घरमै छु । पैसा छैन । के खाएर पेट पाल्ने हो ।’ तीन सन्तानकी आमा उनी एकल महिला हुन् । ज्यालामजदुरी गरेर आफु र केटाकेटी पाल्दै आएकी उनलाई पनि कोरोना भाइरसको संक्रमण फैलने चिन्ता भन्दा कसरी आफु र केटाकेटीको पेट भर्ने भन्ने पिरलो छ ।
भेरी नगरपालिका ३ कल्यानपुरका देवबहादुर कार्की दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्थे । दिनहुँ बजारमा आएर ट्रकबाट मालसमान झार्ने, बोक्ने(पल्लादारी) लगायतका काम गर्थे । त्यसरी काम गरे वापत कमाएको पैसाले खाद्यन्न, नुन तेलको जोहो गर्थे । तर १३ दिन अघि कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले देशभर लकडाउन गरेपछि उनी काममा निस्कन पाएका छैनन् । घर भित्रै बसिरहेका छन् । तर उनलाई एउटै कुराको पिरलो छ । घरमा भएको खाद्यन्न सवै सकियो । मजदुरी गरेर कमाएको पैसा पनि बचत छैन । कसरी जहान केटाकेटी पाल्ने उनले ‘समस्या सुनाउँदै भने कहिले सम्म घरबाट निस्कन पाईने होईन त्यतिवेला सम्म हामी के खाएर बाँच्ने ? । कोरोना संक्रमणको चिन्ता भन्दा छाक टार्ने चिन्ता छ । ’
त्यस्तै, बारेकोट गाँउपालिका तोलखानाकी पवित्रा सिंह सदरमुकाममा दिनहँु गिट्टी कुटेर गुजरा चलाउने गर्थिन । श्रीमानको १० बर्ष अघि मृत्यु भएपछि दुई छोरा र एक छोरी गिट्टी कुटेरै भएपनि पाल्दै आएकी थिईन तर लकडाउनले उनको चुल्हो बल्न छोडेको छ । कसरी केटाकेटीको पेट भर्ने हो साह्रै समस्या भो उनले भनिन ।
भेरी नगरपालिका ४ मुलपानीकी विष्णुमाया वि.क गिट्टी कुटेर गुजरा चलाउँथिन । श्रीमानले दास्रो श्रीमति विवाह गरेपछि विष्णुमाया २ छोरी १ छोरा लिएर माइतीघर बस्छिन । छोराछोरी साना थिए श्रीमानले छोडे पछि छोराछोरीको लालनपालनको जिम्मेवारी सवै मेरै काँधमा आयो विष्णुमायाले भनिन । जसरी पनि छोराछोरीलाई पढाउँछु भनेर माइतीगाँउमा आएर गिट्टी कुटेरै गुजरा चलाउँदै आएकी छु । तर १३ दिन भो । घर बाहिर ननिस्कनु भनेका छन् । काममा जाने त कुरै छैन । घरमा खाद्यन्न छैन के खाएर बाँच्ने हो । भोकले मार्ने हो कि कोरोनाले उनले चिन्ता प्रकट गदै भनिन हामी गरीवलाई सधै दुःखै दुःख छ ।
लकडाउन लम्बिदै जाँदा मजदुर बर्ग थप समस्यामा परिरहेको छ । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले केही समय अति विपन्न परिवारको भरणपोषणको जिम्मा राज्यले लिनु पर्ने बताए । संकटको बेला संकटासन्न परिवारहरु बढी जोखिममा पर्ने भएकोले उनीहरुको संरक्षणमा सरकारले उचित ध्यान दिनु पर्छ उनले भने । जाजरकोटमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारको संख्या दुई हजार बढी रहेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । तर केही स्थानिय तहले खाद्यन्न वितरण गरेपनि सदमुकाम रहेको भेरी नगरपालिकाले हाल सम्म मजदुरलाई सहयोग गर्ने कुनै सुरसार गरेको छैन ।